मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार o९:५७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामाजिक सद्भाव कायम राख्न निजी क्षेत्रको आह्वान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार o९:५७:oo

निजी क्षेत्रले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि निजी क्षेत्रका छाता संगठनहरूले आह्वान गरेका हुन् । बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमसर्सले सम्बन्धित सबै पक्षलाई सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न अपिल गरेका छन् । 

महासंघले तराई–मधेश क्षेत्रमा देखापरेको वर्तमान तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापनाका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूसँग आह्वान गरेको छ ।

‘कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन । यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउँछ,’ महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो । तसर्थ, जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महासंघको दृढ विश्वास रहेको छ । 

परिसंघले पनि कुनै पनि समस्याको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नहुने हुँदा संयमता अपनाई आपसी सद्भाव कायम राखी मुलुकमा शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आह्वान गरेको छ । ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ । रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अति आवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ,’ परिसंघको विज्ञप्तिमा उल्लेख छ, ‘आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आमनागरिक तथा उद्योग–व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउनसमेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबैसमक्ष अनुरोध गर्दछ ।’ 

नेपाल चेम्बरले परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ । चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति तथा समुदायबिचको आपसी सम्मान, सद्भाव र सहअस्तित्वको भावनामा आधारित राष्ट्र भएको उल्लेख गर्दै यही विविधता देशको सबैभन्दा ठुलो शक्ति रहेको जनाएको छ । चेम्बरले सामाजिक सद्भाव र सहिष्णुताको संरक्षण तथा प्रवर्द्धन गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताएको छ ।