
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका– ३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य चारजना हराइरहेका छन् । एकजनाको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नम्बर ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डिका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दीप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । ११ वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छिन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ।
गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
अँधेरीखोलाको पुल बग्याे
पहिरोले दोरम्बा र गाउँपालिकाको बिचमा रहेको अँधेरीखोलाको पुल पनि बगाएको छ । अन्य थप विवरणहरू आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।
अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरीको टोली र स्थानीयहरू उद्धारमा खटिएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापबाट पनि प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदै छ । सदरमुकाम मन्थलीबाट उक्त स्थानमा पुग्न सवारीसाधनमा करिब चार घण्टा लाग्छ ।