१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १५ बिहीबार ०९:२१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

दुईपांग्रेका ६ एसेम्बल प्लान्ट सञ्चालनमा, पार्टपुर्जा आयात ८३ प्रतिशतले वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १५ बिहीबार ०९:२१:००

स्देशमै एसेम्ब्ली उद्योग खुल्न थालेपछि मोटरसाकइल तथा स्कुटरको पार्टपुर्जाको आयातमा उच्च वृद्धि देखिएको छ । चालू आवको सात महिनामा दुईपांग्रे सवारीसाधनको कम्प्लिट्ली नक्ड डाउन (सिकेडी) आयात ६२.५३ प्रतिशतले बढेको हो । मूल्यका आधारमा यस वर्ष सिकेडीको आयात ८३.६२ प्रतिशत बढेको देखिन्छ । माघ महिनासम्म पाँच अर्ब ७६ करोडबराबरको ४४ हजार चार सय २७ युनिट मोटरसाइकल तथा स्कुटरको पार्टपुर्जा (सिकेडी) आयात भएको छ । गत वर्षको सोही अवधिमा तीन अर्ब १४ करोड रुपैयाँबराबरको २७ हजार तीन सय ३४ युनिट सिकेडी आयात भएको थियो । 

भन्सार विभागका अनुसार पछिल्लो सात महिनामा सबैभन्दा धेरै आयात भएका प्रमुख १० वस्तुमा अनएसेम्बल्ड मोटरसाइकल परेका छन् । अनएसेम्बल्ड मोटरसाइकलको आयात बढेपछि राजस्व पनि एक सय १९ प्रतिशतले बढेको देखिन्छ । गत आवको पहिलो सात महिनामा दुई अर्ब ४२ करोड राजस्व उठेकोमा यस वर्ष पाँच अर्ब ३० करोड रुपैयाँ राजस्व उठेको विभागको तथ्यांक छ ।

स्वदेशमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने उद्योगको संख्या सात पुगिसकेको छ । जसमा बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, सिएक्स र होन्डा रहेका छन् । पहिलोपटक ०७४ मा गोल्छा ग्रुपले नवलपरासीको रामग्राममा बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको थियो । पछिल्लोपटक सुजुकी र होन्डाले स्वदेशमै मोटरसाइकल तथा स्कुटर एसेम्बल गर्ने गरी प्लान्ट स्थापना गरेका छन् । हिरो ब्रान्डको आधिकारिक विक्रेता बनेपछि सिजी मोटर्सले नवलपुरको देवचुलीमा एसेम्बल्ड प्लान्ट स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको छ ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि देशभित्र धमाधम प्लान्ट खुल्न थालेका हुन् । स्वदेशमै सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई सिकेडी आयातमा कर छुट दिइएको छ । दुईपांग्रेको सिकेडी आयातमा २० प्रतिशत मात्र अन्तःशुल्क लाग्छ । सरकारले सिकेडी आयात गर्दा अन्तःशुल्कमा दुई तहको छुट दिएर प्रोत्साहन गरिरहेको छ । तयारी मोटरसाइकल तथा स्कुटर आयातमा ४० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ ।

टिभिएसले बाराको सिमरास्थित प्लान्टबाट मोटरसाइकल, स्कुटर र तीनपांग्रे रिक्सा एसेम्बल गर्दै आएको छ । बजाजले पनि मोटरसाइकल, स्कुटर र तीनपांग्रे एसेम्बल गर्छ । दुवै उद्योगमा करिब एक–एक अर्ब रुपैयाँ लगानी भएको सम्बन्धित उद्योगीहरूको भनाइ छ । वीरगन्जमा ५० करोड लगानीमा रोयल इन्फिल्डको एसेम्ब्ली प्लान्ट सञ्चालनमा छ । नवलपरासीको रामग्राममा एक अर्ब लगानीमा यामाहा र हेटौँडामा अफरोड बाई क्रस एक्स ‘सिएक्स’को एसेम्ब्ली प्लान्ट सञ्चालनमा छन् । यस्तै, पर्साको विन्ध्यवासिनी गाउँपालिकामा ५० करोड लगानीमा सुजुकीको एसेम्ब्ली प्लान्ट स्थापना भएर व्यावसायिक उत्पादन सुचारु हुँदै छ ।