चार वर्षअघि रोहित पौडेलले कप्तानीको जिम्मेवारी वहन गर्दा नेपाली सिनियर पुरुष टोली संकटमा थियो । त्यसवेला नेपाल आइसिसी विश्वकप लिग २ को शीर्ष पाँचमा समावेश हुने स्थिति थिएन । नेपालको एकदिवसीय मान्यता धर्मराइसकेको अवस्था थियो । रोहित र प्रशिक्षक मोन्टी देसाईबिचको ‘उत्कृष्ट ट्युनिङ र ह्याप्पी ड्रेसिङ’ रुमको मिश्रणमा नेपालले विश्वकप लिग २ अन्तर्गत अन्तिम १२ मध्ये ११ खेलमा सनसनी रूपमा जित निकाल्यो ।
यसै ऐतिहासिक र अद्भूत प्रदर्शनका कारण नेपालले तेस्रो स्थानमात्र रक्षा गरेन, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा समेत स्थान सुरक्षित गरेको थियो । जहाँ नेपालले आइसिसीको पूर्णसदस्य वेस्ट इन्डिज र जिम्बावेविरुद्ध प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । रोहितको कप्तानीमा नेपालले चार वर्षअघिको विश्वकप लिग २ मा तेस्रो स्थान गर्दै एकदिवसीय मान्यतासमेत जोगाएको थियो । अहिले समय रोहितको हकमा छैन ।
उनको कप्तानीमा नेपालले सन् २०२७ को एकदिवसीय विश्वकपको रोडम्यापको रूपमा रहेको विश्वकप लिग २ को यात्रा सुरु गर्यो । नेपाल अहिले २४ अंकका साथ सातौँ स्थानमा छ । शीर्ष पाँच स्थानमा रहँदै नेपाल एकदिवसीय मान्यता रक्षा गर्ने अवस्थासमेत देखिँदैन । पहिलो रोहितकै कप्तानमा सानदार प्रदर्शन गरेको नेपाल अहिले विश्वकप लिग २ मा ठयाक्कै उल्टो दिशामा हिँड्यो । नेदरल्यान्ड्समा चार खेल गुमाउनु नै रोहितले आफ्नो पद गुमाउनुको प्रमुख कारण बनेको छ ।
नेदरल्यान्ड्सको भ्रमणको असफलताकै कारण क्यानले सोमबार रोहितलाई विस्थापित गर्दै लेग स्पिनर सन्दीप लामिछानेलाई फेरि नेतृत्वको जिम्मेवारी सुम्पिएको हो । संयोग कस्तो रह्यो भने चार वर्षअघि सन्दीप पदबाट हट्दा रोहित नेपाली टोलीका नयाँ कप्तानी बनेका थिए । त्यसवेला बलात्कारको आरोपमा दोषी ठहरिएपछि सन्दीपले कातिक २०७८ सालमा कप्तानी गुमाए ।
उनै सन्दीपले दोस्रोपटक कप्तानी पाउँदा रोहितले पद छाड्नु परेको छ । पदमुक्त भए पनि रोहित एकदिवसीय तथा टी–२० आईका महत्वपूर्ण खेलाडी हुन् । क्रिकेट विश्लेषकहरूले रोहितलाई अहिलेसम्मकै नेपालका सफल कप्तानका रूपमा लिने गरेका छन् । उनी २० वर्ष ७३ दिनमा कप्तान बनेका थिए । कप्तानी जिम्मेवारी लिएको दिनै उनले आफ्नो नाममा रेकर्ड पनि राखे । उनी एकदिवसीय फर्म्याटमा विश्वकै दोस्रो कान्छो कप्तानका रूपमा स्थापित छन् ।
रोहितले आफ्नो कप्तानीमा टोलीलाई दिलाएका ऐतिहासिक उपलब्धिका कारण नै क्यानले उनको प्रशंसा गरेका छन् । क्यानले उनलाई एकपटकका लिडर सदाका लिडर भनेर टिप्पणी गर्दै धन्यवाद सन्देश सम्प्रेषण गरेको छ । ‘राष्ट्रको आशा बोकेर जोश, समर्पण र दृढताका साथ नेपाललाई नेतृत्व गरेकोमा धन्यवाद रोहित । पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तिम्रो नेतृत्वमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गर्याँ र नेपाली क्रिकेट यात्राको गर्विलो हिस्सा बनेका थुप्रै क्षण सिर्जना गर्यौँ’ क्यानले भनेको छ ।
विश्वकप र एसिया कप
रोहितलाई त्यत्तिकै नेपालका सबैभन्दा सफल कप्तान भनिएको होइन । उनीभन्दा अगाडिका कप्तानहरूले प्राप्त गर्न नसकिएका सफलता रोहितले सहजै हात पारे । नेपालले एक दशकपछि आइसिसी टी–२० विश्वकपमा स्थान बनाउँदा उनी नै कप्तान थिए । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा नेपालले उपस्थिति जनाएको थियो । समूह चरणमा नेपाल दक्षिण अफ्रिकासँग केवल एक रनले चुक्यो । दक्षिण अफ्रिकाको जितभन्दा नेपालको प्रशंसा भयो । त्यसपछि सन् २०२६ मा नेपालले पुनः एकपटक टी–२० विश्वकपमा स्थान रक्षा गर्यो ।
सन् २००७ देखि सुरु भएको टी–२० विश्वकपमा नेपालले ब्याक टु ब्याक खेल्ने अवसर उनले जुराएका थिए । गत मार्चमा मुम्बईको विश्व चर्चित वान्खडे रंगशालामा नेपालले दुईपटकको विजेता इंग्ल्यान्डसँग चारले हार स्वीकार गरेको थियो । नेपालले १० वर्षपछि विश्वकपमा जित निकाल्यो । उनकै कप्तानीमा नेपालले स्कटल्यान्डलाई हराएको थियो । रोहितको सफलता यत्तिमै सीमित छैन । नेपालले पहिलोपटक एसियाकप खेल्न पनि उनी नै कप्तान थिए ।
उनकैे कप्तानीमा नेपालले पहिलोपटक सन् २०२३ मा एसिसी प्रिमियर कपको उपाधि जित्यो । यससँगै नेपालले पहिलोपटक एसिसी एसिया कप खेल्ने मौका पायो । एकदिवसीय ढाँचामा खेलाइएको एसिया कपमा नेपालले भारत र पाकिस्तानजस्ता शक्तिशाली क्रिकेट टोलीको सामना गरेको थियो । जहाँ नेपालले एकदिवसीय र टी–२० विश्वकप विजेता शक्तिशाली राष्ट्रसँग अनुभव बटुल्यो । नेपालले भारतविरुद्ध ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्यो ।
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक सिरिज
नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त वेस्ट इन्डिजविरुद्ध गत वर्ष टी–२० आई सिरिज खेलेको थियो । वेस्ट इन्डिजले नेपालविरुद्धको सिरिजमा अनुभवी खेलाडीलाई विश्राम दिएको थियो । तर, नेपालको क्रिकेट इतिहासमा भने वेस्ट इन्डिजसँगको टी–२०आई सिरिज पहिलो र ऐतिहासिक थियो । युएईमा भएको सिरिजमा नेपालले लगातार दुई खेलमा जित निकाली सिरिजमाथि कब्जा जमाएको थियो । अन्तिम खेलमा वेस्ट इन्डिजसँग पराजित भए पनि नेपालले सिरिज हात पार्यो । त्यसवेला नेपालको आक्रामक ब्याटिङ, चुस्त फिल्डिङ र धारिलो बलिङबाट वेस्ट इन्डिजका खेलाडी निकै प्रभावित बनेका थिए ।
यू–१९ देखि सिनियर टोलीसम्म
सन् २०१८ मा नेपालले एकदिवसीय मान्यता पाएपछि रोहित १५ वर्ष ३३५ दिनको उमेरमा डेब्यु गरेका थिए । सन् २०१९ मा उनले टी–२०आई डेब्यु पनि गरे । सिनियर टोलीमा रहँदारहँदै उनले यू–१९ को कप्तानी गर्न अवसर पाए ।
सन् २०१९ को अप्रिलमा उनी कप्तानका रूपमा एसिसी यू–१९ एसिया कप छनोटका लागि नेपाली टोलीमा समावेश गरिएका थिए । सोही वर्ष नोभेम्बरमा उनले एसिसी इमर्जिङ टिम्स एसिया कपमा पनि नेपालको कप्तानी गरे । निकै छोटो समयमै उनले क्यानको केन्द्रीय सम्झौतामा आफूलाई समावेश गर्न सफल भए । सन् २०२० सेप्टेम्बरमा उनी र क्यानबिच केन्द्रीय सम्झौता भएको थियो । रोहितको कप्तानीमा नेपालले ६३ एकदिवसीय खेल्दा ३१ खेल जित र ३० खेलमा हारको सामना गरेको छ । दुई खेल भने नतिजाविहीन बन्यो । उनको कप्तानीमा नेपालले ५९ टी–२०आई खेल्दा ३३ जित र २१ हारको नतिजा निकाल्यो । यसैगरी, नेपालले तीन खेलमा टाई र दुई खेल नतिजाविहीन रूपमा निकाल्यो ।
५० ओभरमा दुई हजार रन पूरा गर्ने पहिलो खेलाडी
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेलमा डेब्यु गरेका रोहितले अहिलेसम्म ८८ खेल खेलेका छन् । नेपालको एकदिवसीय इतिहासमा हजार तथा दुई हजार रन पूरा गर्ने उनी पहिलो खेलाडी हुन् । उनले ८३ इनिङ्समा ब्याटिङ गरी दुई हजार तीन सय १३ रन बनाएका छन् । यसक्रममा उनले दुई शतक तथा १२ अर्धशतक बनाएका छन् । उनले ५० ओभरमा ४२ चौका र ३० छक्का प्रहार गरेका छन् । यसैगरी, सन् २०१९ मा युएईविरुद्ध टी–२० आईमा डेब्यु गरेका रोहितले अहिलेसम्म ८४ मध्ये ८० इनिङ्समा ब्याटिङ गरेका छन् ।
यस फर्म्याटमा उनले नौ अर्धशतकको सहयोगमा एक हजार आठ सय ४५ रन बटुलेका छन् । उनले लिस्ट ‘ए’ मा १०६ खेलमा दुई हजार ६ सय ३१ रन बटुले । उनले यो फर्म्याटमा दुई शतक तथा १३ अर्धशतकीय इनिङ्स खलेका छन् ।
ब्याटिङमा मात्र उनी सीमित छैनन् । बलिङमा समेत उनी अलराउन्ड भूमिका निर्वाह गर्न सक्छन् । उनले ८८ एकदिवसीयमा ११ विकेट तथा ८४ टी–२० आईमा १४ विकेट हात पारेका छन् । उनको कप्तानीमा नेपालले टी–२० आईमा घरमा १५ र बाहिर १९ खेलमा जित निकालेको थियो । यसैगरी, एकदिवसीयमा नेपालले घरभित्र २२ र घरबाहिर नौ जित निकालेको थियो ।