सुनसरीको देवानगन्ज गाउँपालिका– ३, कप्तानगन्जबाट भड्किएको धार्मिक द्वन्द्व तत्काल रोक्दै सामाजिक सद्भाव कायम राख्न धार्मिक संघसंस्था तथा त्यससँग आबद्ध धर्मगुरुहरूले सार्वजनिक अपिल गरेका छन् । हिंसाबाट कसैको पनि हित नहुने भएकाले सहिष्णुता कायम राख्न पनि उनीहरूको आह्वान छ ।
संहिताशास्त्री तथा हिन्दुधर्मका गुरु अर्जुनप्रसाद बाँस्तोलाले नेपाल एकीकरण अभियानमा मुसलमान समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । मुसलमान पनि नेपाली दाजुभाइ नै भएकाले समाजमा मिलेर बस्नु सबैका लागि हितकर हुने उनले बताए । ‘धर्मको आधारमा उनीहरूमाथि कसैले पनि आक्रमण गर्नुहुँदैन । यो उत्तेजना होइन, संयमित हुने वेला हो । नेपालभित्र नेपाली दाजुभाइको रगत बग्नु ठिक होइन,’ उनले भनेका छन् ।
मुस्लिम समुदायका धर्मगुरु तथा अस्सलाम सोसाइटी नेपालका अध्यक्ष मौलाना नजरुल हुसैन फलाहीले मुसलमान समुदाय शताब्दीऔँदेखि नेपालमा रहँदै आएको र हिन्दु समुदायबाट पनि उत्तिकै माया र सद्भाव पाएको बताए । वसुधैव कटुम्बकम भन्ने हिन्दुको मूल आचरण नै सबैले मान्दै आएको हुँदा यतिवेला सबैले सद्भाव कायम गर्नुपर्ने वेला भएको उनको भनाइ छ । ‘आपसी मेलमिलाप र धार्मिक सहिष्णुता नै हाम्रो पहिचान थियो, छ र भोलि पनि रहनेछ । इस्लाम धर्मको त अर्थ नै शान्ति हो । त्यसो हुँदा यसवेला द्वन्द्व होइन, आपसी सद्भावको खाँचो छ । सबैले संयमता अपनाउन जरुरी छ,’ उनले भनेका छन् ।
यस्तै, विश्व हिन्दु महासंघ (अन्तर्राष्ट्रिय)की अध्यक्ष अस्मिता भण्डारीले पनि विविध धर्मका अनुयायीहरू सनातनदेखि नै मिलेर बस्दै आएको, तर अहिले केही ठाउँमा धर्मका नाममा द्वन्द्व भड्किनु दुःखद पक्ष रहेको बताइन् । ‘जोकोहीले पनि संयमता अपनाउनुपर्छ । आपसी सद्भाव कायम गर्नुपर्छ । धर्मका नाममा हुने कुनै पनि राजनीति मान्य हुँदैन,’ उनले भनेकी छिन्, ‘यसमा सरकार, नागरिक समाज, राजनीतिक दल, धार्मिक संघसंस्था, पत्रकारिता जगत् बुद्धिमतापूर्ण ढंगले अघि बढ्नुपर्छ ।’
मुस्लिम आयोगले पनि तराई–मधेशका केही स्थानहरूमा सामाजिक एवं धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप भइरहेकामा दुःख व्यक्त गरेको छ । बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले सबैलाई आपसी सद्भाव कायम राख्न अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान व्यक्त गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति एवं सम्प्रदाय एक–आपसमा मिलेर बसेको समाज हो, तर केही समयदेखि तराई–मधेशका केही स्थानहरूमा सामाजिक एवं धार्मिक सहिष्णुतामा खलल पार्ने क्रियाकलाप भइरहेका छन् । यो दुःखद परिस्थितिमा सम्पूर्ण समुदाय, नागरिक समाज, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि, धर्मगुरु, सञ्चारकर्मी तथा प्रबुद्ध व्यक्तित्वहरूमा संयमता अपनाई धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न मुस्लिम आयोग हार्दिक अपिल गर्दछ ।’
धार्मिक सद्भाव कायम राख्ने सवालमा बौद्ध धर्मगुरुहरूले पनि सक्रियता देखाएका छन् । तराईका जिल्लाहरूमा भड्किएको हिंसा दुःखद रहेको भन्दै यसवेला सबैले संयमता अपनाउन जरुरी रहेको उनीहरूको भनाइ छ । बौद्ध धर्मगुरु तथा नेपाल तामाङ लामा घेदुङका अध्यक्ष पाल्देन गुरुले धर्मका नाममा द्वन्द्व निम्तिनु ठिक नभएको बताए ।
तराईमा भड्किएको धार्मिक दंगा नियन्त्रणमा राष्ट्रिय खिष्टियन महासंघ नेपालले पनि चासो व्यक्त गरेको छ । उसले विज्ञप्ति सार्वजनिक गर्दै सबै पक्षलाई संयम अपनाउन, कानुनको सम्मान गर्न, शान्तिपूर्ण ढंगले आफ्नो धार्मिक आस्था र अभ्यास गर्न तथा आपसी सद्भाव कायम राख्न आह्वान गरेको छ । ‘सुनसरीमा देखिएको तनाव र हिंसात्मक अवस्था कसैको हितमा छैन । यसबाट अन्ततः सम्पूर्ण नेपाली समाज नै प्रभावित हुन्छ । त्यसैले सबै पक्षलाई संयम अपनाउन, कानुनको सम्मान गर्न, शान्तिपूर्ण ढंगले आफ्नो धार्मिक आस्था र अभ्यास गर्न तथा आपसी सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ ।