मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ कार्तिक १६ आइतबार
  • Monday, 31 August, 2026
आमना बेगम
२o८२ कार्तिक १६ आइतबार ११:३१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

न्युयोर्कको मेयर पदनजिक ममदानी

Read Time : > 2 मिनेट
आमना बेगम
नयाँ पत्रिका
२o८२ कार्तिक १६ आइतबार ११:३१:oo
  • ममदानी अमेरिकी पहिचानलाई आकार दिने सहरको मेयर भए भने त्यो अमेरिकी राजनीतिकै असाधारण मोड हुनेछ

पाँच सय वर्ग किमिभन्दा सानो क्षेत्रफलमा फैलिएको न्युयोर्कको अर्थतन्त्र भने निकै विशाल छ । सहरको कुल गार्हस्थ उत्पादन झन्डै १.३ ट्रिलियन डलर छ । यो सहर एक देश भएको भए विश्वको १९औँ ठुलो अर्थतन्त्र हुने थियो । यही विश्व पुँजीवादको राजधानी न्युयोर्कमा एकजना ‘समाजवादी’ व्यक्ति मेयर पदको नजिक पुगेका छन् ।

हालसम्म न्युयोर्क राज्यका सभासद रहेका ३४ वर्षीय जोहरान ममदानीले चुनावी अभियान सुरु गर्दा धेरैले ‘बाहिरिया’ भनेर बेवास्ता गरेका थिए । तर, अहिले प्राय: सबै मतसर्वेक्षणले ४ नोभेम्बरमा हुने चुनाव उनैले जित्ने प्रक्षेपण गरिरहेका छन् । गुजराती मुस्लिम पिता र हिन्दु पन्जाबी आमा (चर्चित फिल्ममेकर मिरा नायर) का सन्तानका रूपमा युगान्डामा जन्मिएका ममदानी सात वर्ष हुँदा आमाबुबासँगै न्युयोर्क सरेका थिए । डेमोक्रेटिक पार्टी र अमेरिकी पहिचानलाई आकार दिने यस सहरको चुनावमा ममदानीको जित अमेरिकी राजनीतिमा असाधारण मोडको प्रतीक हुने विश्लेषण भइरहेको छ । हुन पनि यो आधुनिक अमेरिकी राजनीतिक इतिहासमा समाजवादीको ‘सबैभन्दा ठुलो सफलता’ हुनेछ ।

ममदानीले चुनावी अभियान आमनागरिकले प्रतिदिन भोग्नुपर्ने संघर्षमा केन्द्रित गरेर अहिलेको उचाइ हासिल गरेका हुन् । उनले सहरवासीले भोग्नुपरेको घरभाडा, यातायात सुविधा र महँगीलाई मूल चुनावी एजेन्डा बनाएका छन् । अमेरिकी राजनीतिमा समाजवादी राजनीतिज्ञको पहिचान बनाएका बर्नी स्यान्डर्स र एलेक्जान्ड्रिया ओकासियो–कोर्टेजको समर्थनसँगै न्युयोर्क सहरको चुनाव अमेरिकी वामपन्थीकै लागि प्रतिष्ठाको विषय बनेको छ । 

तर, आशासँगै चिन्ता पनि देखिन्छ । यस चुनावका क्रममा डेमोक्य्राटिक पार्टी र दक्षिण एसियाली समुदाय दुवैभित्रका दरार उजागर भइरहेका छन् । दुवै समूह ममदानीलाई लिएर विभाजित देखिन्छन् । तर, सबैभन्दा रोचक के देखियो भने इजरायली सरकारका कटु आलोचक ममदानी यहुदी मतदातामाझ सबैभन्दा लोकप्रिय देखिएका छन् । मतदाताले पुरानो राजनीतिक पहिचान बिर्सिएर ममदानीलाई समर्थन जनाएको देखिन्छ । 

यस चुनावमा ममदानीको धार्मिक पहिचान पनि बहसको विषय बनेको छ । ममदानीको मुस्लिम पहिचान विपक्षीका लागि उनलाई आक्रमण गर्ने बहाना बनेको छ । पूर्वगभर्नर तथा ममदानीका निकट प्रतिद्वन्द्वी स्वतन्त्र मेयर पदका उम्मेदवार एन्ड्र्यु कुओमोले एक रुढिवादी रेडियो कार्यक्रममा ममदानीको धर्मबारे टिप्पणी गर्दै भने, ‘भगवान् नचाहून्, तर ११ सेप्टेम्बर (सन् २००१) को जस्तो घटना फेरि हुँदा ममदानी त्यो कुर्सीमा भएको कल्पना गर्नुस् त ।’ जसको जवाफमा प्रस्तोता सिड रोजेनबर्गले भने, ‘त्यस अवसरमा उनी त उत्सव मनाइरहेका हुनेछन् ।’ जसमा कुओमोले हाँस्दै भने, ‘समस्या यही हो ।’

यो उही पुरानो हतकण्डा हो– डरलाई चेतावनीका रूपमा प्रस्तुत गर्ने र आफूमा रहेको पूर्वाग्रहलाई चिन्ताका रूपमा पेस गर्ने । विश्वको सबैभन्दा विविधतायुक्त सहर न्युयोर्कमा यस्तो तर्क सुनिनुले लोकतन्त्र र जनभावनाको उन्मादबिचको रेखा पातलो भएको देखाउँछ । 

तर, धर्मलाई देखाएर मानिसलाई विभाजन गर्ने रणनीति अब अमेरिकामा प्रभावकारी देखिँदैन । बाराक ओबामाको चुनावी अभियानका क्रममा पनि यस्तै अवस्था सिर्जना भएको थियो । त्यतिवेला रिपब्लिकन नेताहरूले उनको नामको बिचमा रहेको ‘हुसेन’लाई बारम्बार दोहोर्‍याइरहन्थे, मानौँ त्यो कुनै लुकेको खतराको प्रमाण हो । त्यतिवेला पनि यो रणनीतिले काम गरेन र मेयर चुनावअघिका मतसर्वेक्षण हेर्दा पनि अहिले ममदानीका हकमा पनि यसले काम गर्ने देखिँदैन । यसले धेरै कुरा संकेत गर्छ, सबै होहल्लाका बाबजुद डरको पनि एउटा सीमा हुन्छ । मानिसले अब नाम र विचारधारा, धर्म र राजनीतिबिच भिन्नता छुट्याउन सिकिरहेका छन् ।

ममदानीको बढ्दो लोकप्रियता ट्रम्प युगको राजनीतिप्रति मानिसको असन्तुष्टिको स्पष्ट प्रतिबिम्ब पनि हो । यसैकारण यो ट्रम्पको शासनशैलीविरुद्ध न्युयोर्कवासीको एक प्रतीकात्मक प्रतिक्रियाका रूपमा आएको छ । हालै अमेरिकाभर ट्रम्पको कार्यशैलीविरुद्ध उठेको विशाल ‘नो किंग’ प्रदर्शनमा निस्केको भिडले पनि यही भावनालाई प्रतिबिम्बित गर्छ । मानिसहरू अधिनायकवादी प्रवृत्ति र शक्तिको केन्द्रीकरणविरुद्ध छन्, जसले असहमत आवाजलाई सीमान्तकृत गरिदिन्छ । ममदानीको उदय यो सामूहिक बैचेनीको प्रतिबिम्ब पनि हो ।

यसका साथै, ममदानीको उम्मेदवारीले पहिचान र आफ्नोपनजस्ता असहज प्रश्न उठाउँछ । आखिर ‘असली अमेरिकी’ को हुन् ? सतहमा यो प्रश्न महत्वहीन देखिन्छ, तर कसैको हातमा यो हतियार बन्न सक्छ । डोनाल्ड ट्रम्पनजिकका दुई रिपब्लिकन सांसद फ्लोरिडाका र्‍यान्डी फाइन र टेनेसीका एन्डी ओगल्सले ममदानीले नागरिकता लिँदा अपनाएको प्रक्रियामाथि अनुसन्धान गर्नुपर्ने बताए । अर्थात्, यो सबै नीति वा क्षमतासँग भन्दा पनि पहिचानसँग जोडिएको छ । र, यसले एक गम्भीर प्रश्न उठाउँछ– के ममदानीको उदयले अमेरिकी राजनीतिलाई हेर्ने शैलीमा परिवर्तन गर्छ ? अथवा, यसले अमेरिकी डायस्पोरालाई आफैँमाथि नजर लगाउन प्रेरित गर्न सक्छ ? अहिले ठुला धनाढ्य व्यापारी, कर्पोरेट समर्थक र शक्ति दलालहरूको ध्यान ममदानीतिर तानिएको छ । न्युयोर्कमा मंगलबार हुने मेयर चुनावमा ममदानीले जित हासिल गरे भने इतिहास त बन्छ, तर सँगसँगै परीक्षाको घडी पनि सुरु हुनेछ । यस अवसरले राजनीतिलाई थप समावेशी बनाउन प्रेरित गर्नेछ वा यो आफ्नै भारमा पतन हुनेछ ? त्यो भविष्यले नै बताउनेछ । 

(स्तम्भकार तथा लेखक बेगम साप्ताहिक युट्युब सो पनि चालाउँछिन्) 
द प्रिन्टबाट