हिमाली पर्यटकीय गाउँहरू ओलाङचुङगोला, याङ्माका बासिन्दाहरू ताप्लेजुङको फुङलिङ सदरमुकामबाट खाद्यान्न सामग्री ओसारिरहेका छन्। तिब्बतको भर पर्दै आएका ती गाउँका बासिन्दाहरू तिप्ताला नाका खुले पनि अहिले तिब्बतभन्दा पनि जिल्ला सदरमुकाम फुङलिङबाट नै खाद्य सामग्री लाने गरेका छन्।
तिब्बतको रिउमा गएर खाद्य सामग्रीहरू ल्याउन बाध्य ती बस्तीका बासिन्दाहरू अहिले भने खाद्यान्न जिल्लाबाट नै जोहो गर्ने गरेका छन्। तिब्बतको मुख ताक्नुपर्ने बाध्यतामा रहेका ओलाङचुङगोला, याङ्माका बासिन्दा अहिले सदरमुकाम फुङलिङबाट खाध्य सामग्री लगेर प्रयोग गर्न पाउँदा स्वाभिमानी भएको महसुस गरेका छन्।
भारत र चीनलाई जोड्ने नेपालकै छोटो विराटनगरको रानीबाट ताप्लेजुङ ओलाङचुङगोला हुँदै चीनको सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक ओलाङचुङगोला पुगेपछि नेपालबाट खाद्यसामग्री ल्याउन सहज भएको बताउँछन्।
कोरोनाको वेला २०७७ साल चैत्र १६ गते बन्द भएको तिप्ताला नाका गत जेठदेखि खुला भएको छ। ओलाङचुङगोला तथा याङ्माका बासिन्दाले अहिले केही मात्रामा तिब्बतबाट खाद्य सामग्री ल्याए पनि धेरै सामग्रीहरू सदरमुकामबाट ल्याउने गरेको बताउँछन्।
फक्ताङलुङ गाउँपालिका ७, ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेले सकेसम्म आफ्नै देशबाट सामान आयात गरेर उपभोग गर्ने बताए। यसअघि नुन, तेललगायतका खाद्य सामग्री तिब्बतको रिउ बजारबाट ल्याउने ओलाङचुङगोला, याङ्माका बासिन्दा अहिले सदरमुकाम फुङलिङबाट लगिरहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।
सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला हुँदै द्विदेशीय सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक पूर्ण रूपमा जोडिएपछि ओलाङचुङगोलावासी खुसी मात्र भएका छैनन्। उनीहरूले जिल्ला सदरमुकामबाट नै खाद्य सामग्री लगेर उपभोग गरी रहेका छन्। पहिला खच्चडमा तीन-चार दिनमा मात्रै पुग्ने खाद्यान्न सामग्रीहरू अहिले एक दिनमा पुग्न थालेको छ। खच्चडमा लगिने सामग्रीहरू अहिले गाडीमा लगिन थालेको छ।