
पालिकाका जनप्रतिनिधिबाटै प्रमुख प्रशासकीय र वडासचिवमाथि कुटपिट हुन थालेको छ । सोमबार मात्र तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि र रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि आक्रमण गरेका हुन् । कुटपिट गर्ने वडाध्यक्ष खानमाथि कारबाहीको माग गर्दै रोहिणीका कर्मचारीले पालिकाको सेवा ठप्प गरेका छन् भने बन्दीपुरका कर्मचारीले अत्यावश्यकबाहेकका सेवा ठप्प पारेका छन् । गुरुङ प्रहरीको नियन्त्रणमा छन् ।
यसअघि २९ माघमा धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएका थिए । त्यसअघि मेयर दासका छोरा रामभजनले शिक्षकलाई हाजिर गराएको भन्दै प्रमुख प्रशासकीय साहलाई कुटपिट गरेका थिए ।
पूर्वसचिव खेमराज नेपाल केही जनप्रतिनिधिमा ‘मैले भनेको मान्नैपर्छ, कानुन त्यसपछिका कुरा हुन्’ भन्ने धम्कीका कारण कर्मचारीसँग टसल बढेको र कुटपिटसम्मका घटना हुन थालेको बताउँछन् । ‘अनुभव बढ्दै जाँदा सुशासन हुँदै जाला भन्ने धारणा थियो । तर, जनप्रतिनिधि र कर्मचारीलाई तालिम पुगेन । घटना बढ्न थाले,’ नेपालले भने, ‘केन्द्र र प्रदेश आफ्नै समस्यामा रुमल्लिएका छन् । पालिकामा अमेल हुँदै जाने हो भने, भोलि झन् समस्या निम्त्याउँछ । व्यक्तिगत रिसइबीमा परिणत हुन पनि सक्छ ।’
कार्यपालिकाको बैठकमै वडाध्यक्षले शाखा प्रमुख कुटे
रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष करम हुसेन खानले सोमबार कार्यपालिका बैठकमै शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेमाथि कुटपिट गरेका छन् । घिमिरेलाई बैठकमा आमन्त्रण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवका अनुसार शिक्षासँग सम्बन्धित विषयमा छलफल भइरहेका वेला वडाध्यक्षले शाखा प्रमुखमाथि हातपात गरेका हुन् । ‘धार्मिक विद्यालयका विषयमा छलफल भइरहेको थियो, शिक्षा शाखा प्रमुखले अनुमति दिन प्रक्रिया अगाडि बढाउनुभएको थिएन । त्यही वेला भनाभन भयो,’ हात हालिहाल्नुभयो,’ अध्यक्ष यादवले भने,’ अध्यक्ष यादवले भने, ‘हामी सबैले थामथुम पारेका हौँ ।’
वडाध्यक्ष खानले यसअघि पनि कर्मचारीलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी गर्ने गरेको र यसपटक कुटपिट नै गरेको भन्दै कर्मचारीले संयुक्त विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका छन् । ‘घटनाका दोषीउपर कारबाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका काम सञ्चालन गर्ने सहज वातावरण नबनेसम्मका लागि यस गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गर्दछौँ,’ रोहिणीका कर्मचारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीले वडाध्यक्षमाथि कारबाहीको माग गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई घटनाबारे जानकारीसमेत गराएका छन् ।
वडाध्यक्ष खानले भने आफूले हातपात नगरेको दाबी गरे । शिक्षा शाखा प्रमुखले पानीको बोतल हान्ने प्रयास गर्दा त्यसलाई रोक्न खोज्दा धक्काधक्की भएको जिकिर उनको छ । खान कांग्रेसबाट निर्वाचित हुन् ।
बिल स्वीकृत नगरेको भन्दै सचिवमाथि कुटपिट, वडाध्यक्ष पक्राउ
तनहुँको बन्दीपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसालमाथि कुटपिट गरेका छन् । एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
माघमा भएको तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल स्वीकृत नगरेको भन्दै गुरुङले सोमबार बिहान कार्यालयमै भुसालको घाँटी अठ्याएर झापड हानेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यका अनुसार भुसाललाई बन्दीपुर अस्पतालमा लगिए पनि उपचार हुन नसकेपछि भरतपुर रेफर गरिएको हो । ‘घाँटीमा र गालामा गहिरो डाम छ, त्यसैले होला वेलावेलामा बर्बराइरहनुहुन्छ । सास फेर्न पनि समस्या भएपछि भरतपुर पठाइएको हो,’ उनले भने ।
गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार केही समयअगाडि वडाध्यक्ष कप भएको थियो । ‘त्यसबारे छलफल हुँदा दुईजनाबिच विवाद भएर धकेलाधकेल भएको रहेछ । भुसालमाथि कुटपिट पनि भएछ, उहाँको घाँटी र गालामा नीलो डाम बसेको देखियो । उहाँ काम्नुभएको पनि थियो, थापाले भने ।
कर्मचारीहरूका अनुसार वडाध्यक्ष गुरुङले अनुमानित खर्च भनेर बिल पेस गरेका थिए । तर, वडासचिव भुसालले शीर्षक र खर्च खुलाएर ल्याउनुपर्ने अडान राखेका थिए । लगत्तै गुरुङले ‘ठुलो कुरा गर्छस्, मलाई चिनेको छैनस्, मैले भनेपछि बिल पास गर्न केको गाह्रो ?’ भन्दै घाँटी अठ्याएर कुटपिट गरेका थिए ।
गाउँपालिकाले कानुनबमोजिम कारबाही गरिदिन जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । ‘नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।
बन्दीपुरका कर्मचारीले पनि संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगर्दासम्म सेवा प्रवाह गर्न असमर्थ रहेको पनि बताएका छन् । ‘कर्मचारीको सुरक्षाको प्रत्याभूति र दोषीउपर कारबाही नभएसम्मका लागि कार्यालयमा अत्यावश्यक सेवाप्रवाहबाहेकका अन्य सम्पूर्ण सेवाप्रवाहका कार्य गर्न असमर्थ रहेको अवगत गराइन्छ,’ कर्मचारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रमुख प्रशासकीयलाई छोराले कुटे, मेयरले गोली हान्ने धम्की दिए
धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासले २९ माघमा प्रहरीकै अगाडि प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्रकुमार साहलाई गोली हान्ने धम्की दिएका थिए । त्यसअघि मेयर दासका छोरा रामभजनले २८ माघमा शिक्षकलाई हाजिर गराएको भन्दै प्रमुख प्रशासकीय साहलाई कुटपिट गरेका थिए । यो विषय प्रशासनमा पुगे पनि कुनै टुंगो लागेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत साहले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएर आएका शिक्षकलाई हाजिर लगाएपछि मेयरका छोराले आफूमाथि आक्रमण गरेको बताए । ‘शिक्षक सेवाबाट आएका शिक्षकलाई हाजिर गर्न किन ढिलो गर्ने भनेर हाजिर गराए । पाँच मिनेटपछि मेयरका छोरा आएर धम्की दिनुभयो । ममाथि आक्रमण भयो,’ उनले भने । तर, मेयर दासले भने छोराले पनि कुटपिट नगरेको र आफूले पनि धम्की नदिएको दाबी गरे । ‘हाम्रो पालिकामा निमावि सामाजिक विषयको शिक्षकका लागि रिक्त दरबन्दी नै छैन, उहाँ (प्रमुख प्रशासकीय)ले मनोमानी गर्न खोजेपछि रोकेका हौँ,’ उनले दाबी गरे । मेयर दास एमालेबाट निर्वाचित हुन् ।
त्यसको भोलिपल्ट प्रहरीमा भएको छलफलमा मेयर दासले आफूलाई गोली हान्ने धम्की दिएको साहले बताए । त्यसयता उनी कार्यालय गएका छैनन् । प्रशासनसँग सुरक्षा माग गरेका छन् । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले घटनाका विषयमा प्रहरी र प्रशासनका कर्मचारीले छानबिन गरिरहेको र प्रतिवेदन प्राप्त भएपछि सोहीबमोजिम कारबाही हुने बताए ।