
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को मिति सार्वजनिक गरेको छ । क्यानले दोस्रो संस्करण आगामी १ देखि २७ मंसिरसम्म कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने जनाएको छ । क्यानले एनपिएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न गरिसकेको छ । एनपिएलको पहिलो संस्करण १५ मंसिरदेखि ६ पुस ०८१ मा भएको थियो ।
एनपिएलको उपाधिका लागि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, चितवन राइनोज, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुनेछ । गत वर्ष जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले हराउँदै उपाधि हात पारेको थियो । अन्तर्राष्ट्रिय स्तरको बनाउन त्रिवि क्रिकेट मैदानको पुनर्निर्माण भइरहेको छ । मैदानमा प्यारपिट जडानको कार्य लगभग सकिएको छ । फ्लड लाइट राख्ने प्रक्रिया अगाडि बढेको क्यानले जनाएको छ ।
सहभागी फ्रेन्चाइज टोलीले हरेक टोलीमा कम्तीमा चार र बढीमा ६ विदेशी खेलाडी आबद्ध गर्न पाउने प्रावधान रहेको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । यस सिजन पनि आठै टोलीमा विदेशी खेलाडी भिœयाउने प्रक्रिया बाँकी रहेको छ । सहभागी फ्रेन्चाइजले समान ११ जना नेपाली खेलाडी भिœयाइसकेका छन् ।
१५ खेलाडी जनही १५ लाखमा अनुबन्धित
दोस्रो संस्करणको एनपिएलमा सहभागी फ्रेन्चाइज आठ टोलीले खेलाडी रिटेन तथा अक्सनमा लाखौँ रुपैयाँ खर्चेका छन् । समग्रमा १५ खेलाडी जनही १५ लाख रुपैयाँमा विभिन्न टोलीमा अनुबन्धित भएका छन् । एनपिएलको अक्सनबाट चितवनले देव खनाल र अर्जुन साउदलाई समान १५ लाख खर्चेर खरिद गरेको थियो । यसैगरी पोखराले सागर ढकाललाई १५ लाखमा रिटेन गरेको थियो । अक्सनमा पोखराले आकाश चन्दलाई सर्वाधिक ११ लाख ५० हजार रुपैयाँ बोली लगाएको थियो । साबिक विजेता जनकपुरले अनिलकुमार साहलाई १५ लाख रुपैयाँमा रिटेन गरेको थियो ।
राष्ट्रिय टोलीका प्रमुख स्पिनर ललितनारायण राजवंशीलाई पनि १५ लाख रुपैयाँमै जनकपुरले रिटेन गर्यो । अक्सनको माध्यमबाट जनकपुरले मयन यादवलाई सात लाख ७५ हजार रुपैयाँ खर्चेको थियो ।
यसैगरी काठमाडौंले भीम सार्की र साहब आलमलाई समान १५ लाख रुपैयाँ खर्चंदै रिटेन गर्यो । अलराउन्डर आदिल अलामलाई अक्सनमा काठमाडौंले १५ लाख रुपैयाँ बोली लगायो ।
यसैगरी, लुम्बिनीले विकेक यादव र सन्दीप जोरालाई रिटेन गर्न १५–१५ लाख रुपैयाँ खर्चियो । अक्सनमा दिलीप नाथ र शेर मल्ललाई लुम्बिनीले समान १० लाख खर्चेर अनुबन्ध गरेको थियो ।
साबिक उपविजेता सुदूरपश्चिमले आरिफ शेखलाई १५ लाख खर्चंदै रिटेन गरेको थियो । मिनी अक्सनमा सुदूरपश्चिमले हेमन्त धामीमाथि १० लाख रुपैयाँ बोली लगाएको थियो । कर्णालीले अक्सनमा पवन सर्राफमाथि १५ लाख खर्चियो । गुल्सन झालाई १५ लाख र नन्दन यादवलाई ११ लाख खर्चंदै कर्णालीले रिटेन गर्यो ।