१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० चैत १५ बिहीबार ०९:५०:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रुपन्देहीमा ७० वर्षीया वृद्धाको हत्या, एक पक्राउ

Read Time : > 1 मिनेट
२०८० चैत १५ बिहीबार ०९:५०:००

रुपन्देहीमा कुटपिटबाट एक वृद्धाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार शुद्धोधन गाउँपालिका– ६ घर भई सियारी बस्ने ७० वर्षीया उजेली लोधको ज्यान गएको छ । जिप्रकाका अनुसार मंगलबार राति अन्दाजी साढे १२ बजे सियारी गाउँपालिका– ७ रामजानकी टोलस्थित चिन्तामणि पाण्डेको घरमा बस्ने ७० वर्षकी उजेली लोध आफ्नै कोठामा सुतिरहेको अवस्थामा कुटपिटमा परेकी थिइन् ।

शुद्धोधन गाउँपालिका– ६ घर भई हाल छोरीज्वाइँसँगै सियारीमा बस्दै आएकी उनी कुटपिटबाट सख्त घाइते भएकी थिइन् । कुटपिटका क्रममा  मृतक कराएको आवाज सुनेर छोरीज्वाइँ उठी उनको  छेउमा पुग्दा सख्त घाइते अवस्थामा देखेका थिए ।

प्रहरीका अनुसार छोरीज्वाइँले एकजना पुरुष भाग्दै गरेको पनि देखेका थिए । उनीहरूले तत्काल प्रहरीलाई खबर गरेको र खबर पाएको १० मिनेटमा प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले मृतकलाई घाइते अवस्थामा तत्काल उद्धार गरी भीम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा उनको अस्पतालमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिप्रकाका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले घटनामा संलग्न व्यक्तिको पहिचान एवं खोजतलास गर्ने क्रममा जिप्रका तथा मातहतसमेतबाट प्रहरी परिचान गरी दुई घण्टाभित्रमा घटनामा संलग्न व्यक्ति पक्राउ परेको बताए । प्रहरीले घटनामा संलग्न २९ वर्षीय प्रभुनाथ थारूलाई निजकै घर कोठाबाट घटनामा प्रयोग भएको हथौडासहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय छपियामा सूचना प्राप्त हुनासाथ तल्काल इलाका प्रहरी कार्यालय छपिया रुपन्देहीबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमान्डमा प्रहरी खटिएको जिप्रकाको भनाइ छ ।

पक्राउ परेका थारूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा ल्याइएको छ । अनुसन्धान तथा कारबाहीको क्रममा  बुधबार जिल्ला अदालत रुपन्देहीबाट १० दिन म्याद थप भएको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ घटनाको विवरण
प्रहरीका अनुसार मृतक विगत दुई वर्षदेखि छोरीज्वाइँसँगै बस्दै आएकी  थिइन् । पक्राउ परेका प्रभुनाथ थारू र मृतक बस्ने स्थान अन्दाजी पाँच सय मिटरको दूरीमा रहेको छ ।प्रभुनाथ आफ्नो घरमा आउँदा जाँदा मृतकले बाटोमा होच्याउने र गाली गरेको भनी विवाद हुने गरेको थियो । होलीको दिन मृतकले हेपेर, होच्याएर, गाली गरेको भनी प्रभुनाथले रिसइबी राखेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रभुनाथले नसालु पदार्थ सेवन गरेर फलामे हथौडा लिई मृतक सुतेकै ठाउँमा गई हथौडाले कुटपिट गरेको र मृतक कराएकाले अरूले थाहा पाउलान् भन्ने डरले तत्काल घटनास्थलबाट भागेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ ।

रातको समयमा मृतक कराएको आवाज सुनेर छोरीज्वाइँ उठी मृतकको  छेउमा पुग्दा मृतक सख्त घाइते अवस्थामा रहेको र एकजना पुरुष व्यक्ति भाग्दै गरेको देखेर तत्काल प्रहरीलाई खबर गरेका थिए ।