
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले घुस दिएर काम गराउनुपरेको भन्ने विषयमा सदन मौन बसेको भन्दै आपत्ति जनाएका छन्।
आइतबार जनता समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री वीरेन्द्र महतोले प्रतिनिधिसभा बैठकमा बोल्दै आफ्नो छोराको सर्टिफिकेट इक्युभ्यालेन्ट गर्दा पाँच हजार घुस खुवाउनुपरेको गुनासो गरेका थिए।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद केसीले शिक्षामन्त्री र गृहमन्त्रीसमेत उपस्थित सभाले घुस लेनदेनको विषयलाई नजरअन्दाज गरेको भन्दै असन्तुष्टि जनाएका हुन्।
‘आमनागरिकको जिज्ञासा छ– एउटा मन्त्रीले एउटा सांसदले पनि घुस दिनुपर्ने यो मुलुकमा आमनागरिकको अवस्था के होला भनेर चर्चाको विषय बनेको छ,’ उनले भने। रोस्टमबाटै घुस दिएको भन्ने अभिव्यक्तिमा सभामुखले रुलिङ नगरेकोमा समेत सांसद केसीले आपत्ति जनाए।
भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने नारा दोहोर्याउँदै आएका प्रधानमन्त्री केपी ओलीलाई समेत उनले प्रश्न गरे, ‘हिजो प्रधानमन्त्रीज्यूले जवाफ दिँदै गर्दा पनि म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्नुभएको छ। यो पाँच हजारको कुरा के हो ? यो भ्रष्टाचार हो कि होइन ?’
हरेक सरकारी कार्यालयमा भ्रष्टाचार गर्ने दलालहरू रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारकै कारण राजस्वमा समेत प्रभाव परेको जिकिर गरे।