१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
विष्णु घिमिरे काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o९:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भागबन्डा नमिल्दा लुम्बिनीमा मन्त्रीले पाएनन् जिम्मेवारी

Read Time : > 1 मिनेट
विष्णु घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:३९:oo

लुम्बिनीमा सरकार गठनको एक साता बित्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । माओवादी नेता जोखबहादुर महरा २३ चैतमा मुख्यमन्त्री बने पनि मन्त्रालय भागबन्डामा गठबन्धन दलबीच सहमति नजुट्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । 

२५ चैतमा मुख्यमन्त्री महराको शपथसँगै एमाले, माओवादी र जसपाबाट एक–एकजना मन्त्री नियुक्त गरे पनि उनीहरूले अझै जिम्मेवारी पाएका छैनन् । एमालेका चेतनारायण आचार्य, माओवादीका दीपेन्द्रकुमार पुनमगर र जसपाका भण्डारीलाल अहिर मन्त्री नियुक्त भएका थिए । 

एमाले संसदीय दलका उपनेता एवं एमालेबाट नेतृत्व गरेर सरकारमा सहभागी भएका मन्त्री चेतनारायण आचार्यले एक साताभित्र समिति र मन्त्रिपरिषद्ले पूर्णता पाउने गरी तयारी गरिएको बताए । ‘दलहरूबीच छलफल गरी एक साताभित्र सबै टुंगोमा पुग्छौँ,’ उनले भने । प्रदेश सभाका संसदीय समिति एक वर्षभन्दा बढीदेखि नेतृत्वविहीन अवस्थामा छन् । यहाँ ६ वटा समिति रहेका छन् । नयाँ गठबन्धनले ६ वटा मध्ये दुईवटा समितिको नेतृत्व कांग्रेसलाई दिने गरी तयारी गरेको छ । लेखा र कृषि समिति कांग्रेसलाई दिने तयारी छ । अन्य समितिको सभापतिका बारेमा गठबन्धनको छलफलबाट टुंगो लगाइनेछ । एमालेले तीन र माओवादी केन्द्रले दुईवटा सभापति लिने गरी छलफल भएको उमालेका उपनेता तथा मन्त्री आचार्यले बताए । 

लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य (सांसद)हरूले १७ पुस ०७९ मा शपथ लिएका थिए । यहाँ दोस्रो प्रदेश सभाको पहिलो अधिवेशन १८ पुस ०७९ मा सुरु भएको थियो । यस्तै, ३ माघमा सभामुख तथा उपसभामुख चयन भएका थिए । लुम्बिनीमा पहिलो अधिवेशनको समयमा समिति बन्न नसकेको अवस्थामा दोस्रो अधिवेशनमा समिति गठन भए । तर, तिनले अझै नेतृत्व पाएका छैनन् । 

यहाँ अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सार्वजनिक लेखा समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समिति रहने प्रावधान रहेको छ । लुम्बिनी प्रदेश सभामा ८७ जना सदस्य (सांसद) रहेकोमा एकजना निलम्बनमा छन् । १० वटा दलले प्रदेश सभामा प्रतिनिधित्व गर्छन् ।सरकारका प्रवक्ता दीपेन्द्रकुमार पुनमगरले गठबन्धनमा सामेल दलहरूमध्ये कसले कति र कुन मन्त्रालय लिने भन्ने विषय छलफलमै रहेको बताएका छन् । उनले समितिका सभापतिहरूको टुंगो ४ वैशाखसम्ममा लगाउने र त्यसको एक–दुई दिनभित्रमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । उनले भने, ‘२ वैशाखबाट छलफल हुन्छ र छिट्टै टुंगोमा पुगिन्छ ।’ माओवादी केन्द्रले मुख्य मन्त्रीबाहेक दुई, एमालेले पाँच, जसपाले दुई, स्वतन्त्रले एक मन्त्रालय लिनेबारे छलफल भएको उनले बताए ।

ad
ad