रसुवाका दुई जलविद्युत् परियोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि भारतीय र चिनियाँ सेनाका विज्ञ टोलीले रेकी गरेका छन् । भारतीय टोलीले लाङटाङ र चिलिमे जलविद्युत् आयोजना तथा चिनियाँ टोलीले माथिल्लो त्रिशूली ‘बी’ आयोजनाको सुरुङको बाहिरी रेकी गरेको हो । लाङटाङ र चिलिमेमा भारतीय नागरिक पनि कार्यरत छन् भने माथिल्लो त्रिशूली ‘बी’ आयोजनामा चिनियाँ र कोरियाली नागरिक कार्यरत छन् ।
भारतबाट आएका ११ र चीनबाट आएका ६ जनाको विज्ञ टोली रेकी सकाएर शनिबारै रसुवाबाट फर्किएका छन् । दुवै टोली नेपाली सेनासँगको समन्वयमा रेकीमा खटिएको थियो । अब उद्धारका लागि उपकरणसहितको अर्को टोली आउनेछ ।
‘जहाँ चिनियाँहरू कार्यरत छन्, त्यहाँ चिनियाँ विज्ञ टोलीले रेकी गर्यो, भारतीयहरू भएको सुरुङका लागि भारतीय विज्ञ टोलीले रेकी गर्यो,’ एक सुरक्षा अधिकारीले नयाँ पत्रिकासँग भने, ‘उनीहरूले आफ्नो माथिल्लो निकायमा रिपोर्ट गरेका छन् । त्यस आधारमा उपकरणसहितको टोली आउने भनिएको छ ।’
भारतीय राजदूतावास स्रोतका अनुसार भारतीय उद्धार टोली उपकरणसहित आइतबार लाङटाङ र चिलिमे आयोजनाको सुरुङका लागि खटिनेछ । चिनियाँ टोली पनि उपकरणसहित आइतबारै माथिल्लो त्रिशूली ‘बी’ आयोजनाको सुरुङमा उद्धारका लागि खटिनेछ ।
बाढीपछि अन्तर्राष्ट्रिय सहयोग
प्रभावितको व्यवस्थापन र पुनर्स्थापनाका लागि विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलरको सहुलियतपूर्ण कर्जाको प्रतिबद्धता आएको छ । त्यस्तै, एसियाली विकास बैंक (एडिबी)बाट बजेटरी सहयोग (अनुदान)का लागि ५० लाख अमेरिकी डलर आएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार साँझ फेसबुकमा उल्लेख गरेअनुसार अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर र अस्ट्रेलियाको सरकारबाट १० लाख अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैंकबाट प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ ।
प्रधानमन्त्रीका अनुसार भारत सरकारबाट हालसम्म तीन चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ । चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदै छ । चीनलाई ३० वटा बेलिबिज्र सहयोगका लागि अनुरोध गरिएको छ । भारतबाट दुई हजार र चीनबाट दुई हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ । त्यस्तै, स्विट्जरल्यान्डबाट १० लाख स्विस रकम (संयुक्त राष्ट्रसंघ)बाट खर्च हुने गरी प्राप्त भएको छ ।
६० घण्टापछि बालिकाको सकुशल उद्धार
बाढी गएको करिब ६० घण्टापछि रसुवाको टिमुरेबाट ६ वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरीले मनीषा मगरलाई माटोमुनि पुरिएको अवस्थामा शुक्रबार उद्धार गरेको हो । रोइरहेको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले उनको उद्धार गरेको हो । अचेत अवस्थामा उद्धार गरी उनलाई शुक्रबार बेलुका सशस्त्र प्रहरीकै बिओपीमा राखिएकोमा शनिबार मौसम खुलेपछि हेलिकोप्टरमार्फत धुन्चे ल्याइएको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नेत्रबहादुर कार्कीले बताए । होस खुलेपछि उनैले आफ्नो नाम बताएकी थिइन् । शरीरभर चोटपटक लागेकी उनको धुन्चेमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।