पूर्वराजाको चिया बगानबाट माटो बिक्री प्रकरण, अख्तियारले थाल्यो अनुसन्धान

शुक्रबार, ३० फागुन, २०८१
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको दमकस्थित हिमालय–महालक्ष्मी चिया बगानको माटो बिक्री प्रकरणमा अनुसन्धान थालेको छ । 

वातावरण संरक्षण ऐनविपरीत वातावरणीय प्रभाव मूल्यांकनविना नै माटो उत्खनन र बिक्रीका लागि झापाको दमक नगरपालिकाले अनुमति दिएको पाइएपछि अख्तियारको इटहरी कार्यालयले अनुसन्धान गरिरहेको हो । अख्तियारले १८ फागुनमा दमक नगरपालिकालाई पत्र काट्दै १५ दिनभित्र हिमालय चिया बगानलाई माटो उत्खननका लागि दिइएको अनुमतिको कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन भनेको छ । 

अख्तियारले पहिलो बुँदामा ‘बगानको माटो उत्खननका लागि कुन मितिमा र कुन निर्णयअनुसार अनुमति दिए/नदिएको हो त्यसको कागजात’ उपलब्ध गराउन भनेको छ । त्यस्तै, बगानको जग्गा कति छ, हदबन्दी रहे/नरहेको तथा सर्तअनुसार प्रयोग भए/नभएको विवरण मागेको छ । तेस्रो बुँदामा दमक नगरपालिकाले स्वीकृति दिँदा वातावरणीय प्रभाव मूल्यांकन नगर्नुको कारण पनि अख्तियारले माग गरेको छ ।

चौथो बुँदामा उत्खननका लागि कति राजस्व लिएको हो त्यसको विवरणसमेत माग गरेको छ । यसबारे अख्तियार इटहरी कार्यालयसँग जानकारी लिन खोज्दा अनुसन्धानका बारेमा अहिले भन्न नमिल्ने प्रतिक्रिया आएको छ । 

दमक नगरपालिकाले कानुनविपरीत माटो उत्खननको स्वीकृति दिएकोबारे नयाँ पत्रिकाले २९ माघमा समाचार प्रकाशन गरेपछि अख्तियारले समाचारलाई नै उजुरी मानेर अनुसन्धान थालेको हो । 

दमक नगरपालिकाले पूर्व–पश्चिम राजमार्ग बिस्तारको काम गरिरहेको एभरासकोन–कालिका जेभीको पेटी ठेक्का लिएका निर्माण व्यवसायी भीमबहादुर पौडेलबाट तीन लाख ५७ हजार राजस्व लिएर ६ हजार ७६४.३५ घनमिटर माटो उत्खनन गरी लैजान स्वीकृति दिएको थियो  । जबकि संघीय वातावरण ऐन, नियमावली र कोशी प्रदेशको वन ऐन, नियमावलीअनुसार यति धेरै माटो उत्खननका लागि प्रारम्भिक वातावरणीय परीक्षण अनिवार्य रूपमा गर्नुपर्ने हुन्छ । तर, दमक नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खननका लागि स्वीकृति दिँदै राजस्व लिएको छ ।

ऐन र नियमावलीअनुसार दैनिक ५० देखि पाँच सय घनमिटर माटो उत्खनन गर्नका लागि अनिवार्य प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्छ । संघीय वन नियमावलीको नियम ३ सँग सम्बन्धित अनुसूची ३ अन्तर्गत प्रारम्भिक वातावरणीय परीक्षण खण्ड (ट) को २ मा भनिएको छ– ‘साधारण निर्माणमुखी ढुंगा, डेकोरेटिभ ढुंगा, बालुवा, ग्राभेल, औद्योगिक माटो र साधारण माटोको उत्खननका लागि दैनिक ५० देखि ५०० घनमिटरसम्म  उत्खनन कार्य गर्ने’ उल्लेख छ । दमक नगरपालिकाले १७ पुसमा ६ हजार ७६४ घनमिटर माटो माघ मसान्तसम्म उत्खनन गर्न अनुमति दिएको थियो । १७ पुसदेखि ३० माघसम्म ४३ दिन हुन आउँछ । जसलाई हेर्दा निर्माण व्यवसायीले दैनिक १५७ दशमलव ३५ घनमिटर माटो उत्खनन गरेको थियो । 

पूर्वराजाको यो चिया बगान सरकारबाट चिया बगानका लागि अनुमति लिए पनि यसले माटो बेचबिखन गर्ने, अन्य कृषि बाली लगाउने, त्यहाँ रुखबिरुवा काट्नेलगायत काम गर्दै आएको छ । 

प्रशासनले पनि बनायो छानबिन समिति
अख्तियारको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि समिति बनाएर  छानबिन थालेको छ । जिल्ला प्रशासनले १८ फागुनमा इलाका प्रशासन कार्यालय दमकका प्रमुख झगेन्द्रप्रसाद चापागाईंको संयोजकत्वमा नापी कार्यालय झापा र मालपोत कार्यालय झापाका अधिकृतस्तरका कर्मचारी तथा दमक नगरपालिकाका अधिकृतस्तरका कर्मचारी सदस्य रहने गरी समिति गठन गरेको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले समितिलाई १० दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन भए पनि हालसम्म प्रतिवेदन नआएको बताए । छानबिन समितिका संयोजकसमेत रहेका इलाका प्रशासन कार्यालय दमकका प्रमुख चापागाईंले दमक नगरपालिकाबाट कागजात नआएकाले प्रतिवेदन तयार पार्न नसकिएको बताए ।

‘दमक नगरपालिकाबाट कागजात आएको छैन । कागजात नआई प्रतिवेदन तयार हुँदैन, आएपछि हामी प्रतिवेदन बुझाउँछौँ,’ उनले भने, ‘फिल्डमा गएर निरीक्षण गरिसकेका छौँ । प्राविधिक टोली पनि गएको छ ।’ छानबिन समितिले २२ फागुनमा कागजात र विवरण माग गर्दै दमक नगरपालिकालाई पत्रसमेत लेखेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार समितिको प्रतिवेदन प्राप्त भएपछि अख्तियारमा पठाइनेछ ।
 

सुझावित समाचार