
सम्पर्क कार्यालय उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्– ०५० सालपछि एमालेले निरन्तर सरकारमा भाग लिइराखेको छ । सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यसअनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? समीक्षा गर्ने वेला भएको छ । पार्टीभित्र विकृति, विसंगति फैलिएको छ, त्यसविरुद्ध म लडिरहन्छु ।
एमालेमा आफ्नो सदस्यता नै रोकेका अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्न पूर्वराष्ट्रपति विद्या भण्डारी संगठित रूपमै मैदानमा उत्रिएकी छिन् । एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा बिहीबार नयाँ बानेश्वरमा सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले ओली जनताको बहुदलीय जनवाद कार्यान्वयनमा असफल भएको इंगित गर्दै प्रतिस्पर्धाको मैदान नछाड्ने घोषणा गरेकी हुन् ।
ओलीले ६ साउनमा केन्द्रीय कमिटी बैठकबाट निर्णय गराएर भण्डारीको सदस्यतामै रोक लगाएका थिए । तर, कसैले रोक्दैमा एमाले राजनीतिमा आफ्नो ‘ब्रेक’ नलाग्ने चेतावनी दिँदै आएकी भण्डारीले सम्पर्क कार्यालय स्थापना गरेर नेतृत्वका लागि पाइला चालेकी हुन् । उक्त कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली, स्थायी समिति र केन्द्रीय समितिका केही नेताका साथै धेरै पार्टी सदस्य र नेता–कार्यकर्ता भएको बागमती प्रदेश र काठमाडौं जिल्ला अध्यक्षसहितलाई साथमा राखेर उनले ओलीसँग प्रतिस्पर्धाका लागि संगठित रूपमै मैदानमा आएको जनाउ पनि दिइन् । आगामी २० देखि २२ भदौमा ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुँदै छ ।
‘हुन त मेरो सदस्यताबारे प्रश्न छ । साथीहरू नेता भन्छन् । पार्टीको संगठित सदस्यमै प्रश्न उठाएको छ, यो च्यासलले । यसबारेमा के भन्न चाहन्छु भने मैले नेकपा माले हुँदादेखि ०३७ सालमा सदस्यता लिएकी हुँ । ४५ वर्ष भएछ । राष्ट्रपतिको शपथ खाने वेलामा नेकपा एमालेको सदस्य भएको ३५ वर्ष भएको थियो । पार्टीले विशेष निर्णय गरेर तपाईं जानैपर्छ भन्यो, शपथ खाएँ । मैले यो देशको राष्ट्रपतिले गर्नुपर्ने भूमिका एकदम मर्यादित ढंगले राम्रोसँग राष्ट्रको गौरव बढ्ने गरी गरेकी छु । इतिहासको पानाहरू खुला छन्,’ एमालेकै कार्यकर्ता भएर काम गर्ने भन्दै उनले अगाडि भनिन्, ‘सार्वजनिक रूपमा भनेकी छु, म आलोचनाभन्दा बाहिर छैन । सबैले मलाई आलोचना गर्न सक्नुहुन्छ, तर तथ्यका आधारमा हुनुपर्छ हरेक कुराहरू । म निरन्तर नेकपा एमालेकै कार्यकर्ता भएर काम गर्न चाहन्छु र गरिरहन्छु ।’
भण्डारीले काठमाडौंका पूर्वउपमेयर विदुर मैनालीले दिएको घरमा मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गरेकी हुन् । त्यही साढे तीनतले भवनबाट नियमित रूपमा एमाले नेता–कार्यकर्तासँग भेटघाट गर्दै सक्रियता बढाउने योजनामा उनी छिन् । भण्डारीले सम्पर्क कार्यालय खोलेर दिएको राजनीतिक सन्देशलाई एमाले वृत्तमा महत्वका साथ हेरिएको छ । कार्यक्रम उद्घाटनपछि उनले आफ्नो लामो राजनीतिक यात्रा, जबजको उद्देश्य र समीक्षाको औचित्य, राष्ट्रपति हुँदा गरेका कामदेखि पार्टी सदस्यता रोक लगाइएकोसम्मका विषयलाई सम्बोधन गर्दै आफू एमालेको नेतृत्वमा आउन चाहनुको कारणहरू प्रस्ट्याउने कोसिस गरिन् । त्यसक्रममा उनले आफूलाई एमालेकै प्रभावशाली नेताकै रूपमा प्रस्तुत गरिन् ।
भण्डारीले पार्टी र राज्यभित्र लोकतान्त्रिक प्रणालीले काम नगरेको र कमजोर बनाइएकोप्रति गम्भीर प्रश्न पनि उठाइन् । ‘पार्टीहरूभित्र पनि लोकतान्त्रिक प्रणाली निम्छरो भइरहेको छ । राज्यका सबै अंगहरू पनि पद्धतिसंगत ढंगले चलिरहेका छैनन् । देशका लागि हामी सबैले मिलेर समाधान निकालौँ,’ उनले भनिन् ।
भण्डारीले ०४६ पछि पार्टी निरन्तर सरकारमा रहेकाले जनताको बहुदलीय जनवादको सिद्धान्त, मर्म र भावनाअनुसार नै काम भयो कि भएन भनेर गम्भीर समीक्षा गर्ने वेला भएको भन्दै ओलीको नाम नलिईकनै उनी नेतृत्वका लागि असक्षम र असान्दर्भिक भइसकेको जनाउ दिइन् । ‘हिजो ०४६/४७ को आन्दोलनपछि जसरी देशमा एउटा अन्तरिम सरकार बनेको थियो, त्यो सरकारमा पनि यो पार्टीले भाग लिएको थियो । तर, त्यसपछि भने चुनावबाट ५० सालपछि निरन्तर यो पार्टी नेकपा एमालेले भाग लिइराखेको छ,’ उनले भनिन्, ‘सरकारमा भाग लिनु भनेको आफ्नो पार्टीको नीति र सिद्धान्तअनुसार काम गर्न हो । त्यसअनुसार हामीले काम गर्न सक्यौँ कि सकेनौँ ? समीक्षा गर्ने वेला भएको छ ।’
भण्डारीले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउने नेतृत्वको गलत कार्यशैलीविरुद्ध निरन्तर संघर्ष गर्दै पार्टी नीति र इमानदार नेता–कार्यकर्ताको पक्षमा दृढतापूर्वक उभिनेसमेत बताइन् । ‘मलाई पार्टीले कुनै जिम्मेवारी देओस् कि नदेओस् मतलब छैन, म एमालेको सदस्य हो । त्यो नाताले मैले जुन सिद्धान्त धारण गरेकी छु, त्यसअनुसार काम गर्ने हो । पार्टीभित्र विकृति, विसंगति फैलिएको छ भने विसंगतिका विरुद्ध पनि म लडिरहन्छु । म नेपाल राष्ट्रको गौरव बढाउन, स्वाभिमान र अस्तित्वका लागि चन्द्र–सूर्य रहेसम्म अस्तित्व रहनुपर्छ भन्ने मान्यता राख्छु र त्यसअनुसार काम गर्छु,’ उनले भनिन् ।
राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेल भण्डारीको पक्षमा नेता–कार्यकर्ता खुल्दै जाँदा ओली कुनै न कुनै ‘एड्रेस’ गर्न बाध्य हुने बताउँछन् । ‘उहाँ (भण्डारी) खुलेर समूहलाई संगठित गरेर चुनौती सामना गरेरै अगाडि बढ्न खोजेको देखियो । यसले पार्टीभित्र विभिन्न कारणले संस्थापनसँग असन्तुष्ट र पेलिएका नेता–कार्यकर्ताहरूले पनि संरक्षण र स्थान पाउने स्थिति बन्दै जानेछ । नेता–कार्यकर्ताहरू तलैसम्म खुल्दै जाने हो भने ओली विद्या भण्डारीलाई कहीँ न कहीँ एड्रेस गर्न बाध्य हुन सक्छन्,’ उनले भने । तर, सरकार र पार्टी दुवैतिर नेतृत्वमा रहेकाले ओलीले अझै थुप्रै हथकण्डा अपनाएर पनि समूहलाई संगठित हुन नदिन कोसिस नगर्लान् भन्न नसकिने उनको ठम्याइ छ ।
भण्डारीले बिहीबार गरेको कार्यक्रमप्रति एमालेले ‘सफ्ट’ प्रतिक्रिया दिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जबजको मर्मअनुसार अघि बढ्नु राम्रै भएको बताउँछन् । ‘मदन भण्डारीको आदर्श र बाटोअनुसार अघि बढ्ने प्रतिबद्धतालाई पार्टीले सधैँ स्यालुट गर्छ । एमाले जबजकै आलोकमा समाजवादको आधार निर्माण गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारा कार्यान्वयन गरेर नेपाली विशेषताको समाजवाद निर्माणमा क्रियाशील छ । त्यसका लागि योगदान गर्न आउने जोकोहीलाई पार्टीले स्वागत गर्छ,’ उनले भने । तर, भण्डारीको पार्टी सदस्यतासम्बन्धी विषयमा पार्टीको निर्णय र अपानिअनुसार कार्यान्वयन गर्नु सबै सदस्यको दायित्व हुने उनको भनाइ छ ।
भण्डारीले ठुला दलहरूले प्रतिबद्धता जनाएअनुसार संविधान संशोधनको पहिचान गरेर कुनै काम गर्न नसकेको, संसद्लाई कानुन निर्माण र जनताको मुद्दा सम्बोधन तथा आवाज सुनुवाइ हुने थलो नबनाई निकम्मा र निरीह बनाएको भन्दै गम्भीर प्रश्न उठाइन् । परनिर्भर र युवा पलायन गर्ने शिक्षा प्रणाली बदल्न कोसिस नगरेको मात्र होइन, उद्योगधन्दा विस्तारदेखि तराईका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउनेजस्तो न्यूनतम काम गर्न, सुशासन कायम गर्न, पुँजीलाई रोकेर देशलाई आत्मनिर्भर बनाउनेसम्मका काममा ठुला दलहरू असफल भएको उनको आरोप थियो । नयाँ पुस्तासँगको अन्तक्र्रिया, उनीहरूको सोच र मनोविज्ञानसँग साक्षात्कारसहित त्यसअनुसारको काम गर्न पनि दलहरू असफल भएको उनको भनाइ थियो । युवा पुस्तामा निराशा फैलिएको भन्दै उनले जबजको मर्मअनुसार कुन–कुन क्षेत्रमा के–कसरी काम भए, किन हुन सकेनन्, फाउन्डेसनले थिंक ट्यांककै रूपमा काम गर्नुपर्नेमा जोड दिइन् ।
भण्डारीको पक्षमा खुल्ने क्रम बढ्दै
सम्पर्क कार्यालयमार्फत राजनीतिक सक्रियता बढाएसँगै उपाध्यक्ष विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा एमालेका नेता–कार्यकर्ता क्रमश: खुल्दै गएका छन् । उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले भण्डारीको सदस्यतामाथि रोक लगाउने निर्णयमाथि राखिएको ‘नोट अफ डिसेन्ट’लाई अन्तरपार्टी छलफलका लागि नपठाइएको भन्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको बैठकहरूमा नोट अफ डिसेन्टसहित आफ्ना मत कडाइका साथ राख्ने तयारी गरेका छन् । भण्डारी–पोखरेल समूह अब क्रमश: संगठित रूपमै अगाडि बढ्ने तयारीमा लागेको छ ।
भण्डारीलाई साथ दिन कार्यालय उद्घाटनमा पुगेका बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले भण्डारीको सदस्यता नवीकरणका सन्दर्भमा अब बस्ने सचिवालय र केन्द्रीय कमिटी बैठकहरूबाट पनि निर्णय पुनर्विचार हुन सक्ने बताए । ‘पूर्वराष्ट्रपतिले एमालेको कार्यकर्ता भएर अगाडि बढ्छु भनेपछि उहाँले त्यसअनुसारकै भूमिकासहित बस्नुपर्छ, आलोचना/प्रशंसा दुवै स्विकार्नुपर्छ,’ ढुंगेलले भने, ‘उहाँको सदस्यताबारे पार्टीले जे निर्णय गर्यो अहिलेलाई त्यही नै हो, तर अबको बैठकहरूले त्यसमा सोचेर केही निर्णय वा फैसला गर्ने कुरा पनि पार्टीले नै सोच्ने कुरा हो ।’ बागमती प्रदेश कमिटीमा भण्डारीसमर्थक नेताहरूको बाहुल्य छ । प्रदेश सचिवालय बैठकमा करिब दुईतिहाइले उनलाई सदस्यता दिनुपर्ने पक्षमा मत राखेका थिए ।
त्यस्तै, कोशी प्रदेशसहित बैठक चलिरहेका थुप्रै जिल्लाहरूमा भण्डारीलाई सदस्यतामा रोक लगाइएको निर्णयको विरोध भएको छ । बिहीबारको कार्यक्रममा स्थायी समिति सदस्य कर्ण थापा, केन्द्रीय सदस्यहरू सरिता न्यौपाने, रमेश पौडेल, बाबुराम थापा, नेताहरू विनोद ढकाल, युवराज कार्कीदेखि पूर्वसल्लाहकार कमिटी सदस्य, प्रदेश कमिटीका सदस्यहरू, एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला, बागमती प्रदेश कमिटी अध्यक्षमा पराजित कृष्णप्रसाद दाहाल, सचिव हस्त पण्डित, पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष पुण्य ढकाल, राष्ट्रिय युवा संघ, अनेरास्ववियुसहित विभिन्न जनवर्गीय संगठनका अध्यक्ष र पदाधिकारीमा पराजित नेता तथा पूर्वपदाधिकारीहरूलगायत करिब पाँच सय नेता–कार्यकर्ता सहभागी थिए ।
ओलीलाई ईश्वर पोखरेलको कटाक्ष– कहिलेकाहीँ विचारकै टोपी लगाउनेहरूले विचारलाई नै क्षतविक्षत बनाइरहेका हुन्छन्
जनताको बहुदलीय जनवाद एमालेको मार्गदर्शक सिद्धान्त हो, लोकतान्त्रिक अभ्यासको, अरू पार्टीलाई पनि मार्गदर्शन गर्ने विचार हो । जबज नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्ने सिद्धान्त पनि हो । कहिलेकाहीँ विचारकै टोपी लगाउनेहरूले विचारलाई नै क्षतविक्षत बनाइरहेका हुन्छन् । टोपी लगाएर प्रस्तुत हुनेहरू मात्रै विचारको संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नुहुँदैन ।
माधव नेपाल र रवि लामिछानेको सांसद पद निलम्बनप्रति असन्तुष्टि
पूर्वराष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी अध्यक्ष माधव नेपाल र पूर्वउपप्रधानमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको सांसद पद निलम्बनप्रति इंगित गर्दै असन्तुष्टि पनि जनाइन् ।
‘कुनै व्यक्तिलाई केही आरोप लाग्यो, पुष्टि भएकै छैन, तर उसले बोल्नै नपाई निलम्बित भइहाल्छ । के संसारमा यस्तै हुन्छ न्याय ? जनप्रतिनिधिहरू निर्वाचित भएर आएका छन्, उनीहरूले आदर्शअनुसार काम गर्नुपर्छ । कसैले आरोप लगायो भन्दैमा एकैचोटि निलम्बनमा परिहाल्ने व्यवस्था कति लोकतान्त्रिक हो ?’ माधव र रविको नाम नलिइकनै उनले भनिन्, ‘जननिर्वाचित प्रतिनिधिहरूको हकमा कुनै पनि आरोप पुष्टि नभएसम्म निलम्बित गर्नु राम्रो होइन ।
संसद्मै पनि ठुलै दलका नेताहरू निलम्बन भइरहेका छन् । जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधि साँच्चै दोषी हुन् कि होइनन् ? हुन पनि सक्छ, तर प्रमाणित नभएसम्म ऊ दोषी हुँदैन, बनाइनुहुँदैन । तर, के उसलाई निलम्बन नै गरिहाल्ने?’
भण्डारीको पक्षमा नेता–कार्यकर्ता खुल्दै जाँदा ओली बाध्य हुन्छन् : कृष्ण पोखरेल, राजनीतिशास्त्रका प्राध्यापक
उहाँ (भण्डारी) खुलेर समूहलाई संगठित गरेर चुनौती सामना गरेरै अगाडि बढ्न खोजेको देखियो । यसले पार्टीभित्र विभिन्न कारणले संस्थापनसँग असन्तुष्ट र पेलिएका नेता–कार्यकर्ताले पनि संरक्षण र स्थान पाउने स्थिति बन्दै जानेछ । नेता–कार्यकर्ता तलैसम्म खुल्दै जाने हो भने ओली विद्या भण्डारीलाई कहीँ न कहीँ एड्रेस गर्न बाध्य हुन सक्छन् । तैपनि ओलीले अझै थुप्रै हथकण्डा अपनाएर पनि समूहलाई संगठित हुन नदिन कोसिस नगर्लान् भन्न सकिन्न । सरकार र पार्टी दुवैतिर नेतृत्वमा भएकाले आस र त्रास दुवै देखाउन सक्ने अवस्था छ । यी सबै विद्या भण्डारी र उहाँको समूहले कसरी चिर्छ, धेरै कुरा त्यसमै भर पर्नेछ ।