मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ८ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ८ शनिबार १o:५३:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका फिल्म फेस्टिभल सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १o:५३:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ७औँ संस्करण सुरु भएको छ। अमेरिकाको मेरिल्यान्ड राज्यस्थित एएफआई सिल्भर थिएटर हलमा नवीन सुब्बा निर्देशित नेपाली कथानक ‘गाउँ आएको बाटो’ स्क्रिनिङसँगै सुरु महोत्सवको औपचारिक सुरुवात भयो।

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री अफरिन अख्तरले महोत्सव उद्घाटन गरेकी छिन्।

अमेरिकी विदेश मन्त्रालयमा सुरक्षा र अन्तर्राष्ट्रिय मामिला कार्यालयसमेत हेर्ने अख्तर धेरैपटक नेपाल आइपुगेकी छिन्। सिनेमाले छरिएका विविधता र अन्तरसांस्कृतिक विश्वलाई जोड्न सक्ने बताउँदै अख्तरले एक-अर्काको दृष्टिकोणलाई सम्मान गर्न सक्ने बताइन्।

‘गाउँ आएको बाटो’ फिल्मले युनिभर्सल कथा बोकेको र एकअर्काको संस्कृतिलाई जोड्ने बताउँदै उनले अमेरिकी विदेश मन्त्रालयले यसतर्फ काम गरिरहेको बताइन्। समावेशी र खुला समाज निर्माणतर्फ फिल्ममेकरले योगदान दिने बताउँदै उनले यसका लागि अमेरिकाले सरकार मात्र नभएर फिल्म निर्मातासँग पनि सहकार्य गर्ने बताइन्।

अभिनेता दयाहाङ राईले नेपाल अमेरिका फिल्म फेस्टिभलले अमेरिकामा नेपाली फिल्मको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारीले पछिल्लो समय अमेरिकामा दक्षिण एसियाली समुदायको बलियो उपस्थिति रहेको बताउँदै यस्ता फेस्टिभलले महत्त्वपूर्ण भूमिका खेलेको बताए।

फिल्म स्क्रिनिङपछि निर्देशक सुब्बा र अभिनेता राईले दर्शकसँग प्रश्नोत्तर गरेका थिए। उनीहरूले फिल्म निर्माणको अनुभव सुनाउँदै दर्शकको जिज्ञासा शान्त पार्ने प्रयास गरे।

समारोहमा राई समुदायले साकेला प्रस्तुतिसमेत दिए। फेस्टिभल समापन फिल्मको रूपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ। भेनिस फिल्म फेस्टिभलमा विश्व प्रिमियर भैसकेको यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।

मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरी ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

४ दिनसम्म चल्ने महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो। एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा फिल्म प्रदर्शन र छलफल कार्यक्रम हुनेछन्। महोत्सवमा सहभागी हुन नेपाल, जर्मनीसहित मुलुकका फिल्ममेकर भेला भएका छन्।

अमेरिकी डायस्पोराका कलाकार, व्यवसायी र नेपाली समुदायको पनि उद्घाटन समारोहमा बाक्लो उपस्थिति देखियो। फेस्टिभल आयोजक प्रमुख पूर्णसिंह बराइलीले महोत्सवलाई भव्य र प्रभावकारी बनाइएको र दर्शकसँग जोड्न काम भैरहेको बताए।

महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टर क्लास पनि सञ्चालन हुने जनाइएको छ। मेरिल्यान्ड राज्यको ‘योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ। सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ। ‘गाउँ आएको बाटो’ शुक्रबारदेखि नै अमेरिकाका ३० भन्दा बढी सहरका हलमा रिलिज भएको छ।