
काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्ने ५८ जनालाई कारबाही गरेको छ । महानगरले सार्वजनिक ठाउँमा धूम्रपान गरेको फेला पारेपछि ५८ जनालाई कारबाही गरेको हो । महानगरले १ भदौदेखि सार्वजनिक स्थानमा धूम्रपान गरे कारबाहीस्वरूप पाँच सय रुपैयाँ जरिवाना लिइरहेको छ ।
महानगरले उनीहरूलाई जरिवाना तिराउनुका साथै सम्झाइ–बुझाइसमेत गर्ने गरेको छ । महानगरपालिकाले चालू आर्थिक वर्षको सुरुदेखि सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरेको थियो । जसअनुसार साउनभर सम्झाइ–बुझाइ र जनचेतनामा केन्द्रित रही १ भदौदेखि जरिवाना लिन थालेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
‘सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई कारबाहीका लागि नगर प्रहरी ठाउँठाउँमा परिचालन गरेका छौँ, यसका लागि हरेक दिन छुट्टै टिम खटिएको छ,’ उनले भने, ‘धूम्रपानले स्वास्थ्यमा जटिल समस्या ल्याउँछ, यससम्बन्धी संघीय कानुन पनि बनिसकेको अवस्थामा त्यसैमा टेकेर कार्यान्वयन गर्न लागेका हौँ ।’