प्रिन्सिपलकी छोरीले तातो पन्युले डामिन् स्कुलका चार बालकको गाला

बिहिबार, १ फागुन, २०८१
डिजिटल संस्करण

तनहुँमा एक निजी स्कुलका प्रिन्सिपलकी छोरीले चार विद्यार्थीमाथि निन्दनीय र अमानवीय हर्कत गरेकी छिन् । विद्यार्थीलाई सुरक्षा र सम्मान दिनुपर्नेमा प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरीसमेत रहेकी लेखापाल सुष्माले तातो पन्युले चार विद्यार्थीको गाला डामेकी छिन् । बालबालिकामाथि कुनै पनि प्रकारको हिंसा बाल अधिकारको गम्भीर उल्लंघन हो । 

घटना भिमाद नगरपालिका– ६ तनहुँस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलको होे । घटना मंगलबार बिहान साढे ११ बजेतिरको भए पनि बुधबार मात्र सार्वजनिक भएको छ । विद्यार्थीको गालामा अझै डाम छ । चारै बालक कक्षा ४ मा अध्ययनरत हुन् । क्यान्टिनमा पन्यु तताई गालामा पन्यु डाम्ने श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

पीडित एक बालकले बताएअनुसार दोस्रो पिरियड सकिएपछि कक्षा चारका विद्यार्थी आपसमा कुराकानी गरेर बसेका थिए । त्यहीवेला सुष्मा आएर विद्यार्थीको गालामा पन्युले डामेकी हुन् । सामाजिक विषयका शिक्षक गयल भएकाले श्रेष्ठ कक्षामा पुगेकी थिइन् । 

‘साथीहरू गफ गरिरहेका थियौँ, मिस आउनुभयो अनि कक्षामा हल्ला गर्ने भन्दै तातो पन्युले गालामा हान्नुभएको हो,’ ती बालकले भने, ‘तातो पन्युले हानेपछि मसँगै अरू साथीहरू पनि रोए । अहिले पनि गालामा पोलिरहन्छ । विद्यालय जान पनि डर लाग्छ ।’ सुष्माले विद्यार्थीले आफूलाई जिस्क्याएको, भनेको नटेरेको र हल्ला गरेको भन्दै पन्युले डामेको बताएकी थिइन् । विद्यार्थी र श्रेष्ठको घर एउटै ठाउँ होे ।

पीडित एक बालकका अभिभावक विष्णु परियारले विद्यार्थीको गाला डाम्नेमाथि कारबाही हुनुपर्ने बताए । ‘विद्यार्थीले गल्ती गरेकै भए पनि सम्झाउन सकिन्थ्यो, अभिभावकलाई भन्न सकिन्थ्यो होला । तर, चरम शारीरिक यातना दिनु ठिक होइन । अब छोराछोरीलाई कसरी स्कुल पठाउने ?’ उनले प्रश्न गरे ।

प्रिन्सिपल कृष्णदेव श्रेष्ठले विद्यार्थीमाथि कुटपिट, शारीरिक यातना गलत रहेको बताए । उनले भने, ‘यस्तो यातना कसैलाई पनि दिनुहुँदैन, हिजोको घटनाको जिम्मेवारी हामी लिन्छौँ ।’ श्रेष्ठले मंगलबार आफू विवाहमा रहेकाले स्कुल नगएको बताए ।

उनका अनुसार घटनापछि विद्यार्थीलाई स्थानीय अस्पतालमा उपचार गरेर थप उपचार गर्नुपरे पोखरा लैजाने सहमति भएको थियो । ‘त्यतिखेर परिवारले ठुलो समस्या छैन, पोखरा लैजान पर्दैन भन्नु भएको थियो । तर, आज के भएछ मिडियामा जानुभएछ,’ श्रेष्ठले भने । 

पीडितका आफन्त र विद्यार्थीले लेखापालमाथि  कारबाहीको माग गर्दै बुधबार भिमाद बजारमा नाराबाजी गरेका छन् । उनीहरूले यातना दिने शिक्षिकालाई तत्काल कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेका हुन्  

पक्राउ परेकी श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 
पक्राउ परेकी लेखापाल सुुस्मा श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न तनहुँ जिल्ला अदालतले अनुमति दिएको छ । इलाका प्रहरी कार्यालय बेल चौताराका प्रमुख, प्रहरी निरीक्षक पोषण थापाका अनुसार घट्नाबारे बुधबार किटानी जाहेरी आएसँगै आरोपित श्रेष्ठलाई पक्राउ गरी अदालत लगिएको थियो । अदालतबाट पाँच दिनको म्याद थप भएको छ । बालबालिकाले ‘काली’ भनेर अपशब्द बोल्दै गालीगलोज गर्न थालेपछि नजिकै रहेको क्यान्टिनबाट तातो पन्यु ल्याएर विद्यार्थी माथि आक्रमण गरेको सोधपुछका क्रममा खुल्न आएको’ थापाले बताए । बालबालिका ऐन २०७५ को परिच्छेद ८ को दफा ६६ अनुसार बालबालिकाविरुद्धको कसुरमा उनीमाथि अनुसन्धान भइरहेको हो ।

भीमाद नगरपालिकाले पनि छानबिन गर्ने
भीमाद नगरपालिकाका मेयर दधिराज सुवेदीले घटना अचानक र आवेगमा आएर नभइ  सुनियोजित तरिकाले भएको देखिएको बताए । ‘रिसमा हान्ने वा तर्साउने फरक कुरा हो, तर यहाँ त पन्यु तताएर डामिएको छ,’ उनले भने, ‘निकै संवेदनशिल र डरलाग्दो घटना भयो, घट्नामा के को संलग्न थिए पालिकाले पनि छानबिन गर्छ ।’ शिक्षा शाखा प्रमुख सन्दीप पौडेलको संयोजकत्वमा समिति गठन गरेर छानबिन गरिने उनले बताए । ‘समितिले घट्नाको अध्ययन र अनुसन्धान पछि दिएको प्रतिवेदनका आधारमा के गर्ने भन्ने निर्णय गछौ,’ उनले भने । 
 

See More On

सुझावित समाचार