
एसियाली बक्सिङ च्याम्पियनसिपको पुरुष यू–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कांस्य पदक हात पारेका छन् । पुरुष ५० केजी तौल समूहको सेमिफाइनलमा अर्पिल जापानका मुक्केबाज सोदाई कोटोसँग ५–० ले पराजित भए ।
एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैंककमा भएको प्रतियोगितामा अर्पिलले प्रिक्वार्टरफाइनलमा साउदी अरबका इब्राहिमलाई ५–० तथा भुटानका किन्ले फुन्चोलाई ४–१ ले हराउँदै सेमिफाइनलमा पुगेका थिए ।
नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले स्वर्णकै प्रबल दाबेदार जापानका खेलाडीसँग अर्पिलले राम्रो प्रदर्शन गरेको बताए । ‘जापानका खेलाडी आफ्नो तौल समूहका स्वर्णका प्रबल दाबेदार हुन् ।
बलियो प्रतिद्वन्द्वीसँग अर्पिलले राम्रो खेले,’ भण्डारीले भने ‘अर्पिल राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरिरहेको मिसन– २०२० को विशेष प्रशिक्षणमा रहेका खेलाडी हुन् । यो प्रशिक्षणले अर्पिल मात्र होइन, धेरै खेलाडीको प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको छ ।’