मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार o९:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एरिक र अनन्तले बंगलादेशबाट एएफसीको प्रतियोगिता खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार o९:१५:oo
  • फिफाको प्रतिबन्धका कारण घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल ठप्प हुँदा दुई खेलाडी बंगलादेशी लिगमा आबद्ध 

फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि निलम्बन लगाएसँगै घरेलु तथा अन्तर्राष्ट्रिय फुटबल ठप्प हुँदा राष्ट्रिय टोलीका एरिक विष्ट र अनन्त तामाङले बंगलादेशको व्यावसायिक लिग खेल्ने भएका छन् । बंगलादेश प्रिमियर लिग (बिपिएल) सिजन २०२६/२७ का लागि फोर्टिस एफसीले मिडफिल्डर एरिक र सेन्टर ब्याक अनन्तलाई अनुबन्ध गरेको हो । उनीहरूले एएफसीले आयोजना गर्ने एएफसी च्यालेन्ज लिग खेल्नेछन् । एरिक र अनन्तले पछिल्लो समय चर्च ब्वाइज युनाटेडबाट खेल्दै आएका छन् ।

दोस्रोपटक बंगलादेशबाट खेल्दै
एरिक र अनन्तले दोस्रोपटक बंगलादेशको लिग खेल्दै छन् । एरिकले गत सिजन ब्रदर्स युनियनबाट खेलेका थिए । १० टोली सहभागी लिगमा युनियन सातौँ भएको थियो । अनन्त लगातार दोस्रोपटक फोर्टिसमा आबद्ध भएका हुन् । गत सिजन फोर्टिसले तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । बंगलादेश प्रिमियर लिगको नयाँ सिजन २८ अगस्टबाट सुरु हुनेछ । अघिल्लो संस्करणको लिग करिब आठ महिना सञ्चालन भएको थियो । अनन्त र एरिक दुवैले क्लबसँग सिजन अवधिभरका लागि सम्झौता गरेका हुन् ।

दुई वर्षदेखि एएफसीको प्रतियोगिताविहीन नेपाल
नेपालका घरेलु शीर्ष डिभिजनका क्लबले दुई वर्षअघि एएफसी प्रतियोगिता खेलेका थिए । दुई वर्षअघि चर्च ब्वाइजले एएफसी च्यालेन्ज लिगमा भाग लिएको थियो । 

दशरथ रंगशालामा चर्च ब्वाइज भुटानको पारो एफसीसँग २–१ ले पराजित भएको थियो । सो खेलमा अनन्त र एरिक दुवैले खेलेका थिए । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तिमपटक ०७९/८० आयोजना भएको थियो । लिग नियमित नहुँदा नेपाली क्लबले एएफसीको प्रतियोगिता पनि नियमित खेल्न पाएनन् ।