Skip This
नेपालमा पहिलोपटक सिएक्स ब्रान्डको ‘डर्ट बाइक’ एसेम्बल सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार o९:४५:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा पहिलोपटक सिएक्स ब्रान्डको ‘डर्ट बाइक’ एसेम्बल सुरु

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o९:४५:oo

देशमै पहिलोपटक उबडखाबड सडकमा कुदाउने ‘डर्ट बाइक’ एसेम्बल सुरु भएको छ । हेटौँडामा एसेम्बल प्लान्ट (फ्याक्ट्री) खोलेर क्रस एक्स ‘सिएक्स’ ब्रान्डका टुरिङ मोटरसाइकल उत्पादन सुरु गरिएको हो । 

सिएक्स आठ वर्षअघि बजारमा आएको हो, जुन स्वदेशी ब्रान्डको एक मात्र अफरोड डर्ट बाइक हो । विगत १८ वर्षदेखि देशमै पहिलोपटक युवाहरूलाई एडभेन्चर राइड गराउँदै आइरहेका पासाङ कम्बाचे शेर्पा तथा उनका साथीहरू आशिषविक्रम गुरुङ र अद्वैतलाल श्रेष्ठको टिमले आठ वर्षअघि आफ्नै ‘सिएक्स’ ब्रान्डमा डर्ट बाइक बजारमा ल्याएका हुन् । ‘क्रस एक्स र सिएक्स दुवैको ट्रेडमार्क हामीसँग छ,’ शेर्पा भन्छन्, ‘यो एक मात्र स्वदेशी ब्रान्डको डर्ट बाइक हो ।’

सन् २०१५ देखि बजारमा आएको सिएक्स मोटरसाइकल पाँच सय युनिटभन्दा धेरै बिक्री भएको शेर्पा बताउँछन् । सिएक्स प्रिमियम सेगमेन्टको फुल अफरोड बाइक हो । तीनवटा मोडेलमा उपलब्ध सिएक्स मोटरसाइकलको मूल्य नै आठ लाख ४५ हजार रुपैयाँबाट सुरु हुन्छ । स्वदेशी ब्रान्डमै अन्तर्राष्ट्रिय गुणस्तरका डर्ट बाइक उत्पादन तथा बिक्री गर्दै आइरहेको शेर्पाले बताए । ‘अब एसेम्बल पनि स्वदेशमै हुने भएको छ, मेड इन नेपाल भनेर बजारमा ल्याउँछौँ,’ उनले भने, ‘तीनवटै मोडेलको हेटौँडा प्लान्टमा एसेम्बल सुरु भएको छ ।’ उनीहरू कोभिड महामारीले करिब तीन वर्ष बजार गुमाउनुपरेपछि स्वदेशमै प्लान्ट स्थापना गर्न कसिएका हुन् । 

नेपालमा प्लान्ट स्थापनासँगै कम्पनीले नयाँ मोडेल ‘सिएक्स ३०० एस’ सार्वजनिक गर्दै छ । यसअघि बजारमा आएका २५० एस र २५० एसई मोडेललाई अपग्रेड गरेर ३०० सिसीमा ल्याउन लागिएको हो । अहिले एउटा मात्र मोडेल २५० आर बजारमा उपलब्ध छ, जसको मूल्य साढे आठ लाख रुपैयाँ रहेको छ । ‘अब एस र एसई मोडेल ३०० सिसीमा  ल्याउँछौँ, २५० आरलाई निरन्तरता दिन्छौँ,’ शेर्पाले भने, ‘तीनवटै मोडेलको कन्सेप्ट, डिजाइनदेखि एसेम्बलसम्म स्वदेशमै हुनेछ ।’ नेपालको डर्ट बाइक बजारमा होन्डापछि सिएक्स दोस्रो स्थानमा रहेको शेर्पाको दाबी छ । यो बाइक अफरोडमा हुइँकिन चाहने ग्राहकको रोजाइमा पर्छ । शेर्पाकै कम्पनी अफरोड नेपालले पनि व्यावसायिक रूपमा विभिन्न ठाउँमा टुरिङ गराउँदै आइरहेको छ । 

हेटौँडामा रहेको पाँच हजार वर्गफिट क्षेत्रफलको एसेम्बली प्लान्टमा मलेसिया पढेर आएका इन्जिनियर कार्यरत छन् । पहिलो चरणमा प्लान्टमा २० जनाले काम पाएका छन् । ‘डर्ट बाइक एसेम्बल गर्नका लागि स्वचालित मेसिनहरू फिटिङ गर्नुपर्दैन,’ उनले भने, ‘यो बाइक ह्यान्ड फिटिङ गरिन्छ, चीनमा पनि ह्यान्ड फिटिङ गरेर ल्याउने हो ।’ कोभिड महामारीमा चीनबाट मोटरसाइकल आयात नै बन्द भयो । जसले गर्दा बजारमा माग हुँदा पनि डेलिभरी हुन सकेन । ‘स्वदेशी ब्रान्डका डर्ट बाइक स्वदेशमै फ्याक्ट्री खोलेर उत्पादन गर्ने सपना थियो, कोभिडका कारण यहीँ फ्याक्ट्री सेटअप गर्न कस्सियौँ’ शेर्पाले भने, ‘अब आफ्नै देशमा एसेम्बल गर्दा ढुुक्क हुन्छ, देशभित्रै प्लान्ट खोलेपछि आयात रोकिएर मार्केट नै गुमाउनुपर्ने डर नहोला ।’

बाइकको सिकेडी (पार्टपुर्जा) बाहिरैबाट आयात हुनेछ । सबै पार्टपुर्जा टेस्टिङ भएर गुणस्तरीय मात्रै ल्याउने कम्पनीको दाबी छ । सिएक्स ठूलो भोल्युममा उत्पादन तथा बिक्री हुने बाइक होइन । यो फरक सेगमेन्टको बाइक हो, जसलाई खोज्दै ग्राहक आफैँ आइपुग्छन् । यो बाइक कुदाउने पनि सीमित हुन्छन् । 

चीनमा उत्पादन गरिए पनि बाइकको गुणस्तरलाई मध्यनजर गरी मलेसिया, युरोप र अमेरिकासम्म उत्पादित पार्टपुर्जा प्रयोग हुन्छन् । ‘हामी चेन मलेसियन आरके ब्रान्डको प्रयोग गर्छौँ, जुन विश्वकै दोस्रो उत्कृष्ट चेन हो, युएसमा उत्पादित नटबोल्ट प्रयोग गर्छौँ,’ उनले भने, ‘पहिला २५० एसई मोडेलमा स्पिडोमिटर पनि अमेरिकन प्रयोग गथ्र्यौँ, हाम्रा बाइकमा स्पेसिफिक पार्टपुर्जा प्रयोग हुन्छन् ।’ झन्डै दुई दशकदेखि टुरिङ एडभेन्चर गराउँदै आइरहेका कम्बाचेले आफ्नै ब्रान्डमा बाइक उत्पादन गर्ने सपना बुनेका हुन् । 

आठवटा ब्रान्ड स्वदेशमै एसेम्बल, प्रतीक्षामा हुन्डाई
नेपालमा एसेम्बल हुने दुईपांग्रे मोटरसाइकलका ब्रान्ड आठ पुगेका छन् । चल्तीका विदेशी ब्रान्डदेखि स्वदेशी स्टार्टअपसम्मले देशभित्रै मोटरसाइकल तथा स्कुटर एसेम्बल/उत्पादन सुरु गरेका हुन् ।

आर्थिक मन्दीका बाबजुद पनि धमाधम दुईपांग्रे र चारपांग्रे सवारीसाधन एसेम्बल प्लान्ट खुल्न थालेका छन् । केही महिनाभित्रै लक्ष्मी ग्रुप नवलपरासी प्लान्टबाट हुन्डाई भेन्यु एसेम्बल सुरु गर्ने तयारीमा छ । हुन्डाईको कारखाना सञ्चालनमा आएपछि एसेम्बल प्लान्ट नौ पुग्नेछन् । हुन्डाईले परीक्षण उत्पादनका लागि सिकेडी (पार्टपुर्जा) आयातसमेत गरिसकेको छ । 

देशमा सबैभन्दा पहिला बजाज मोटरसाइकल एसेम्बल सुरु गरिएको थियो । पाँच वर्षअघि नवलपरासीका खुलेको प्लान्टमा बजाजका अधिकांश मोडल एसेम्बल भइरहेका छन् । सरकारले एसेम्बल उद्योगका लागि सिकेडी (पार्टपुर्जा) आयात गर्दा अन्तःशुल्कमा ५० प्रतिशत छुटलगायत सुविधा उपलब्ध गराएपछि स्वदेशमै एसेम्बल उद्योग खुल्न थालेका हुन् । 

अहिले नवलपरासीको रामग्राममा कारखाना स्थापना गरी यामाहा मोटरसाइकल तथा स्कुटर एसेम्बल सुरु भएको छ । अहिले परीक्षण उत्पादन भइरहेको बताइएको छ । गत महिना मात्रै रोयल इन्फिल्डका बाइक वीरगन्जमा एसेम्बल गर्न सुरु भएको छ । रोयल इन्फिल्डले त्रिवेणी समूहसँगको सहकार्यमा ५० करोड लगानी गरेर वीरगन्जमा एक लाख स्क्वायर फिटको सिकेडी प्लान्ट स्थापना गरेको हो । 

शंकर समूहले बाराको सिमरामा टिभिएसको प्लान्ट सञ्चालनमा ल्याएको तीन वर्षभन्दा बढी भइसक्यो । टिभिएसका बाइक, स्कुटर तथा तीनपांग्रे टेम्पो स्वदेशमै एसेम्बल हुन्छन् । सुन्दर अटो इन्जिनियरिङले आफ्नै ब्रान्ड नेममा विद्युतीय बाइक उत्पादन सुरु गरिसकेको छ । धुम्बाराहीमा रहेको फ्याक्ट्रीबाट ‘गन्तव्य’ ब्रान्डमा बाइक उत्पादन सुरु भएको छ । स्वदेशी ब्रान्डकै विद्युतीय बाइक ‘यात्री’ निकै चर्चामा छ । 

ग्यास एवं पेट्रोलियम व्यवसायबाट उदाएका शिव घिमिरेले आफ्नै मौलिक ब्रान्डमा विद्युतीय दुईपांग्रे उत्पादन थालेका छन् । अहिले ट्रायलका रूपमा एसेम्बल थालेको एसजी अटोक्राफ्टले ‘बाहन’ ब्रान्डमा विद्युतीय स्कुटर तथा बाइक बजारमा बिक्री गर्ने जनाएको छ । स्वदेशी ब्रान्डको डर्ट बाइक क्रस एक्स (सिएक्स) हेटौँडामा कारखाना खोली एसेम्बल सुरु गरिएको छ । पछिल्लो समय नेपालमा अर्बौँ लगानी गर्ने गरी दुई दर्जनभन्दा बढी एसेम्ब्ली प्लान्ट उद्योग विभागमा दर्ता भएका छन् ।

ad
ad