१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विश्व बैंक भन्छ– नेपालको आर्थिक वृद्धि ३.३%

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:१४:oo

विश्व बैंकले चालू आर्थिक वर्ष ०८०/८१ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशत वृद्धि हुने अनुमान छ । मंगलबार ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले न्यून निजी लगानीबीच पनि नेपालको आर्थिक वृद्धिमा सुधार आएको जनाएको छ । आगामी आव ०८१/८२ मा ४.६ प्रतिशतको वृद्धि हासिल हुने प्रक्षेपण गरिएको छ ।

गत आव ०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.२ प्रतिशत रहेको थियो । सरकारले यस वर्ष ६ प्रतिशतको वृद्धि गर्ने लक्ष्य राखेको छ । तर, आर्थिक मन्दीले निजी लगानी खुम्चिँदा लक्षित वृद्धि हासिल गर्न कठिन देखिन्छ । मन्दीका कारण पछिल्लो समय आयात र निर्यात नै खुम्चिएको छ । महँगीले उपभोक्ताको माग घटेको सरकारी तथ्यांकहरूले नै देखाएको छ । तर, पर्यटन पुनरुत्थान र जलविद्युत् निर्यातको बढ्दो गतिले आर्थतन्त्रको वृद्धिमा सकारात्मक योगदान पुर्‍याएको विश्व बैंकको ठहर छ । मार्च २०२४ मा कोभिड महामारीयताकै सबैभन्दा धेरै एक लाख २८ हजारभन्दा बढी पर्यटक भित्रिएका छन्, यो संख्या ०२३ मार्चको तुलनामा २९ प्रतिशतले बढी हो । 

यस्तै, गएको वर्षायाममा नेपालले १५ अर्ब २४ करोड रुपैयाँबराबरको बिजुली भारत निर्यात गर्न सफल भएको छ ।  आगामी आर्थिक वर्षमा ४.६ प्रतिशतको वृद्धिदर हासिल हुने प्रक्षेपण गरे पनि चुनौतीपूर्ण रहेको औँल्याइएको छ । यसको मुख्य कारणमा भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरूको सुस्त आर्थिक वृद्धिलाई औँल्याएको छ । यी देशको सुस्त वृद्धिले विपे्रषण आप्रवाह र पर्यटक आगमनमा गिरावट आउन सक्ने सम्भावना रहेको र त्यसले आर्थिक वृद्धिमा चुनौती थप्ने रिपोर्टमा उल्लेख छ । विश्व बैंकले भनेको छ, ‘यसैले व्यावसायिक वातावरणमा उल्लेख्य सुधार गरी धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्‍याउनेछ ।’

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण रहेको औँल्याएका छन् । 

विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रूपमा तयार गरेको हो । ‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरू र विकासशील मुलुकहरूमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ । जुन सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५ मा ६.१ प्रतिशत हुने अनुमान छ । तर, प्रतिवेदनले यो अनुमान झुक्याउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकहरूको वृद्धि अझै पनि महाव्याधिपूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । अहिले सबै दक्षिण एसियाली मुलुकहरूमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ ।

‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रूपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ,’ दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन्, ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरू र विकासशील अर्थतन्त्रहरूले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’

तीव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेभलपमेन्ट अपडेटले व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरणलगायत नीतिगत सुधारमा जोड दिएको छ । जसले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका लागि आधार तयार गर्न सहयोग पुर्‍याउने रिपोर्टमा उल्लेख छ ।

ad
ad