
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनविरुद्धमा निजी विद्यालयका सञ्चालक मात्रै होइन शिक्षक, कर्मचारी पनि आन्दोलनमा उत्रिएका छन् । संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित गरिएका केही बुँदाहरूमा असहमति जनाएर निजी विद्यालयका सञ्चालक मात्रै होइन शिक्षक, कर्मचार पनि आन्दोलनमा उत्रिएका हुन् ।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा ऐन पारित भएपछि कञ्चनपुरसहित देशभर निजी विद्यालयहरूका साझा संगठन प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा आन्दोलन थालेको जनाएका छन् । विधेयकमा निजी विद्यालय क्रमशः गैरनाफामूलक बनाइने उल्लेख छ । पूर्ण छात्रवृत्ति राखेपछि प्याब्सन र एन प्याब्सनले उक्त बुँदा खारेजीको माग अघि सारेर देशभर आन्दोलनमा उत्रिएको जनाएका छन् । प्याब्सन कञ्चनपुरका अध्यक्ष महादेव भट्टले केन्द्रीय कार्यक्रमअन्तर्गत शुक्रबार जिल्लामा पनि स्कुलबससहित सञ्चालक, शिक्षक, कर्मचारीहरूको उपस्थितिमा विरोध प्रदर्शन गरिएको बताए ।
देशभर आन्दोलनका कार्यक्रमअन्तर्गत ज्ञापनपत्र बुझाएर स्कुले सवारीसाधन सडकमै ल्याएर आन्दोलनमा उत्रिएका हुन् । एन प्याब्सन कञ्चनपुरका अध्यक्ष सत्येशबहादुर चन्दले निजी विद्यालयमाथि राज्यले अन्याय गरेपछि विगतका वर्षहरू जस्तै यस वर्ष पनि आन्दोलनमा उत्रिएको बताए । शैक्षिक गुणस्तर प्रदान गर्दै आएका निजी विद्यालयमाथि सरकारबाट अन्याय भएको हुँदा बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए ।
प्याब्सन नेपालका केन्द्रीय सदस्य अम्मराज भट्टले विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनुपर्नेमा जोड दिए। उक्त समय सीमाभित्र भद्र रूपमा गरिएको आन्दोलन, सचेतना, ज्ञापनपत्र बुझाउने, अन्तर्क्रिया र छलफलबाट निकास ननिस्किए अब विद्यालय बन्दसम्म गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।