सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सप्तरीमा आइतवार सामाजिक सद्भाव र्याली आयोजना गरिने भएको छ। नेपाल पत्रकार महासंघमा शुक्रबार बसेको बैठकले शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)ले सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र्याली गर्ने निर्णय गरेको हो ।
‘सुनसरी र सिरहाको घटनापछि सप्तरी जिल्लामा विकसित घटनाक्रमलाई साम्य पार्ने हामी सबैको जिम्मेवारी हो’ पापडले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङणबाट सद्भाव निकाल्ने ।’ सो र्यालीमा सहभागिता जनाउन सबै जातजाति, धर्म, संस्कृतिका साथै सबै क्षेत्रका व्यक्तिहरुलाई अनुरोध गरिएको छ ।
बैठकबाट गोली लागेर ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ भने घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी आउन नदिन सरकारसँग माग गरिएको छ ।
साथै, जिल्लामा वर्तमान अवस्थामा देखिएको खाना पकाउने ग्यास तथा इन्धनको आपूर्ति अविलम्ब सहज बनाउन पनि स्थानीय प्रशासनसँग आग्रह गर्ने निर्णय भएको नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए ।