१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सार्वजनिक पदाधिकारीले उपहार लिएमा कारबाहीमा पर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१o:oo

सार्वजनिक पदधारण गरेका व्यक्तिले महँगा उपहार, कोसेली वा कुनै पनि लाभ स्वीकार नगर्न जिल्ला प्रशासन कार्यालय लमजुङले आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गरी प्रशासनले आफू बहाल रहेको पदमा रहेका राष्ट्रसेवक कर्मचारी वा परिवारको कुनै सदस्यले अरूले दिएका उपहार, कोसेली स्वीकार नगर्न आग्रह गरेको हो । 

सार्वजनिक पदाधिकारीसँगको औपचारिक–अनौपचारिक भेटघाटमा संलग्न व्यक्ति तथा निकायले मदिरालगायत महँगा उपहार लिने तथा दिने गरेको गुनासो प्राप्त भएको भन्दै प्रशासनले सार्वजनिक पदधारण गरेका सबैलाई आचारसंहिताको पालना गर्न अनुरोध गरेको हो ।

पदीय दायित्वसँग सम्बन्धित विषयमा कार्यालय परिसरभित्र वा बाहिर उपहार लिने वा दिने गतिविधिमा संलग्न हुनु आचारसंहिताविपरीतको कार्य भएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले कानुनले वर्जित गरेको कार्यमा जोकोही पनि संलग्न हुन नहुने र सार्वजनिक पदधारण गरेका व्यक्ति झनै संलग्न हुन नहुने भएकाले आचारसंहिता पालना गर्न गराउन सबैमा अनुरोध गरिएको बताए ।

आचारसंहिता वा कानुनको उल्लंघन गरेको पाइएमा लिने र दिने दुवै कारबाहीको भागीदार हुने उनको भनाइ छ । ‘आफू बहाल रहेको पदअनुसार सम्पादन गर्नुपर्ने कुनै कामका लागि कुनै राष्ट्रसेवक वा परिवारको कुनै सदस्य वा अरू कसैद्वारा कुनै प्रकारका उपहार, कोसेली वा कुनै किसिमको लाभ स्वीकार गर्ने कार्य भ्रष्ट्राचार निवारण ऐन, २०५९ अनुसार दण्डनीय भएकाले सोविपरीतका कुनै पनि गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ ।
 

ad
ad