भारतको निजी कम्पनी नेपाली बिजुली किन्न इच्छुक : टाटा पावरले पठायो दैनिक २०० मेगावाट किन्ने प्रस्ताव

सरकारी कम्पनीलाई मात्रै बिजुली बिक्री गरिरहेको विद्युत् प्राधिकरणलाई पहिलोपटक भारतको निजी क्षेत्रको आकर्षक प्रस्ताव, हाल निर्यात गरिरहेकोभन्दा प्रतियुनिट १.०४ रुपैयाँ बढीमा खरिद गर्न इच्छुक

बिहिबार, १० जेठ, २०८१
डिजिटल संस्करण

भारतको निजी क्षेत्रले पहिलोपटक नेपालबाट बिजुली किन्ने प्रस्ताव पठाएको छ । टाटा पावरले यही बर्खामा दैनिक दुई सय मेगावाट बिजुली किन्ने प्रस्ताव ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पठाएको हो । तीन वर्षदेखि विद्युत् प्राधिकरणले भारतको दुई सरकारी कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन) र पावर ट्रेड  कर्पोरेसन (पिटिसी) इन्डियामार्फत भारतमा विद्युत् निर्यात गरिरहेको छ । बर्खामा पर्याप्त मात्रामा बिजुली दिन सक्ने प्राधिकरणको पत्रपछि भारतीय निजी कम्पनीले पनि इच्छा देखाएको हो । प्राधिकरणले बर्खामा दैनिक १२ सय मेगावाटसम्म बिजुली भारतलाई दिन सक्ने प्रस्ताव पठाएको थियो । सरकार र निजी क्षेत्र साझेदार (बिटुजी मोडेल)मा विद्युत् किन्ने टाटाको प्रस्ताव छ । 

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले भारतको टाटा पावरबाट विद्युत् किन्ने प्रस्ताव आएको जानकारी दिँदै निर्यातका लागि सकारात्मक रहेको बताए । ‘अहिले भारतको सरकारी कम्पनीसँग मात्रै विद्युत् व्यापार भइरहेको छ । तर, त्यहाँको निजी क्षेत्रको कम्पनीले पनि विद्युत् किन्ने प्रस्ताव पठाएको छ,’ उनले भने, ‘त्यो प्रस्ताव हामीले यसै हप्ता नेपाल विद्युत् प्राधिकरणमा पठाएका छौँ ।’

नेपालभित्र र अन्तरदेशीय विद्युत् व्यापार गर्ने अधिकार प्राधिकरणलाई मात्रै छ । त्यसैले यससम्बन्धी आवश्यक कामकारबाही प्राधिकरणले नै अगाडि बढाउने ऊर्जासचिव सुशीलचन्द्र तिवारीले बताए । टाटा पावरले भारतका सरकारी कम्पनीले दिइरहेकोभन्दा बढी मूल्य दिने गरी विद्युत् किन्ने प्रस्तावसमेत गरेको छ । अहिले प्राधिकरणले खुला बजारबाहेकको अवस्थामा एनभिभिएन र पिटिसी इन्डियासँग प्रतियुनिट ५.२५ भारु (८ रुपैयाँ ४० पैसा) मा मध्यकालीन मोडेलमा विद्युत्् बिक्री गरिरहेको छ । टाटाले त्योभन्दा बढी प्रतियुनिट ५.९० भारु (९ रुपैयाँ ४४ पैसा) दिने प्रस्ताव पठाएको छ । जुन हाल कायम दररेटभन्दा प्रतियुनिट एक रुपैयाँ चार पैसा बढी हो ।

ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंह भन्छन्–अहिले भारतको सरकारी कम्पनीसँग मात्रै विद्युत् व्यापार भइरहेको छ । तर, त्यहाँको निजी क्षेत्रको कम्पनीले पनि विद्युत् किन्ने प्रस्ताव पठाएको छ । त्यो प्रस्ताव हामीले यसै हप्ता नेपाल विद्युत् प्राधिकरणमा पठाएका छौँ ।

टाटाले आगामी तीनदेखि पाँच वर्षसम्म बर्खायाम (जुनदेखि अक्टोबरसम्म) मा बिजुली किन्ने र पश्चिम बंगाल राज्यमा विद्युत् बिक्री गर्ने प्रस्तावमा उल्लेख गरेको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले टाटाको प्रस्तावबारे पर्याप्त जानकारी नभएको, तर टाटाबाट प्रस्ताव आएको भए मुलुकका लागि धेरै सकारात्मक भएको बताए ।

‘टाटाको प्रस्ताव आएको भए कार्यान्वयनका लागि केही प्रक्रियागत चुनौती हुन सक्छ । किनकि, भारत सरकारले त्यहाँको खुला बजारमा विद्युत् व्यापार गर्न एनभिभिएन र प्रदेश (राज्य)हरूमा विद्युत् व्यापार गर्न पिटिसी इन्डियालाई एजेन्सीको रूपमा तोकिदिएको छ । तीबाहेकका संस्थाबाट विद्युत्् व्यापार गर्न मिल्दैन । त्यसले केही चुनौती देखिन्छ,’ उनले भने । पुरानो सर्तमा संशोधन गरेर निजी क्षेत्रलाई समेत बिजुली बिक्री गर्न सके राम्रो हुने उनको भनाइ छ ।

प्राधिकरणले ०७८ को बर्खादेखि भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्दै आएको छ । त्यसमा प्राधिकरणले पहिले भारतको ‘डे अहेड’ बजारमा प्रतिस्पर्धी मूल्यमा मात्रै विद्युत् बिक्री गर्दै आएको छ । 

 भारतको निजी  क्षेत्रसँग २२ सय मेगावाट निर्यातको समझदारी
नेपाल र भारतका निजी क्षेत्रबीच विद्युत् खरिद–बिक्री गर्ने समझदारी यसअघि नै भइसकेको छ । ०८० वैशाखमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले काठमाडौंमा आयोजना गरेको पावर समिटमा नेपाल र भारतका निजी क्षेत्रबीच २२ सय मेगावाट विद्युत् खरिद–बिक्री गर्ने समझदारी भएको थियो । इप्पानले नै स्थापना गरेको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)ले भारतका विभिन्न कम्पनीसँग यस्तो समझदारी गरेको थियो । 

तर, सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि लाइसेन्स नदिँदा उक्त समझदारी कार्यान्वयनमा आउन सकेको छैन । संसद्मा विचाराधीन विद्युत् विधेयकमा भने निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने प्रस्ताव छ ।

सुझावित समाचार