ललितपुर महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिपिए ४ ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । महानगरपालिकाले सोमबार आयोजित कार्यक्रममा एसइईमा उत्कृष्ट जिपिए ल्याउने सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।
जसमा २३ निजी विद्यालय र चारवटा सामुदायिक विद्यालयका विद्यार्थी छन् । निजीतर्फ जेम्स स्कुलका १७, रातो बंगला स्कुलका एक, ओमेगा इन्टरनेसल स्कुलका पाँच, पाठशाला नेपाल फाउन्डेसनका तीन, आइजे पायनियर स्कुलका दुई, बालविकास सदन माविका पाँच, सुधेस माविका एक, रिजेन्ट प्रेसिडेन्टल स्कुलका दुई, दीपकुञ्ज सेकेन्डरी इंग्लिस स्कुलका एक, प्याराडाइज माविका एक, त्रिलोचन एकेडेमीका एक, नाइटिंगेल इन्टरनेसनल स्कुलका ६, डिएभी स्कुलका तीन, मुनलाइट माविका एक, सेन्टजेभियर्स स्कुलका आठ, सेन्टरमेरिजका ६, लिटिल एन्जल्सका पाँच, क्यारिबनका स्कुल एक, आदर्श विद्या मन्दिर दुई, श्रीकुलका विद्यालय एक, आदर्श विद्या सदनका एक, पिस गार्डेन स्कुलका एक, युनाइटेड युनिभर्सल स्कुलका एक गरी ७५ जना र सामुदायिकतर्फ आदर्श सौल युवन माविका तीनजना, त्रिपद्म विद्याश्रमका दुई, प्रभाव माविका एक र महेन्द्र भृकुटी माविका एक गरी सातजना विद्यार्थीलाई जनही दुई लाखका दरले पुरस्कार वितरण गरिएको हो ।
पुरस्कार वितरणको लागि निजीतर्फका विद्यालयका विद्यार्थीले ४ जिपिए र सामुदायिकतर्फका विद्यार्थीले ३।९५ भन्दा बढी ल्याउनुपर्ने मापदण्ड तोकिएको थियो । सामुदायिकतर्फ जिपिए ३।९५ ल्याउने विद्यालयलाई चार लाखका दरले नगद पनि वितरण गरिएको छ ।
सामुदायिक र निजी विद्यालयबिचमा प्रतिस्पर्धा गराउन, शिक्षा सुधार गर्न र विद्यार्थीलाई प्रेरणा प्रदान गर्नको लागि यस्तो कार्यक्रम राखिएको महानगरपालिकाका मेयर चिरिबावु महर्जनले बताए । ‘यो विशुद्ध शिक्षाको सुधारको लागि हो, उहाँहरुले राम्रोसँग पढेको भएर हामीले प्रेरणा दिने काम गरेका हौं, हरेक वर्ष महानगरपालिकाले महानगरपालिकाभित्र रहेको विद्यालयले एसइईमा राम्रो नतिजा ल्याएमा यसरी नै पुरस्कृत गर्छ,’ उनले भने, ‘यो नियम रातो किताबका राखिसकेको छौं ।’