मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
२o८२ श्रावण ८ बिहीबार o८:१७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन नेपालको प्रस्ताव

गण्डकीका मुख्यमन्त्री र चिनियाँ अधिकारीबिच ल्हासामा वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार o८:१७:oo

संयुक्त रूपमा काम गर्ने चिनियाँ आश्वासन, एक महिनाभित्रै रसुवागढीमा बेलिब्रिज बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमणको क्रममा ल्हासामा तिब्बत सरकार प्रमुख वाङ जुनझेङसँग उच्चस्तरीय वार्ता गरेका छन् । मंगलबार तिब्बत पुगेका मुख्यमन्त्री पाण्डेले बुधबार ल्हासामा औपचारिक भेटवार्ता गरेका हुन् । 

भेटवार्तामा मुख्यमन्त्री पाण्डेले मुस्ताङस्थित कोरला नाकालाई अन्तर्राष्ट्रिय सीमानाका बनाउन प्रस्ताव गरेका छन् । तिब्बतका सरकार प्रमुख (तिब्बतस्थित चिनियाँ कम्युनिस्ट पार्टीका सेक्रेटरी) वाङ्ले कोरला नाका चीनको पनि प्राथमिकतामा रहेको उल्लेख गर्दै संयुक्त रूपमा काम गर्नुपर्ने जवाफ दिएका छन् । 

रसुवागढी–केरुङ नाका बाढीका कारण बन्द भएको र तातोपानी नाकाको सडक पनि वर्षामा सहज नभएको अवस्थामा संघीय सरकारले कोरला नाकालाई विकल्पका रूपमा अघि सारेको छ । ‘कोरला चीनको पनि प्राथमिकता हो । यसमा संयुक्त प्रयास आवश्यक छ,’ तिब्बत सरकार प्रमुख वाङलाई उद्धृृत गर्दै ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले टेलिफोनमा भने । उनका अनुसार भेटमा तिब्बतका पार्टी पदाधिकारी र तिब्बत सरकारका अधिकांश विभागका महानिर्देशक सहभागी थिए । 

मुख्यमन्त्री पाण्डेले नेपालको एक चीन नीतिप्रति स्पष्ट प्रतिबद्धता जनाउँदै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने आश्वासन दिए । औपचारिक वार्तामा दुई देशको सम्बन्ध, तिब्बत र नेपालको सम्बन्ध, तिब्बत र गण्डकी प्रदेशको सम्बन्धबारे चर्चा भएको थियो । पाण्डे नेतृत्वको १३ सदस्यीय प्रतिनिधिमण्डल पोखराबाट मंगलबार ल्हासा पुगेको हो । 

भेटमा तिब्बत सरकार प्रमुख वाङ्ले बाढीबाट भत्केको केरुङ–रसुवागढी मितेरी पुलको स्थानमा एक महिनाभित्र बेलिब्रिज (फलामे पुल) निर्माण हुने जानकारीसमेत दिएका थिए ।

सोमबार तिब्बतका अध्यागमन विभागका महानिर्देशक वाङ सिहोङले ल्हासास्थित नेपाली महावाणिज्यदूत निरौलासँगको भेटमा केरुङ नाकामा फलामे पुल निर्माणका लागि चिनियाँ कामदार र प्राविधिकले काम सुरु गरिसकेको जानकारी दिएका थिए । तिब्बत सरकार प्रमुखले मुख्यमन्त्री पाण्डेलाई मंगलबार त्यही जानकारी दिएका छन् । 

मुख्यमन्त्री पाण्डेले पोखरा र ल्हासाबिच थप हवाई उडान हुनुपर्ने तथा पोखरा र चीनका अन्य सहरबिच पनि उडान थप्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा तिब्बत सरकार प्रमुख वाङ्ले यात्रुहरूको संख्याले उडानको संख्या तय गर्ने भन्दै यसका लागि वातावरण बनाउनुपर्ने जोड दिएका थिए । ‘अत्यन्तै सौहार्दपूर्ण रूपमा छलफल भयो । कोरला नाका, रसुवागढी–केरुङ र हवाई सम्पर्क विस्तारका विषयमा ठोस कुरा भयो, अन्य औपचारिकताका विषयमा पनि छलफल भयो,’ महावाणिज्यदूत निरौलाले भने, ‘द्विपक्षीय वार्ताबाट हामी खुसी छौँ ।’ 

मुख्यमन्त्री पाण्डे नेतृत्वको प्रतिनिधिमण्डललाई तिब्बत सरकारले बिहीबार कैलाश मानसरोवर भ्रमणका लागि व्यवस्थापन गरेको छ । उनीहरू बिहीबार ल्हासाबाट तिब्बत एयरलाइन्सको उडान हुँदै आली विमानस्थल (कैलाश मानसरोवरनजिकै) जानेछन् । कैलाश मानसरोवर दर्शन गरेर उनीहरू शुक्रबार ल्हासा हुँदै लिन्जी सहर जाने कार्यक्रम छ । तिब्बतको लिन्जी र पोखराबिच भगिनी सम्बन्ध स्थापित छ ।

मुख्यमन्त्री पाण्डे नेपाल–चीन सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा लिन्जीमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ उनले सम्बोधन गर्ने कार्यक्रम छ । टोली १२ साउनमा पोखरा फर्किनेछ ।