‘अर्को भोर’ कथाकृतिमार्फत नेपाली साहित्यमा उदाएका लेखक हुन्, केशवराज ज्ञवाली । अमेरिकामा बसेर साहित्य सिर्जना गरिरहेका उनको कृति ‘अर्को भोर’ले ०७८ को पद्मश्री पुरस्कारसमेत पाएको थियो । उनै ज्ञवालीको ऐतिहासिक उपन्यास ‘अज्ञात’ गत वर्ष प्रकाशन भएको थियो । मदन पुरस्कारको संक्षिप्त सूचीमा रहेको उक्त कृतिका लेखक ज्ञवालीसँग पुस्तकको केन्द्रमा रहेर मीनराज बसन्तले कुराकानी गरेका छन्:
इतिहासमा सधैँ राजामहाराजाकै महिमामण्डन गरिएको पाइन्छ । तर, उपन्यास ‘अज्ञात’मा इतिहासले कहिल्यै नचिनेका मन्या, हीरा, गोविन्दे खवासलगायत महत्वपूर्ण पात्र छन् । यी पात्र स्वतन्त्र हुन् कि लेखकका कल्पना?
तपाईंले नाम लिनुभएका पात्रहरू उपन्यासका प्रमुख पात्र हुन् । ती अवश्य पनि काल्पनिक पात्र हुन् । तर, तिनले बाँचेको जीवन, समय र समाजलाई सत्यको नजिक पुर्याउने प्रयास यो पुस्तकले गरेको छ । उनीहरूको जीवनभोगाइ उक्त समयको अध्ययन र अनुसन्धानका आधारमा निर्माण गरिएको हो । यस अर्थमा ती पात्र ‘अनुशासित कल्पना’का भाग हुन् ।
एकातिर इतिहास भन्नुभएको छ । अर्कातिर आख्यानीकरण गर्नुभएको छ । इतिहासलाई इतिहासकै तरिकाले नलेखेर आख्यानको सहारा किन लिनुपर्यो ? अनि इतिहासको आख्यानीकरण कति विश्वसनीय हुन्छ ?
प्राप्त ऐतिहासिक तथ्यलाई आधार बनाएर त्यो समयको सत्य बुझ्ने प्रयास यो उपन्यास हो । कुनै आख्यानको विश्वसनीयता त्यो सत्यको कति नजिक वा टाढा छ भन्ने आधारमा तय हुन्छ जस्तो लाग्छ । झन्डै २४० वर्षअघिको जीवन प्राप्त तथ्यले मात्रै बुझ्न सहज छैन । गैरआख्यानले दिन वा बुझाउन नसक्ने पूर्ण चित्र निर्माण गर्न आख्यान उपयुक्त हुन्छ भन्ने विश्वासले यो पुस्तक लेखिएको हो ।
यो पुस्तक तयार गर्दा सकेसम्म धेरै स्रोत–सामग्री अध्ययन गरिएको छ, इतिहासकारसँग कुराकानी गरिएको छ र विभिन्न तथ्य एक–आपसमा भिडाएर लेख्ने प्रयास गरिएको छ । यी सबै पुस्तकलाई विश्वसनीय बनाउने प्रयत्न हुन् । ‘अज्ञात’को सन्दर्भमा यो प्रयास कति सफल भयो भन्ने निर्णय पाठक र समीक्षकले गर्नुपर्छ ।
पछिल्लो समय नेपालमा इतिहास लेखनको ट्रेन्ड देखिन्छ । एक वर्षको अन्तरालमा नाम चलेका प्रकाशन गृहबाटै करिब आधा दर्जन ऐतिहासिक विषयका कृति आए । यसले के संकेत गर्छ ?
तपाईंले भनेजस्तै अहिले इतिहासप्रति रुचि बढेको जस्तो लाग्छ । तर, पहिले इतिहास लेखिएका थिएनन् भन्ने होइन । एकै वर्षमा धेरै ऐतिहासिक पुस्तक आउनु संयोग पनि हुन सक्छ, वा नेपाली समाजले आफूलाई बुझ्न गरिरहेको प्रयत्नको एउटा संकेत पनि हुन सक्छ । त्यही प्रयत्न लेखक र चिन्तकमा पनि आएको हुन सक्छ।
समाज र राष्ट्रका रूपमा हामी को हौँ ? अहिलेसम्म हामीले बुझेको इतिहासका अँध्यारा पक्ष के हुन् ? यी प्रश्नको उत्तर खोज्न हामी हिजोतिर फर्किनैपर्छ । देश नयाँ व्यवस्था—गणतन्त्रतर्फ परिपक्व हुँदै जाँदा, हाम्रो इतिहास, विशेषगरी जनता र छुटेका पात्रको दृष्टिबाट हेर्ने चासो बढेको हुन सक्छ ।
‘अज्ञात’मा पाठकले कुन भाग इतिहास हो र कुन लेखकको दृष्टिकोण भनेर कसरी थाहा पाउने ?
‘अज्ञात’मा भएका कतिपय घटनाका स्रोत फुटनोटका रूपमा पनि दिइएका छन् । सन्दर्भ सामग्री र इतिहासले चिनेका पात्रको विवरण पनि पुस्तकमा समावेश गरिएको छ । त्यसले पाठकलाई अवश्य सहयोग पुर्याउनेछ भन्ने लाग्छ । पढ्दै जाँदा मुख्य पात्रहरूको व्यक्तिगत जीवनबाहेकका धेरै प्रसंग इतिहासकै आधारमा निर्माण गरिएका हुन् भन्ने कुरा सजिलै छुट्टिन्छ जस्तो लाग्छ ।
उपन्यासमा गोर्खा राज्यको विस्तार (विसं १८४३ देखि १८७१ सम्म), त्यसमा पनि विशेषगरी पश्चिम अभियानको कथा समेटिएको देखिन्छ । यही समयको कथा लेख्ने प्रेरणा किन आयो ?
आधुनिक नेपाल बन्ने क्रममा त्यो कालखण्ड अत्यन्त महत्वपूर्ण हो भन्ने लाग्छ । त्यही समयमा नेपाल/गोर्खा सबैभन्दा विशाल भौगोलिक आकारमा पुगेको थियो । त्यही समयमै चीनसँगको युद्धका कारण उत्तरी सिमाना स्थायी रूपमा कायम भयो । विसं १८७१ बाट सुरु भएको गोर्खा–अंग्रेज युद्धले नेपालको पूर्व, पश्चिम र दक्षिणका सीमा स्थिर गरिदियो ।
उक्त अवधिमा नेपाल राज्यका जनता सबैभन्दा ठुलो संख्यामा युद्धमा सहभागी भएका थिए । आज हामीले चिनेको नेपालले आकार ग्रहण गरेको यो अत्यन्तै चलायमान र निर्णायक ऐतिहासिक समय हो भन्ने लागेकाले यही कालखण्डलाई केन्द्रमा राखेर यो उपन्यास लेखिएको हो ।
आजभन्दा अढाई सय वर्ष पुरानो समाज, उनीहरूको भाषिका र जीवनशैलीलाई उपन्यासमा उतार्न कत्तिको सहज वा असहज भयो ?
त्यति पुरानो समयको समाज लेख्न कठिन हुनु स्वाभाविक हो । तर, त्यो समयको जनजीवन र इतिहासमा काम गरेका अग्रणी अनुसन्धानकर्ताको ठुलो मिहिनेतका कारण यो पुस्तक सम्भव भएको हो । महेशचन्द्र रेग्मी, संशोधन मण्डल, महेशराज पन्त, दिनेशराज पन्त, ज्ञानमणि नेपालजस्ता अग्रजले धेरै महत्वपूर्ण काम गर्नुभएको छ । उहाँहरूको अनुसन्धान र मिहिनेतकै आलोकमा यो पुस्तक तयार भएको हो ।
गोविन्दले काजीलाई खुकुरी हानेको, मन्याले जनरल जिलेस्पीलाई गोली हानेको घटना बढ्तै नाटकीय लाग्दैनन् र ?
कहिलेकाहीँ वास्तविक जीवन आख्यानभन्दा बढी नाटकीय हुन्छ । तपाईंले उल्लेख गर्नुभएका दुवै घटना ऐतिहासिक रूपमा अभिलेखित छन् । काजी धौकलसिंह बस्नेत राजा पृथ्वीनारायण शाहका काजी शिवरामसिंह बस्नेतका छोरा तथा एक समय मूलकाजी रहेका अभिमानसिंह बस्नेतका भाइ हुन् । उनी आफ्नै सिपाहीद्वारा मारिने नेपाल सेनाका सबैभन्दा उच्चपदस्थ अधिकारी पनि हुन् । काम गरेको ज्याला/तलबसम्बन्धी विवादमा उनी ढाक्रेद्वारा मारिएको उल्लेख नेपाली र अंग्रेजी दुवै स्रोतमा पाइन्छ । कसैले बन्दुकको कुन्दाले प्रहार गरिएको उल्लेख गरेका छन् भने कसैले खुकुरी प्रहारबाट मृत्यु भएको बताएका छन् । ढाक्रेले आक्रमण गरेको हुनाले खुकुरी प्रयोग भएको हुन सक्ने सम्भावना बढी देखिन्छ ।
जनरल जिलेस्पीलाई नालापानी किल्लामा कुनै नेपाली सिपाहीले प्रहार गरेको गोली लागेको विवरण पनि धेरै ऐतिहासिक स्रोतमा पाइन्छ । नालापानीबाट लेखिएका चिठी र जिलेस्पीकै विवरणमा समेत त्यसको उल्लेख छ ।
इतिहासका गुमनाम पात्रलाई विभिन्न भूमिकामा ‘अज्ञात’ले केन्द्रमा ल्याएको छ । तर, तिनीहरूको आवाज इतिहासमै नहुँदा लेखकलाई आख्यानमार्फत उनीहरूको तर्फबाट बोल्ने अधिकार कति हुन्छ ?
इतिहास पढ्दै जाँदा एउटा आख्यानकारले देखेको, बुझेको र कल्पना गरेको संसार यो पुस्तक हो । पाठकले यो पुस्तक पढ्दा आख्यानमार्फत ती पात्रको समय र परिवेशलाई केन्द्रमा पाउनु स्वाभाविक हो ।
उनीहरूको आवाज प्रस्तुत गर्नु लेखकको अधिकारको प्रश्न होइन, त्यो लेखकीय चेतनाको अभिव्यक्ति हो । त्यसमा सत्य र प्रामाणिकता कति छ भन्ने कुराले मात्रै त्यसको मूल्य निर्धारण गर्छ ।
पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका राष्ट्रनिर्माता भनेर पढियो, बुझियो । ‘मेरा साना दुःखले आर्ज्याको मुलुक होइन’ भन्ने उनको भनाइ उद्धरण गरियो । तर, तपाईंका पात्रले ‘हाम्रा साना दुःखले आर्ज्याको मुलुक होइन’ भनेर प्रतिकार गरेका छन् । यसको मतलब पृथ्वीनारायण शाह गलत थिए ?
आधुनिक नेपालको सुरुवात गर्ने कल्पना र नेतृत्व राजा पृथ्वीनारायण शाहबाटै भएको हो । त्यसमा विवाद हुनुपर्ने कारण देख्दिनँ । तर, यति ठुलो राष्ट्र निर्माणको अभियानमा हजारौँ मानिस सहभागी थिए । तीमध्ये धेरै इतिहासमा अज्ञात रहे । उनीहरूको कथा पनि जोडिएपछि मात्रै यो कथाले पूर्णता पाउँछ ।
नेपाल निर्माणको इतिहासलाई नेतृत्व र समाज दुवैको साझा प्रयासका रूपमा हेर्नुपर्छ । हाम्रै जीवनकालमा भएका आन्दोलनलाई सम्झनुस् । ती आन्दोलन कसले गरे ? नेतृत्वले मात्रै कि सडकमा उत्रिएका नागरिकले पनि ? पुस्तकमा प्रयोग भएको ‘हाम्रा’ शब्दले ती सबै पात्रलाई समेट्छ ।
नालापानीको युद्धलाई वीरताको प्रतीक मानिन्छ । तर, ‘अज्ञात’ले धेरै मानिस देशप्रेमभन्दा नुनको सोझो गर्न लडेका थिए भन्छ नि !
इतिहास वा कुनै पनि घटनाको महिमामण्डन विभिन्न कारणले हुने गर्छ । नालापानी युद्ध धेरै कारणले विशिष्ट छ । त्यसले अंग्रेजविरुद्ध नेपाली प्रतिरोधको वीरतापूर्ण उदाहरण प्रस्तुत गर्छ, त्यो सत्य हो ।
तर, एक पाइला पछाडि हटेर हेर्दा त्यसको अर्को आयाम पनि देख्न सकिन्छ । आज पनि सैनिक, प्रहरी वा सरकारी सेवामा प्रवेश गर्ने युवा कुन प्रेरणाले जान्छन् ? केवल देश सेवाको भावनाले कि आफ्नो जीवन र वृत्ति निर्माण गर्ने चाहनाले पनि ? यो प्रश्नको उत्तर खोज्दा तपाईंले सोध्नुभएको प्रश्नको उत्तर पनि भेटिन्छ जस्तो लाग्छ ।
‘अज्ञात’ पढेर पाठकले नेपालको इतिहासप्रति गर्व गर्ने कि दिक्दारी मान्ने ?
इतिहासमाथिको एकांगी गर्वले अन्धराष्ट्रवादतर्फ लैजान सक्छ भने एकांगी दिक्दारीले निराशातर्फ । ‘अज्ञात’ गर्व वा दिक्दारीभन्दा माथि उठेर इतिहासलाई बुझ्ने प्रयास हो । हामीले हाम्रा पुर्खाले भोगेका दुःख बुझ्न सक्यौँ भने त्यसले हामीलाई सही दृष्टिकोण दिन सक्छ । हामी जुन बाटो हुँदै आजको समयसम्म आइपुगेका छौँ, त्यो हाम्रो साझा सत्य हो । त्यसलाई बुझ्दा भविष्यतर्फ अझ विवेकपूर्ण ढंगले अघि बढ्न सकिन्छ भन्ने लाग्छ ।
अन्त्यमा, तपाईंको पहिलो कृति कथासंग्रह ‘अर्को भोर’ थियो । त्यसले राम्रै चर्चा पायो । अहिले ऐतिहासिक उपन्यास लिएर आउनुभयो । एउटा कथाकारबाट उपन्यासकार बन्दाका अनुभव र चुनौती कस्ता रहे ?
यी दुवै विधाका आफ्नै सहजता र चुनौती छन् भन्ने लाग्छ । कथाहरू फरक–फरक विषय र पात्रमा लेखिने भएकाले हरेक कथा अपेक्षाकृत छोटो यात्रा थियो । तर, उपन्यासले लामो समय, ठुलो परिवेश र फराकिलो भूगोल माग्दो रहेछ । धेरै समयसम्म एउटै कथासँग बाँचिरहनुपर्ने चुनौती त्यसमा हुन्छ ।
एउटा अध्यायबाट अर्को अध्यायमा जाँदा लेखनको लय र कथाको गति उस्तै राखिरहन निकै प्रयास गर्नुपर्यो । त्यस अर्थमा उपन्यासले मलाई लेखकका रूपमा धेरै धैर्य र अनुशासन सिकायो ।