प्रधानमन्त्री बालेन्द्र शाहले तराई–मधेशका विभिन्न भागमा उत्पन्न अशान्त वातावरणप्रति सरकार गम्भीर र संवेदनशील रहेको तथा अवस्था सामान्यीकरण बनाउन आवश्यक प्रयास भइरहेको बताएका छन् । बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् । उनले नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएको स्मरण गराएका छन् ।
‘प्रत्येक नागरिकको जिउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ,’ उनले भनेका छन्, ‘प्रत्येक नागरिकको जीवनरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् । शान्तिसुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ । र, यस गतिविधिमा कडा कदम चालिनेछ ।’
प्रधानमन्त्री शाहले घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थल पुगेर परिस्थिति सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्तिसुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेको बताएका छन् । ‘अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीयस्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकृत गर्न केन्द्रस्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ,’ उनको सम्बोधनमा छ, ‘स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नुभएको छ । साथै, देशको समग्र शान्तिसुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थितिअनुसारका आवश्यक निर्णयहरूसमेत गरिसकिएको छ ।’
प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष र पारदर्शी छानबिन हुने र घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् । उनले छानबिनका लागि गृह मन्त्रालयमातहत समिति बनाइसकेको पनि जानकारी दिएका छन् । ‘घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु, कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जोकोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहको सम्बोधनमा छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको उल्लेख गर्दै शाहले संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । ‘धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करुणा, दया, प्रेम र शान्ति नै हो ।’ प्रधानमन्त्रीले भनेका छन्, ‘देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिंगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसंगत हुन सक्दैन ।’
प्रधानमन्त्री शाहले सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गरेर परिस्थिति सहज बनाउन आह्वान गरेका छन् । ‘हाम्रो इतिहास साक्षी छ— कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठुला शक्ति बनेका छन्,’ उनले भनेका छन्, ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।’
प्रधानमन्त्रीले घटनामा परी निधन भएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाल सरकारको तर्फबाट समवेदना व्यक्त गरेका छन् । उनले घटनामा परी घाइते नागरिकको शीघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् । उनका अनुसार घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायलाई स्पष्ट निर्देशन दिइसकिएको छ ।
प्रधानमन्त्री शाहले संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबिच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न, नगराउन पनि प्रधानमन्त्रीले अनुरोध गरेका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुनसरी घटनाको समीक्षा, सबै पक्षसँग सक्रिय समन्वय गर्ने
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरीमा भएको घटना र त्यसबाट सिर्जित परिस्थितिलगायत क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा परिवेशको समीक्षा भएको छ । विशेषतः सुनसरी कप्तानगन्जमा भएजस्तो घटना हुन नदिन प्रदेश र स्थानीय सरकारसहित सरोकारवालाहरूसँग समन्वय गरेर अघि बढ्ने निर्णय भएको छ । यो राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठक हो । ‘यसप्रकारका घटना हुन नदिन प्रदेश र स्थानीय सरकार, सरोकारवाला पक्षसँग सक्रिय रूपमा समन्वय गरेर अघि बढ्ने निर्णय भएको छ,’ बैठकपछि सुरक्षा परिषद्का सदस्यसचिव एवं रक्षासचिव केदारनाथ शर्माले भने ।
प्रहरीको बिदा रोकियो
विभिन्न जिल्लामा शान्तिसुरक्षाको अवस्था बिग्रिँदै गएपछि देशभरिका प्रहरीको बिदा रोकिएको छ । अत्यावश्यकबाहेक बिदा रोकिएको केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले बताए । केही जिल्लामा नजिकका कार्यालयहरूबाट थप मद्दतमा प्रहरी पनि खटाउन थालिएको छ । आइतबार राति सुनसरीबाट सुरु भएको साम्प्रदायिक हिंसाका घटना अन्य जिल्लामा पनि फैलँदै गएपछि प्रहरीले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।
राष्ट्रपति, पूर्वराष्ट्रपति, दलका शीर्ष नेतादेखि पूर्वराजासम्मको अपिल
राष्ट्रपति रामचन्द्र पौडेलले विषम परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् । ‘सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व नै नेपालको पहिचान र परम्परा हो । यसलाई कायम राख्दै शान्ति, अमनचयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकता मजबुत बनाउन म सबै राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई आग्रह गर्दछु,’ बिहीबार अपिल जारी गर्दै पौडेलले भनेका छन् ।
पौडेलले अहिले उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन, शान्ति सुव्यवस्थालाई पूर्ववत् अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्न हरसम्भव प्रयासमा सरकार लाग्ने विश्वास व्यक्त गरेका छन् । ‘यो कठिन अवस्थामा स्थिति थप जटिल बन्न नदिई समुदायमा एकता, आपसी सद्भाव, मित्रता र सहिष्णुता कायम गर्न म सबैलाई हार्दिक अपिल गर्दछु,’ पौडेलको अपिलमा छ । उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारबाही गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनेतर्फ सरोकारवाला सबैलाई सचेत हुन पनि आग्रह गरेका छन् । पौडेलले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रमा फैलिएको सामुदायिक तनावको संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन र सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गरेकी छिन् । ‘वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन हार्दिक आग्रह गर्दछु,’ बिहीबार विज्ञप्तिमार्फत अपिल गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन् ।
कुनै एक घटनालाई आधार बनाएर कुनै पनि सम्पूर्ण समुदायप्रति अविश्वास, द्वेष वा प्रतिशोधको भावना राख्नु राष्ट्रिय हित, सामाजिक संस्कार तथा लोकतान्त्रिक मूल्यमान्यताअनुकूल हुन नसक्नेतर्फ उनले देशवासीलाई सचेत गराएकी छिन् । त्यस्तै, घटनाको निष्पक्ष छानबिन गरी शान्तिसुरक्षा पुनर्स्थापित गर्ने कदम चाल्न सरकारलाई भण्डारीले आग्रह गरेकी छिन् । ‘नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकहरूको विश्वास पुनर्स्थापित गर्न आवश्यक सबै कदम चाल्न आग्रह गर्दछु,’ विज्ञप्तिमा छ ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई धर्म, संस्कृति र परम्पराको स्वतन्त्रतापूर्वक अभ्यास गर्ने मौलिक अधिकार सुनिश्चित गरेकाले सबैको आस्था, संस्कृति र अधिकारप्रति सम्मान प्रकट गर्नु सबैको दयित्व भएको पूर्वराष्ट्रपति भण्डारीको भनाइ छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न अनुरोध गरेका छन् । ‘केही दिनदेखि तराईका विभिन्न क्षेत्रमा देखिएका गतिविधिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । हामी नेपालीहरूको विशेषता भनेको एकअर्काको सहअस्तित्वलाई स्वीकार गर्दै आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्नु हो,’ उनले भनेका छन्, ‘म सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सामाजिक सद्भाव कायम राख्दै सहकार्य, एकता र शान्तिको आदर्शलाई अनुसरण गर्न हार्दिक अनुरोध गर्दछु । साथै, हिंसा थप भड्किन नदिन सरकारलाई सबै राजनीतिक दलहरूसँग सहकार्य गर्दै तत्काल आवश्यक पहल तथा प्रभावकारी कदम चाल्न अनुरोध गर्दछु ।’ देउवाले घटनामा निधन भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
पूर्वी तराईमा उत्पन्न परिस्थितिप्रति चिन्ता जनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले एकतामा खलल पार्ने काम नगरी मिलेर बस्न आह्वान गरेका छन् । बिहीबार जारी सन्देशमा पूर्वराजा शाहले नेपाली समाज बहुजातीय र बहुभाषिक रहेको, धर्म, संस्कृति र रितिथिति अलग–अलग भएको उल्लेख गर्दै सामञ्जस्य रहेको देशमा तनाव देखिनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् । ‘केही दिनअगाडि सुनसरी जिल्लाको केही गाउँबस्तीमा भड्किएको आपसी द्वन्द्व र विवादबाट जनधनको क्षति भएको र यसको असर फैलिँदै गएर कोशी क्षेत्र र तराइका विभिन्न भूभागको जनजीवन अशान्त बनेको सुन्दा हामीलाई अत्यन्त दुःख लागेको छ,’ उनको सन्देशमा छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना, दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो । त्यसैले जुनसुकै भू–भागमा रहे, बसेका जोकोही पनि हामी नेपाली मिलौँ । हाम्रो यही आग्रह छ । यही आजको आवश्यकता हो ।’
घटनाको निष्पक्ष छानबिन गर्न मधेशकेन्द्रित दलहरूको माग
मधेशकेन्द्रित विभिन्न दलले घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय र सामाजिक सद्भाव कायम गर्न अपिल गरेका छन् । जसपा नेपालका महन्थ ठाकुर, राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र महतो, जनमत पार्टीका जयकान्त राउत, राष्ट्रिय निर्माण दलका समिम अन्सारी तथा संविधानसभा सदस्य रामकुमार शर्माले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै सबैसँग संयम, धैर्य र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । मधेश जलिरहँदा पनि प्रधानमन्त्री मौन रहनु र गृहमन्त्रीको गतिविधि शंकास्पद देखिएकाले पनि घटना उग्र हुँदै गएको उनीहरूको भनाइ छ । उनीहरूले घटनामा मृत्यु भएका व्यक्तिलाई राज्यले अविलम्ब सहिद घोषणा गरी उचित क्षतिपूर्ति, परिवारको दीर्घकालीन जीविकोपार्जनका लागि रोजगारीको सुनिश्चितता तथा आवश्यक सामाजिक सुरक्षा उपलब्ध गराउन माग गरेका छन् । अपिलमा साम्प्रदायिक सद्भावमा आँच पुग्न नदिन सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका नेतृत्वदायी व्यक्तित्वहरूले सक्रिय भूमिका निर्वाह गर्न सरकारलाई समन्वयात्मक पहलको आग्रहसमेत गरिएको छ ।
‘सम्पूर्ण घटनाको सत्यतथ्य उजागर गर्न सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी यसको प्रतिवेदन सार्वजनिक गरियोस्,’ वक्तव्यमा भनिएको छ, ‘घटनामा कुनै बाह्य तत्व, रोहिंगिया वा अन्य कुनै संगठित समूहको संलग्नता रहेको वा नरहेको विषय तथ्यका आधार स्पष्ट गर्न स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरियोस्, ताकि अफवाह होइन, सत्य स्थापित होस् । कुनै पनि अफवाह, घृणा वा उत्तेजनाले समाजलाई थप विभाजित बनाउने भएकाले सबै सत्य र कानुनको पक्षमा उभिन आवश्यक छ ।’
सबै घटनाको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिँदै दमनमा संलग्न भएको आरोप लागेका प्रहरी तथा प्रशासनिक अधिकारीहरूलाई अनुसन्धान अवधिसम्म निलम्बन गरी सुरक्षा व्यवस्थामा भएको सम्भावित कमजोरी तथा बल प्रयोगको औचित्यमाथि निष्पक्ष छानबिन गर्न पनि माग गरिएको छ । पछिल्ला दिनहरूमा मधेशका विभिन्न क्षेत्रमा दोहोरिँदै आएका तनावपूर्ण घटनाहरूले मधेशलाई योजनाबद्ध रूपमा अस्थिर बनाउने प्रयास भइरहेको हो कि भन्ने गम्भीर आशंका जनमानसमा बढेको भन्दै उनीहरूले यस विषयमा पनि राज्यले निष्पक्ष अनुसन्धान गरी सत्य सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् । ‘हामी स्पष्ट रूपमा विश्वास गर्दछौँ कि न्यायविना शान्ति सम्भव छैन र निष्पक्ष छानबिनविना विश्वास पुनर्स्थापित हुन सक्दैन । त्यसैले सरकारले कुनै पनि प्रकारको पक्षपात नगरी सत्य न्याय र उत्तरदायित्वको मार्ग अवलम्बन गर्दै पीडितलाई न्याय दिलाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिने ठोस कदम चाल्नुपर्छ,’ वक्तव्यमा भनिएको छ ।
सदभाव कायम राख्न धर्मगुरुहरूको अपिल

सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जबाट भड्किएको धार्मिक द्वन्द्व तत्काल रोक्दै सामाजिक सद्भाव कायम राख्न धार्मिक संघसंस्था तथा त्यससँग आबद्ध धर्मगुरुहरूले सार्वजनिक अपिल गरेका छन् । हिंसाबाट कसैको पनि हित नहुने भएकाले सहिष्णुता कायम राख्न पनि उनीहरूको आह्वान छ ।
संहिताशास्त्री तथा हिन्दुधर्मका गुरु अर्जुनप्रसाद बाँस्तोलाले नेपाल एकीकरण अभियानमा मुसलमान समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । मुसलमान पनि नेपाली दाजुभाइ नै भएकाले समाजमा मिलेर बस्नु सबैका लागि हितकर हुने उनले बताए । ‘धर्मको आधारमा उनीहरूमाथि कसैले पनि आक्रमण गर्नुहुँदैन । यो उत्तेजना होइन, संयमित हुने वेला हो । नेपालभित्र नेपाली दाजुभाइको रगत बग्नु ठिक होइन,’ उनले भनेका छन् ।
मुस्लिम समुदायका धर्मगुरु तथा अस्सलाम सोसाइटी नेपालका अध्यक्ष मौलाना नजरुल हुसैन फलाहीले मुसलमान समुदाय शताब्दीऔँदेखि नेपालमा रहँदै आएको र हिन्दु समुदायबाट पनि उत्तिकै माया र सद्भाव पाएको बताए । वसुधैव कटुम्बकम भन्ने हिन्दुको मूल आचरण नै सबैले मान्दै आएको हुँदा यतिवेला सबैले सद्भाव कायम गर्नुपर्ने वेला भएको उनको भनाइ छ । ‘आपसी मेलमिलाप र धार्मिक सहिष्णुता नै हाम्रो पहिचान थियो, छ र भोलि पनि रहनेछ । इस्लाम धर्मको त अर्थ नै शान्ति हो । त्यसो हुँदा यसवेला द्वन्द्व होइन, आपसी सद्भावको खाँचो छ । सबैले संयमता अपनाउन जरुरी छ,’ उनले भनेका छन् ।
यस्तै, विश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय)की अध्यक्ष अस्मिता भण्डारीले पनि विविध धर्मका अनुयायीहरू सनातनदेखि नै मिलेर बस्दै आएको, तर अहिले केही ठाउँमा धर्मका नाममा द्वन्द्व भड्किनु दुःखद पक्ष रहेको बताइन् । ‘जोकोहीले पनि संयमता अपनाउनुपर्छ । आपसी सद्भाव कायम गर्नुपर्छ । धर्मका नाममा हुने कुनै पनि राजनीति मान्य हुँदैन,’ उनले भनेकी छिन्, ‘यसमा सरकार, नागरिक समाज, राजनीतिक दल, धार्मिक संघसंस्था, पत्रकारिता जगत् बुद्धिमतापूर्ण ढंगले अघि बढ्नुपर्छ ।’
मुस्लिम आयोगले पनि तराई–मधेशका केही स्थानहरूमा सामाजिक एवं धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप भइरहेकामा दुःख व्यक्त गरेको छ । बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले सबैलाई आपसी सद्भाव कायम राख्न अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान व्यक्त गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति एवं सम्प्रदाय एक–आपसमा मिलेर बसेको समाज हो, तर केही समयदेखि तराई–मधेशका केही स्थानहरूमा सामाजिक एवं धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप भइरहेका छन् । यो दुःखद परिस्थितिमा सम्पूर्ण समुदाय, नागरिक समाज, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तित्वहरूमा संयमता अपनाई धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न मुस्लिम आयोग हार्दिक अपिल गर्दछ ।’
धार्मिक सद्भाव कायम राख्ने सवालमा बौद्ध धर्मगुरुहरूले पनि सक्रियता देखाएका छन् । तराईका जिल्लाहरूमा भड्किएको हिंसा दुःखद रहेको भन्दै यसवेला सबैले संयमता अपनाउन जरुरी रहेको उनीहरूको भनाइ छ । बौद्ध धर्मगुरु तथा नेपाल तामाङ लामा घेदुङका अध्यक्ष पाल्देन गुरुले धर्मका नाममा द्वन्द्व निम्तिनु ठिक नभएको बताए ।
तराईमा भड्किएको धार्मिक दंगा नियन्त्रणमा राष्ट्रिय खिष्टियन महासंघ नेपालले पनि चासो व्यक्त गरेको छ । उसले विज्ञप्ति सार्वजनिक गर्दै सबै पक्षलाई संयम अपनाउन, कानुनको सम्मान गर्न, शान्तिपूर्ण ढंगले आफ्नो धार्मिक आस्था र अभ्यास गर्न तथा आपसी सद्भाव कायम राख्न आह्वान गरेको छ । ‘सुनसरीमा देखिएको तनाव र हिंसात्मक अवस्था कसैको हितमा छैन । यसबाट अन्ततः सम्पूर्ण नेपाली समाज नै प्रभावित हुन्छ । त्यसैले सबै पक्षलाई संयम अपनाउन, कानुनको सम्मान गर्न, शान्तिपूर्ण ढंगले आफ्नो धार्मिक आस्था र अभ्यास गर्न तथा आपसी सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ ।