मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 22 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तदर्थ समितिका नाै सदस्यलाई अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले सोध्यो स्पष्टीकरण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४७:oo

अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सरकारद्वारा गठित तदर्थ समितिका नाैजना सदस्यलाई स्पष्टीकरण सोधेको छ । 

शुक्रबार काठमाडौंमा बसेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीको कार्यसमिति बैठकले नाैजनालाई सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन अनुरोध गरेको महासचिव राजीव श्रेष्ठले नयाँ पत्रिकालाई बताएका छन् । 

‘ओलम्पिक बडापत्र र नेपालको खेलकुद विकास ऐन, २०७७ को व्यवस्थाविपरीत घोषणा गरिएको तथाकथित तदर्थ समितिका नाैजना सदस्यमध्ये नेपाल ओलम्पिक कमिटीको विधानअनुसार सम्बन्धित रहेका व्यक्तिहरूलाई सात दिनभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण माग गर्ने निर्णय भएको छ,’ महासचिव श्रेष्ठले भने । 

विधान संशाेधन गरेर तेस्रोपटक अध्यक्ष भएका जीवनराम श्रेष्ठको अध्यक्षतामा एनओसीको ३१औँ कार्यसमितिको बैठक बसेको थियो । तर, यो कमिटीलाई सरकारले मान्यता दिएको छैन । यद्यपि, अन्तर्राष्ट्रिय मान्यता भने पाएको छ । यसैबिच खेलकुदमन्त्री तेजुलाल चौधरीकै सक्रियतामा २३ संघको उजुरीपछि सरकारले ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरेको  छ । 

यो तदर्थ समितिलाई सरकारले आठ महिनादेखि लागेको ओलम्पिक भवनको ताला खोल्दै प्रवेश गराएको थियो । बिहीबार मात्रै यो कमिटीले सातदोबाटो भवनमै पत्रकार सम्मेलन गर्दै शक्ति प्रदर्शन गर्‍याे । जहाँ सात संघका सदस्यहरूको उपस्थिति रहेको थियो । 

समितिमा संयोजक ध्रुवबहादुर प्रधान, नीलेन्द्रराज श्रेष्ठ, राजीवविक्रम शाह, रविराज कर्णिकार, समिम मियाँ अन्सारी, पुष्पदास श्रेष्ठ, अनिल शर्मा, सुनील श्रेष्ठ र वृजेन्द्र हमाल छन् । यो स्पष्टीकरणको बोधार्थ सम्बन्धित अन्तर्राष्ट्रिय निकायलाई समेत पठाउने एनओसीले निर्णय गरेको छ । यद्यपि, टेबलटेनिसका हमाल, गोडचढी संघका कर्णिकार, कुनै पनि संघमा नरहेका अन्सारी अन्तर्राष्ट्रिय मान्यतामा छैनन् । तीनजनालाई भने स्पष्टीकरण नसोधिने अध्यक्ष श्रेष्ठले जानकारी गराए । 

बैठकको थप जानकारी गराउँदै महासचिव श्रेष्ठले भने, ‘अनधिकृत रूपमा प्रयोग गरिएको ओलम्पिक कमिटीको लोगो, आइओसीको लोगो, ओसिएको लोगो, एएनओसीको लाेगो र ओलम्पिक भवन प्रयोग बन्द गर्न र कारबाही गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने र ओलम्पिक भवन आधिकारिक कमिटी जीवनराम श्रेष्ठ नेतृत्वको ओलम्पिक कमिटीलाई प्रयोग गर्न सहजीकरणका लागि सरकारलाई पत्राचार गर्ने निर्णय गरिएको छ ।’