१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कतारलाई उपहार दिन लागिएको ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामका हात्ती चराउँदै माहुते ।
२o८१ बैशाख १८ मंगलबार o५:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कतारलाई जोडी हात्ती उपहार दिइँदै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o५:५७:oo

सरकारले खाडी राष्ट्र कतारलाई जोडी हात्ती उपहार दिने भएको छ । आगामी ११–१२ वैशाखमा हुने कतारका राजा शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका क्रममा ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्ती उपहार दिइनेछन् । कतार एयरलाइन्सको जहाजमार्फत उनीहरूलाई लगिनेछ । 

वन मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगानाका अनुसार ०७५ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा नेपालले जनाएको प्रतिबद्धताअनुसार हात्ती उपहार दिइन लागिएको हो । त्यतिखेर हात्ती र शाही बाज उपहार दिने प्रतिबद्धता जनाइए पनि कतारले बाज आवश्यक नभएको बताइसकेको छ । 

‘कतारी राजाको नेपाल भ्रमणका क्रममा हस्तान्तरण गर्ने गरी तयारी अगाडि बढाएका छौँ, हात्ती पठाउन समझदारीपत्रमा हस्ताक्षरको तयारी भइरहेको छ,’ उनले भने । हात्ती उपहार दिन मन्त्रिपरिषद्बाट औपचारिक निर्णय हुन भने बाँकी छ । 

कतारमा नेपाली हात्तीका लागि वातावरणीय अवस्था बुझेर नेपाली प्राविधिक टोली फर्किसकेको छ भने कतारबाट पनि लैजाँदा अपाउनुपर्ने प्राविधिक पक्ष बुझ्न टिम आएको थियो । हात्तीको स्याहारसुसारमा कमी नहोस् भनेर कतारले हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक र माहुते पनि माग गरेको छ । उनीहरूलाई कतार सरकारले आफ्नो देशकै कर्मचारीसरहको सरकारी सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

चितवनको खोरसोरबाट कतारको अलखोर चिडियाखाना पुग्दै ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ 
‘रुद्रकली’को उमेर पाँच वर्ष ६ महिना पुगेको छ भने खगेन्द्रप्रसादको उमेर चार वर्ष सात महिना भएको छ । चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनका अनुसार रुद्रकलीकी आमा पूजाकली र खगेन्द्रप्रसादकी आमा कोशीकली हुन् । दुवैको बुबा भने रोनाल्डो हो । यी दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मिएका हुन् । तालिमप्राप्त यी हात्ती अहिले यहीँ छन् । 

पुनका अनुसार यी हात्तीलाई कतारको अलखोर चिडियाखाना लगेर प्रदर्शनीमा राखिनेछ । घुम्न आउने आगन्तुकसँग घुलमिल गर्न रुचाउने स्वभावका भएकाले उपहार दिन यी हात्ती छनोट गरिएको हो । यिनलाई राखिने कतारको अलखोर चिडियाखानामा हाल विभिन्न ४९ प्रजातिका तीन सय १५ जीवजन्तु छन् । जहाँ गल्फ, बास्केटबल, स्केटिङलगायत विभिन्न खेलका छुट्टाछुट्टै खेलमैदानसहितको उद्यान छ । पुनका अनुसार भाले हात्ती खगेन्द्रप्रसाद ११ सय ९० केजी र पोथी हात्ती रुद्रकली १२ सय केजीका छन् ।

हात्ती स्याहार्न पशु चिकित्सक र माहुते पनि माग, कतारी सरकारी सेवा सुविधा उपलब्ध गराइने
हात्तीको स्याहारका लागि कतारले हात्तीको उपचारसँग अभ्यस्त पशु चिकित्सक र माहुते पनि माग गरेको छ । यसबापत कतार सरकारले आफ्नो देशकै कर्मचारीसरहको सरकारी सेवा–सुविधा प्रदान गर्ने प्रस्ताव गरेको चितवन निकुञ्जका प्रमुख डिलबहादुर पुर्जा पुनले बताए । तर, यसबारे निर्णय भने भइसकेको छैन ।
 
नेपालले कुन–कुन देशलाई वन्यजन्तु उपहार दिएको छ ? 
कूटनीतिक सम्बन्ध निकट बनाउन नेपालले विभिन्न देशलाई उपहारस्वरूप वन्यजन्तु उपलब्ध गराउँदै आएको छ । पछिल्लोपटक ०७३ मा चीनलाई गैँडा उपहार दिइएको थियो । त्यतिखेर नेपालले दुई चरणमा भद्र, रूपसी, सोल्टी र मितिनी नामका गैँडा दिएको थियो ।

वन मन्त्रालयका अनुसार नेपालले चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत, जापान, अस्ट्रियालगाय देशलाई २६ वटा गैँडा उपहार दिइसकेको छ । त्यस्तै, ब्वाँसो, चितुवा, घडियालदेखि अन्डासम्म उपहार दिएको इतिहास छ । यसबाहेक नेपालले विभिन्न देशलाई वन्यजन्तुको अखेटोपहार पनि दिएको छ ।

नेपालमा कति छन् हात्ती ?    
चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका क्षेत्रमा मात्र अहिले ५९ वटा हात्ती छन्  । यसआसपासका क्षेत्रमा करिब ६५ वटा जंगली हात्ती र ७५ वटा निजी हात्ती रहेको चितवन निकुञ्जका वार्डेन डिलबहादुर पुर्जा पुनले बताए । 

देशभरिका निकुञ्ज र संरक्षणमा राखिएको हात्तीको संख्या सयभन्दा बढी छ । मेचीको झापादेखि महाकालीको कञ्चनपुरसम्म पाइने हात्ती भारतबाट समेत सहजै नेपाल भित्रने गर्छन् । 

सो कारण जंगली हात्तीको संख्या यकिन छैन । नेपालमा जंगली हात्तीले बर्सेनि मानवीय र अन्नबालीमा क्षति पुर्‍याउने गरेका छन् । तर, निकुञ्जका र निजी हात्ती भने पर्यटकलाई जंगल घुमाउन र गस्तीका लागि प्रयोग हुने गरेको छ । 
 
 

ad
ad