Skip This
२६ दिनमा ३४ लाख ग्यास सिलिन्डर आयात, बजारमा अभाव भने कायमै 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २७ बुधबार
  • Wednesday, 12 August, 2026
अजित अधिकारी काठमाडाैं
२o८३ श्रावण २७ बुधबार o८:o८:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

२६ दिनमा ३४ लाख ग्यास सिलिन्डर आयात, बजारमा अभाव भने कायमै 

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण २७ बुधबार o८:o८:oo

पछिल्लो २६ दिनमा बजारमा ३४ लाख १४ हजार ६ सय ४७ थान ग्यास सिलिन्डर बिक्री भएको आयल निगमले जनाएको छ । तर, उपभोक्ताको घरमा ग्यास अभाव कायमै छ । निगमले भने दैनिक औसत एक लाख ३१ हजार सिलिन्डर बजार पुगिरहेको दाबी गरेको छ ।

साउन लागेयता मंगलबारसम्म बजारमा बिक्री भएको यो परिमाण औसत दैनिक खपत एक लाख आठ हजारको तुलनामा बढी हो । आयल निगमका प्रवक्ता मनोज ठाकुरले उपभोक्ताले घरमा रहेका सबै खाली सिलिन्डर भरेर राख्ने मनोवृत्तिका कारण धेरै ग्यास आयात गरे पनि पूर्ति गर्न नसकिएको बताए । ‘उपभोक्ताले चाहिएजति मात्रै ग्यास खरिद गर्ने हो भने तत्कालै सहज गराउन सकिन्छ,’ उनले भने, ‘तर, खाली सिलिन्डर सबै भरेर राखूँ भन्ने मानसिकता भएकाले पनि अहिले गाह्रो भइरहेको हो ।’

तर, उपभोक्तालाई दोष लगाएर निगमले पन्छिन नमिल्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘सरकारले भनेजस्तो पर्याप्त उपलब्ध भएदेखि बजारमा ग्यासको लाइन किन कम भएको छैन ?’ उनले प्रश्न गरे, ‘ग्यास सिलिन्डरको वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, साना डिलरहरूले उपभोक्तालाई ग्यास दिन आनाकानी गरिरहेको हामीले पाएका छौँ । त्यसलाई व्यवस्थापन गर्न सरकारी निकायहरू लाग्नुपर्छ ।’ 

निगमका अनुसार ३ साउनमा सबैभन्दा धेरै दुई लाख ६३ हजार पाँच सय ९१ थान सिलिन्डर भर्न पुग्ने ग्यास आयात भएको थियो । त्यसअघि १ र २ साउनमा भने ग्यास आयात रोकिएको थियो । प्रत्येक आर्थिक बर्ष सकिनासाथ इआरपी सफ्टवेयरमा हिसाब मिलान गर्नुपर्ने हुँदा निगमले नयाँ आर्थिक वर्षमा सुरुको एक–दुई दिन कारोबार रोक्का गर्ने गरेको छ । ‘डिजिटल प्रणाली इआरपीलाई नयाँ आर्थिक वर्षको कारोबारसँग जोड्न १ र २ साउनमा ग्यास आयात भएको थिएन,’ प्रवक्ता ठाकुरले भने, ‘तर, ती दिनअघि नै धेरै ग्यास आयात गरेर बजारमा पुग्ने वातावरण बनाइएको थियो । आयात रोकिए पनि १ र २ साउनमा उद्योगबाट डिलर हुँदै उपभोक्ता ग्यास बिक्री भने जारी थियो ।’

दैनिक औसतभन्दा बढी ग्यास ल्याइरहे पनि करिब चार सातादेखि ग्यास आपूर्ति असहज नै छ । निगमले ३१ असारबाट पूर्ण तौलको ग्यास सिलिन्डर प्रचलनमा ल्याउन उद्योगीलाई निर्देशन दिएपछि बजारमा आपूर्ति असहज भएको हो । सुरुमा काठमाडौं उपत्यकामा असहज भएपछि आयल निगमले टेकुस्थित पुरानो कार्यालयमा नेपाल, एभरेस्ट, सुगम, श्रीराम र एचपी ब्रान्डको ग्यास बिक्री गरेको थियो । बालाजुस्थित नेपाल ग्यास उद्योगपरिसरबाट समेत बिक्री थालिएको थियो । दुवै ठाउँमा अहिले पनि ग्यास बिक्री जारी छ । तर, टेकुमा बिस्तारै उपभोक्ताको लाइन घटेको प्रवक्ता ठाकुरले बताए ।

४५ हजार टन ग्यास आयात
मंगलबारसम्म ४५ हजार टन ग्यास आयात भएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘एक महिनामा ४५ देखि ४८ हजार टन ग्यास आयात हुने गरेको थियो, तर यसपटक महिना नसकिँदै कोटाअनुसारको ग्यास आयात भइसकेको छ,’ उनले भने, ‘तर, यसपालि बजारमा असहजता बढेका कारण धेरै ल्याउन पहल गरेका छौँ । त्यसैले मंगलबारसम्म ४५ हजार टन आइसकेको छ ।’ प्रवक्ता ठाकुरका अनुसार दैनिक एक सय १० बुलेटभन्दा बढी ग्यास लोड भइरहेका कारण साउनमा ५२ हजार टन हाराहारी ग्यास आयात हुने प्रक्षेपण छ । यो महिना सबैभन्दा धेरै ३ साउनमा एक सय ९७ बुलेट ग्यास आयात भएको थियो । १८ टन र २१ टन क्षमताका बुलेटमा ग्यास हुने गर्छ ।

भैरहवा र बुटवलमा पनि एकीकृत बिक्री सुरु
डिलरमार्फत ग्यास नपाएको गुनासो बढेपछि आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भलबारी (रुपन्देही)ले भैरहवा र बुटवलमा आठवटा ब्रान्डको एकीकृत बिक्री थालेको छ । मगलबार बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकारी, स्वस्तिक, लुम्बिनी, त्रिशूल र चण्डेश्वरी ब्रान्डको ग्यास बिक्री गरेको निगमका प्रादेशिक प्रमुख शैलेन्द्र भुसालले जानकारी दिए । उनका अनुसार भैरहवास्थित खाद्य संस्थानको प्रांगणमा राखिएको बिक्री केन्द्रबाट पाँच सय ४० र बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसपरिसरमा राखिएको बिक्री केन्द्रबाट आठ सय २८ थान सिलिन्डर बिक्री भएको छ ।

‘बिहीबारसमेत बिक्री केन्द्र खोलेर ग्यास वितरण हुनेछ । बिहीबार करिब तीन हजार थान ग्यास सिलिन्डर वितरण गर्ने लक्ष्य छ,’ उनले भने । एकीकृत डिपोमा सुत्केरी महिला, विद्यार्थी तथा विपन्नवर्गको बढी उपस्थिति रहेको उनले जानकारी दिए ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना भन्छन्–सरकारले भनेजस्तो पर्याप्त उपलब्ध भएदेखि बजारमा ग्यासको लाइन किन कम भएको छैन ? ग्यास सिलिन्डरको वितरण प्रणालीलाई व्यवस्थित गर्नुपर्छ, साना डिलरहरूले उपभोक्तालाई ग्यास दिन आनाकानी गरिरहेको हामीले पाएका छौँ । त्यसलाई व्यवस्थापन गर्न सरकारी निकायहरू लाग्नुपर्छ ।