१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o७:२७:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अटोमोबाइलका आठवटा एसेम्बल प्लान्ट  

Read Time : > 2 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o७:२७:oo

- बजाज, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी र सिएक्स मोटरसाइकल उत्पादन 
- नवलपरासीमा हुन्डाईको परीक्षण उत्पादन
-  ‘यात्री’को विद्युतीय मोटरसाइकल सुरु
- चौधरी समूहद्वारा नवलपरासीको देवचुलीमा हिरोको एसेम्बल उद्योग खोल्न प्रारम्भिक वातावरणीय मूल्यांकन सम्पन्न 
- ज्योति समूहद्वारा होन्डा र एमभी, दुगड समूहको अप्रिलिया ब्रान्डको दुईपांग्रे सवारीसाधन उत्पादन गर्न एसेम्बल प्लान्टको गृहकार्य 

सवारीसाधनको बढ्दो मागलाई पूर्ति गर्न व्यवसायीहरूले देशभित्रै मोटरसाइकल र कार उत्पादन गर्ने एसेम्बल प्लान्टमा लगानी बढाउन थालेका छन् । अटोमोबाइल बजारको वृद्धिदर पनि सन्तोषजनक रहेकाले एसेम्बल उद्योगमा धमाधम लगानी बढिरहेको हो ।

६ वर्षयता आधा दर्जन अटोमोबाइल एसेम्बली प्लान्ट सञ्चालनमा आइसकेका छन् । यी प्लान्टहरूले कम्प्लिट नक्ड डाउन (सिकेडी) पार्टपुर्जा आयात गरेर दुईपांग्रे, तीनपांग्रे र चारपांग्रे सवारीसाधन एसेम्बल गर्दै आएका छन् ।

पछिल्लोपटक सुजुकी ब्रान्डको मोटरसाइकल तथा स्कुटरको एसेम्बल प्लान्ट सञ्चालनमा आएको छ । फेब्रुअरीमा ट्रायल उत्पादन गरिएको सुजुकीको प्लान्टबाट मार्चदेखि व्यावसायिक उत्पादन सुरु हुने लगानीकर्ता विशाल समूहका प्रतिनिधिले जानकारी दिएका छन् । यसअघि यामाहा ब्रान्डका मोटरसाइकल–स्कुटरको एसेम्बल प्लान्ट सञ्चालनमा आइसकेको छ ।

स्वदेशमै हुन्डाई ब्रान्डका कार एसेम्बल गर्ने उद्देश्यसहित नवलपरासीमा स्थापना गरिएको प्लान्टमा टेस्टिङको काम सुरु भइसकेको छ । 

अहिले कर्मचारीलाई प्राविधिक विषयमा तालिम–अभिमुखीकरण दिने काम भइरहेको लक्ष्मी हुन्डाईका निर्देशक नीराकार श्रेष्ठले जानकारी दिए । हुन्डाई ब्रान्डका कार नेपालमा सर्वाधिक बिक्री हुनेमध्येमा पर्छन् । 

देशमा पहिलोपटक चिनियाँ अन्नालिफान ब्रान्डको मोटरसाइकल एसेम्बल गरिएको थियो, तर यो ब्रान्डका उत्पादनले बजार पाउन नसक्दा छोटो समयमै प्लान्ट बन्द भएको थियो । त्यसपछि ०७४ मा नवलपरासीको रामग्राममा गोल्छा समूहले बजाज ब्रान्डको मोटरसाइकल–स्कुटर उत्पादनका लागि एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएयता भने अन्य ब्रान्डसमेत आकर्षित भएका हुन् ।

बजाजको एसेम्बल प्लान्ट सञ्चालनमा आएपछि टिभिएस, रोयल इन्फिल्ड, यामाहा, सुजुकी, क्रस एक्स (सिएक्स) र हुन्डाई स्वदेशमै एसेम्बल प्लान्ट स्थापना गर्न जागरुक भएका हुन् ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि देशभित्र धमाधम प्लान्ट खुल्न थालेका हुन् । बजेटमार्फत स्वदेशमै सवारीसाधन एसेम्बल गर्ने उद्योगलाई सिकेडी आयातमा कर छुट दिएको छ । कर छुट पाउने भएपछि व्यवसायी पनि एसेम्बल प्लान्ट स्थापनाका लागि हौसिएका हुन् । बजाज र टिभिएसले एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएपछि अरू कम्पनीलाई पनि दबाब सिर्जना भएको थियो । अहिले प्रतिस्पर्धी ब्रान्डहरूले एकपछि अर्को एसेम्बल प्लान्ट सञ्चालनमा ल्याइरहेका छन् । 

अझै केही कम्पनीहरूले निकट भविष्यमै एसेम्बल्ड प्लान्ट स्थापना गर्ने तयारी थालेका छन् । ज्योति समूहसँग रहेको हिरोको आधिकारिक विक्रेता आफूले लिएपछि चौधरी ग्रुपले एसेम्बल प्लान्ट स्थापनाको काम अगाडि बढाएको छ । कम्पनीले नवलपरासीको देवचुलीमा उद्योग स्थापना गर्ने गरी प्रारम्भिक वातावरणीय मूल्यांकन (आइइई) सम्पन्न गरेको छ । यस्तै, ज्योति समूहले होन्डा र एमभी दुगड ग्रुपले अप्रिलियाको एसेम्बल प्लान्ट सञ्चालनका लागि तयारी गरिरहेका छन् । मन्दीले औद्योगिक क्षेत्रमा चरम निराशा छाइरहेका वेलामा खुलेका एसेम्बल प्लान्टले आशा ल्याउने काम गरेका छन् ।

विशाल समूहअन्तर्गतको भिजी अटोमोबाइल्सले ५० करोड रुपैयाँमा पर्साको विन्ध्यवासिनी गाउँपालिकामा सुजुकीको एसेम्बली प्लान्ट स्थापना गरेको हो । अहिले परीक्षण उत्पादन भइरहेकाले प्लान्टबाट छिट्टै व्यावसायिक उत्पादन सुरु हुने ग्रुपले जनाएको छ । एसेम्बली प्लान्टमा सुजुकी एवेनिस स्कुटरको परीक्षण उत्पादन भइरहेको छ । सुजुकी मोटरसाइकल तथा स्कुटरका सबै मोडल स्वदेशमै उत्पादन गर्ने कम्पनीले जनाएको छ । प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आउँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी साढे दुई सयले रोजगारी प्राप्त गर्ने अनुमान छ । नेपालमा एसेम्बल गरिएका मोटरसाइकल तथा स्कुटरको मूल्यका विषयमा अहिले कम्पनीसँग छलफल भइरहेको ग्रुपको भनाइ छ ।

हुलास अटोक्राफ्टले नवलपरासीको प्लान्टबाट बजाजका दुईपांग्रे र तीनपांग्रे एसेम्बल गर्दै आएको छ । करिब एक अर्ब लगानी भएको प्लान्टको जडित क्षमता प्रतिसिफ्ट तीन सय युनिट एसेम्बल रहेको छ । जगदम्बा मोटर्सले करिब एक अर्ब लगानीमा टिभिएसको सिकेडी प्लान्ट बाराको सिमरामा सञ्चालनमा ल्याएको छ । टिभिएस एसेम्बली प्लान्टबाट दुईपांग्रे मोटरसाइकल, स्कुटर र तीनपांग्रे अटोरिक्सा एसेम्बल हुन्छन् । रोयल इन्फिल्डको नेपाली विक्रेता त्रिवेणी ग्रुपले वीरगन्जमा एसेम्बली प्लान्ट स्थापना गरेको छ । करिब ५० करोड लगानी भएको रोयल इन्फिल्डको प्लान्ट एक लाख स्क्वायर फिटको छ ।

यामाहा मोटरसाइकल तथा स्कुटर विक्रेता मोरङ अटो वक्र्स (एमएडब्लू)ले नवलपरासीको रामग्राममा एसेम्बल प्लान्ट सञ्चालनमा ल्याएको छ । एसेम्बली प्लान्टमा एक अर्बभन्दा बढी लगानी भएको बताइएको छ । यस्तै, अफरोड बाइक क्रस एक्स (सिएक्स)को एसेम्बली प्लान्ट हेटौँडामा सञ्चालनमा छ । लक्ष्मी हुन्डाईले नवलपरासी प्लान्टबाट चारपांग्रे आइसी इन्जिन र विद्युतीय कार एसेम्बल गर्नेछ । यस्तै, सुजुकी चारपांग्रे पनि नेपालमै एसेम्बल गर्ने गरी उद्योग विभागमा कम्पनी दर्ता भइसकेको छ । सिजी होल्डिङ्सले सुजुकी कार पनि देशमै एसेम्बल गर्ने लक्ष्य राखेको छ ।

व्यवसायीले ठूलो लगानी गरेर एसेम्बली प्लान्ट सञ्चालनमा ल्याइरहँदा अटोमोबाइल व्यवसाय भने मन्दीमा छ । अहिले मोटरसाइकल, कारदेखि कमर्सियल गाडीको बिक्री ठप्प छ । पछिल्लो समय विद्युतीय गाडी मात्र किनबेच भइरहेको छ । आइसी इन्जिन गाडीको बिक्री सुस्त छ । नेपालमा यात्री ब्रान्डका विद्युतीय बाइक तथा स्कुटर पनि एसेम्बल भइरहेका छन् । सानो स्केलमा भए पनि स्वदेशी ब्रान्डमै विद्युतीय दुईपांग्रे एसेम्बल सुरु गरिएको हो । ३ पुस ०७६ मा पहिलोपटक विद्युतीय मोटरसाइकल यात्री सार्वजनिक गरिएको थियो । 

ad
ad