मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o चैत २० मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o चैत २० मंगलबार १५:५७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ सत्तासमीकरणले जनतामा आशा जगाएको छ : खनाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत २० मंगलबार १५:५७:oo

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पछिल्लो समय सरकार निर्माणको क्रममा बनेको नयाँ समीकरणले जनतामा आशा जगाएको बताएका छन्।

समाजवादी मोर्चाले आज राजधानीमा गरेको नेपाली विशेषताको समाजवादसम्बन्धी अन्तर्क्रियामा उनले वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको पछिल्लो सरकारले आशा जगाएको बताएका हुन्।

‘अहिलेको नयाँ समीकरणले देशलाई नयाँ आशावादितातर्फ लान थालेको छ, जनतामा आशा जगाएको छ। वामपन्थीबीचको एकता बढ्दै छ, यो राष्ट्र र जनताका लागि खुसीको कुरा छ,’ उनले भने, ‘यो देशलाई पराधीन बनाउन चाहनेहरूका लागि अहिले टाउको दुःखाइ बनेको छ।’

उनले अब देशलाई साँच्चै परिवर्तन गर्ने हो भने नेपाली विशेषतासहितको समाजवादी कार्यक्रम अघि बढाउनुपर्ने बताए। ‘कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र सहकारीकरण गर्ने कार्यक्रम ल्याऔँ। हाम्रै देशमा आधारित उद्योगहरू, कृषि, जडीबुटी, पानी,  खानीजन्य उद्योगहरू र पर्यटनजन्य उद्योगहरू बनाएर औद्याेगिक क्रान्ति ल्याउन सक्छौँ,’ उनले भने, ‘राष्ट्रिय पुँजीलाई औद्योगीकरणको दिशामा अघि बढाउन सक्यौँ भने नेपाली विशेषताको समाजवादतर्फ अगाडि बढ्न सक्छौँ।’ 

उनले वर्तमान अवस्थामा मुलुकको शिक्षा बर्बादीको अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरे। ‘हामीकहाँ दुई दर्जन विश्वविद्यालय छन् । तर, प्लस टु पास गरेपछि कोही यहाँ बस्दैन । यसलाई सुधार गरेर नयाँ शिक्षानीति ल्याउनुपर्‍याे । आजको आवश्यकताबमोजिमको पाठ्यक्रम विकास गर्नुपर्‍याे,’ उनले थपे, ‘शिक्षाको व्यापारवाद नरोकी समाजवादतर्फ अघि बढ्न सक्दैनौँ । यही कुरा स्वास्थ्यमा पनि लागू हुन्छ ।’ 

उनले बालुवाटार र संसदबाट मात्र नेपाली विशेषताको समाजवाद नआउने भन्दै सडक र संसदलाई प्रयोग गर्नुपर्ने बताए। आमवर्गका जनतालाई जागरुक र एकताबद्ध नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने भन्दै उनले सबै वामपन्थी शक्ति एक ठाउँमा आउन सक्ने मञ्च खोज्नुपर्ने बताए। 

उनले वामपन्थी शक्तिहरू भएकै कारण यो मुलुकको अस्तित्व रहेको भन्दै अब पनि त्यस्ता शक्तिहरू एकताबद्ध हुनुपर्ने बताए। उनले विगतमा नेकपा निर्माण गर्दा ठूलो सम्भावना प्राप्त भए पनि त्यसलाई सदुपयोग गर्न नसकेको चर्चा गरे।

‘हिजो हामीले नेकपा बनायौँ, दश लाख सदस्य थिए। संसदमा दुईतिहाइ बहुमत थियो । संविधान चाहेजसरी संशोधन गर्न सक्ने अवस्था थियो । जस्ता पनि आर्थिक कार्यक्रम ल्याउन सकिन्थ्यो । सुधार गर्न सकिन्थ्यो । तर, त्यो विराट सम्भावना तुहियो,’ उनले भने, ‘त्यसको समीक्षा गरौँ । हामीले इतिहासबाट पाठ सिक्नुपर्छ ।’

उनले मार्क्सवादको विज्ञान र नेपाली समाजको विकास नियमलाई सिर्जनात्मक ढंगले जोड्न सक्यौँ भने नेपाली विशेषताको समाजवाद ल्याउन सकिने बताए।