Skip This
एसेम्बल उद्योगमा बढ्दै छ लगानी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २८ शुक्रबार १२:१२:oo
Read Time : > 5 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एसेम्बल उद्योगमा बढ्दै छ लगानी

मुस्ताङ म्याक्स, अन्ना लिफान, कस्मिक बाइकको एसेम्बल उद्योग बन्द भएको तितो विगत भुल्दै मोटरसाइकलदेखि टिभीसम्म स्वदेशमै उत्पादन

Read Time : > 5 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार १२:१२:oo

आर्थिक मन्दीका कारण व्यावसायिक जगत्मा निराशा छाइरहेका वेलामा गोल्छा समूहले नवलपरासीमा सामसङ टेलिभिजनको आधुनिक फ्याक्ट्री सञ्चालनमा ल्याएको छ । ०८० वैशाखदेखि सञ्चालनमा आएको फ्याक्ट्रीबाट सामसङ टेलिभिजन एसेम्बल भइरहेका छन् । त्यसअघि गोल्छा समूहले नै नवलपरासीमा बजाज ब्रान्डका मोटरसाइकल र तीनपांग्रे टेम्पो एसेम्बल गरिरहेको छ । 

युवामाझ चर्चित रोयल इन्फिल्डले त्रिवेणी समूहसँगको सहकार्यमा वीरगन्जमा कम्प्लिट्ली नक्ड डाउन (सिकेडी) एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ । यस्तै, शंकर समूहले बाराको सिमरामा टिभिएसको सिकेडी एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको तीन वर्ष भइसक्यो । टिभिएसको प्लान्टबाट बाइक, स्कुटर तथा तीनपांग्रे टेम्पो एसेम्बल भइरहेको छ ।

सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएपछि देशभित्र धमाधम एसेम्बली प्लान्ट खुल्न थालेका छन् । पेट्रोल र ब्याट्रीबाट चल्ने बाइक, स्कुटरदेखि टेलिभिजनलगायतका इलेक्ट्रोनिक सामान स्वदेशमै एसेम्बल हुने गरेका छन् । कोरियन ब्रान्ड हुन्डाईले पनि लक्ष्मी समूहसँगको सहकार्यमा नेपालमै कार एसेम्बली युनिट खोल्न लागेको छ । विदेशबाट सिकेडी आयात गरेर नेपालको फ्याक्ट्रीमा एसेम्बल गरी बजारमा पठाउन थालिएको हो ।

नेपालमा अर्बौँ लगानी गर्ने गरी दुई दर्जनभन्दा बढी सिकेडी एसेम्बली प्लान्ट दर्ता भइसकेको उद्योग विभागको तथ्यांक छ । यामाहा र होन्डाले पनि एसेम्बली प्लान्ट खोल्ने काम अगाडि बढाइसकेका छन् । नेपाली सडकमा सार्वजनिक यातायात बिजुली बस चलाइरहेको सुन्दर ग्रुपअन्तर्गतको सुन्दर अटो इन्जिनियरिङले आफ्नै ब्रान्ड नेममा विद्युतीय बाइक उत्पादन सुरु गरिसकेको छ । धुमबाराहीमा रहेको फ्याक्ट्रीमा उत्पादित ‘गन्तव्य’ बाइक केही दिनअघि सार्वजनिक गरिएको थियो। आफ्नै मौलिक ब्रान्डमा उत्पादित विद्युतीय बाइक ‘यात्री’ निकै चर्चामा छ । युवामाझ लोकप्रिय यात्रीका ८० वटा बाइक उत्पादन भइसकेका छन् । 

रोयल इन्फिल्डले बारामा एक लाख स्क्वायर फिट क्षेत्रफलमा आधुनिक प्रविधिको सिकेडी एसेम्बली प्लान्ट सञ्चालनमा ल्याएको छ । यो रोयल इन्फिल्डको पाँचौँ प्लान्ट हो । भारतको तमिलनाडुमा मुख्य उत्पादन केन्द्र रहेको रोयलको थाइल्यान्ड, ब्राजिल, अर्जेन्टिना र कोलम्बियामा पनि एसेम्बी प्लान्ट सञ्चालनमा छन् । करिब ५० करोड लगानी भएको प्लान्टबाट वार्षिक २० हजार युनिट मोटरसाइकल एसेम्बल गर्न सकिने बताइएको छ । कम्पनीले पहिलो लटमै एसेम्बल गरेको क्लासिक ३५० र स्क्र्याम ४११ नेपालमा शुक्रबार सार्वजनिक गरिएको थियो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा अन्तःशुल्क तथा सडक दस्तुर घटाउने घोषणा गरेको छ । बजेटमार्फत २५० सिसीदेखि ४०० सिसीसम्मका मोटरसाइकलमा पहिले ९० प्रतिशतसम्म अन्तःशुल्क रहेकोमा घटाएर ६० प्रतिशत कायम गरिएको छ । यस्तै, विगतमा लाग्दै आएको ५० हजार सडक निर्माण दस्तुरलाई २० हजार कायम गरिएको छ । जसले गर्दा रोयल इन्फिल्डको एउटै बाइकमा एक लाख ४१ हजार मूल्य घटेको छ । 

विगतमा ६ लाख ४० हजारमा बिक्री हुँदै आएको क्लासिक ३५० बाईकको नयाँ भर्सनको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । स्क्रयाम ४११ को मूल्य ६ लाख ६० हजार तोकिएको छ । नेपालमा उत्पादन सुरु गरेसँगै रोयल इन्फिल्डका पारखी युवाहरुलाई केही राहत दिने गरी कम्पनीले मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ ।

बाराको सिमरामा टिभिएसको फ्याक्ट्री पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । एक अर्बभन्दा बढी लगानी भइसकेको प्लान्टबाट अपाचे बाइक, बहुचर्चित एनटर्क स्कुटर, तीनपांग्रे टेम्पोलगायत एसेम्बल भइरहेको शंकर ग्रुपले जनाएको छ । गोल्छा समूहले नवलपरासीबाट बजाज ब्रान्डका मोटरसाइकल र टेम्पो एसेम्बल गरिरहेको छ । बजाजको एसेम्बली प्लान्टमा पनि एक अर्ब लगानी भएको छ । 

नवलपरासीमा एउटै कम्पाउन्डमा रहेका बजाज र सामसङको फ्याक्ट्रीमा गरी करिब चार सयले रोजगारी पाइरहेका छन् । ‘बजाजका सम्पूर्ण मोडल यहीँ एसेम्बल हुन्छन्,’ गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले भने । सरकारले अन्तःशुल्कमा केही छुट दिएको हुँदा एसेम्बल उद्योगमा आकर्षण देखिएको उनको बुझाइ छ । सरकारले दिएको सुविधा दीर्घकालीन भइदिए स्वदेशमै सहायक पार्टपुर्जाहरू पनि उत्पादन हुन थाल्ने उनी बताउँछन् । तर, टेलिभिजनमा भने त्यति धेरै सुविधा नदिइएको उनको भनाइ छ । 

हुन्डाई गाडीको एसेम्बली प्लान्ट राख्न लक्ष्मी ग्रुपले ०७६ मै पाँच अर्ब १० करोड पुँजीको कम्पनी दर्ता गरेको छ । एमएडब्लू इन्टरप्राइजेजले मोरङको टंकिसिनबारीमा एसेम्बल उद्योग खोलेर यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने भएको छ । एसेम्बली उद्योग स्थापनाका लागि एक अर्ब ५१ करोड रुपैयाँ पुँजी लाग्ने उद्योग विभागमा प्रस्ताव गरिएको छ । मारुती सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता सिजी होल्डिङ्सले बाराको परवानीपुर गाउँपालिका–४ मा प्लान्ट खोलेर दुई, तीन र चारपांग्रे सवारीसाधन एसेम्बल गर्ने गरी १० साउन ०७८ मा सिजी अटोमोटिभ इन्डस्ट्री दर्ता गरेको छ । 

स्वदेशी ब्रान्ड : यात्री, गन्तव्य र बाहन
स्वदेशी ब्रान्डमै पनि मोटरसाइकल उत्पादन सुरु भइसकेको छ, जसमध्ये सबैभन्दा चर्चामा छ, ‘यात्री’ । युवामाझ लोकप्रिय बन्दै गएको ‘यात्री’ यातायात कार्यालयले दर्ता गर्न नमानेपछि झनै चर्चा बटुल्यो । नयाँ सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य पेस गर्नुपर्ने व्यवस्था रहेकाले स्वदेशमा उत्पादित यात्री दर्ता हुन सकेन । तर, पछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पहलकदमीमा कार्यविधि निर्देशिका संशोधन गरेपछि यात्री दर्ता भयो ।

युवा उद्यमी असिम पाण्डेको नेतृत्वमा ३ पुस ०७६ मा पहिलोपटक स्वदेशमै बनेको विद्युतीय मोटरसाइकल ‘यात्री’ सार्वजनिक गरिएको थियो । नेपालमै डिजाइन गरिएको पहिलो मोडल प्रोजेक्ट–जिरो (पी जिरो) सार्वजनिक भयो । यात्रीले दुईवटा मोडल ‘पी जिरो’ र ‘पी वान’ बजारमा ल्याएको छ । ‘पी जिरो’को १९ लाख र पी वानको मूल्य पाँच लाख ६५ हजार रहेको छ । मूल्य तुलनात्मक रूपमा चर्को भए पनि स्वदेशी ब्रान्डप्रति लगाबकै कारण ८० वटा यात्री बिक्री भइसकेका छन् । यात्री टिमले युरोपका सडकमा नेपाली ब्रान्ड कुदाउने सपना बुनिरहेको छ । 

सुन्दर अटोले स्वदेशमै निर्मित विद्युतीय बाइक बजारमा ल्याएको छ । सिंगल चार्जमा १०० किलोमिटर माइलेज दिने ‘गन्तव्य’ बाइक पठाओ र इनड्राइभर चालकले बढी रुचाएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए । चीनको बिएकेद्वारा उत्पादित लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । गन्तव्य आफ्नै मौलिक ब्रान्ड भएको उनको भनाइ छ ।

बाइकको चेसिस र आउटर बडी नेपाली इन्जिनियरले नै डिजाइन गर्छन् । अन्य सिकेडी भने आयात गरिने थापाले बताए। गन्तव्य इभीको मूल्य दूई लाख ५० हजार रुपैयाँ तोकिएको छ । अहिले धुमबाराही फ्याक्ट्रीबाट दैनिक १० वटा मोटरसाइक–स्कुटर एसेम्बल भइरहेका छन् ।  

एलपी ग्यास एवं पेट्रोलियम व्यवसायबाट उदाएका शिव घिमिरेले आफ्नै मौलिक ब्रान्डमा विद्युतीय दुईपांग्रे उत्पादन थालेका छन् । बाराको जितपुर–सिमरामा तीन अर्ब लगानीमा सवारीसाधन, ग्यास सिलिन्डरलगायत एसेम्बल गर्ने उद्योग निर्माण भइरहेको छ । तर, ट्रायलका लागि ललितपुरको एकान्तकुनामा सिकेडी आयात गरेर स्कुटर एसेम्बल थालिसकेको उनले बताए । एसजी अटोक्राफ्टले ‘बाहन’ ब्रान्डमा विद्युतीय स्कुटर–बाइक बजारमा बिक्री गर्ने तयारीमा छ। 

‘बारामा फ्याक्ट्री लगाउने काम भइरहेको छ, तर ट्रायलका लागि एकान्तकुनामा स्कुटर एसेम्बल थालिसकेका छौँ,’ घिमिरेले भने, ‘सडकमा टेस्ट ड्राइभ गर्नुप¥यो, स्पिड र माइलेज पनि टेस्ट गर्नुपर्छ, अन्य टेक्निकल टेस्ट पनि गर्नुपर्ने हुन्छ, यत्तिकै सरकारले दर्ता गरेर नम्बर प्लेट दिँदैन, सबै टेस्टमा सफल भएपछि मात्र बजारमा बिक्री गर्न पाइन्छ, त्यसैले ट्रायलका रूपमा स्कुटर एसेम्बल थालेका हौँ ।’ एसजी अटोक्राफ्टले चिनियाँ विद्युतीय ब्रान्ड ‘ओकला ई–स्कुटर एन्ड बाइक’सँगको साझेदारीमा सिकेडी ल्याएर आफ्नै ब्रान्डमा स्कुटर एसेम्बल गरेको हो । 

एसजी अटोक्राफ्टले विद्युतीय एवं इन्टरनल कम्बसन इन्जिन (आइसिई) दुईपांग्रे, तीनपांग्रे, कार, जिप, एसयुभी, इ–बस, सिक्स ह्विलर्स गाडी उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता भएको छ । ‘अहिलेको मन्दीमा एकैचोटि एग्रेसिभ भएर हुँदैन, एक–एक स्टेप चालेर अगाडि बढ्ने हो,’ उनले भने, ‘अहिले सबै पार्टपुर्जा आयात गरेर एसेम्बल गर्छौँ, भोलिका दिनमा यहीँ केही पार्टपुर्जा उत्पादन गर्न सकिन्छ, स्कुटर, बाइक तथा गाडीको यहीँ डिजाइन तथा चेसिस र आउटर बडी तयार गर्न सकिन्छ ।’

यस्तै, कोरियन कम्पनी मोट्रेक्सले सन् २०१९ मै लगानी बोर्डबाट सवारीसाधन एसेम्बल प्लान्ट लगाउन अनुमति लिएको छ । मोट्रेक्सले वार्षिक ५० हजार सवारीसाधन एसेम्बल गर्ने गरी १० अर्ब ५४ करोड लगानी गर्ने बताएको छ । पूर्ण विदेशी स्वामित्वको यस कम्पनीले अनावश्यक सुविधा माग्दै बार्गेनिङ गरिरहेको हुँदा उद्योग खोल्नेमा शंका गर्न सकिन्छ ।

सामसङ टेलिभिजन
१३ वैशाखमा सामसङले गोल्छा समूहसँगको सहकार्यमा नवलपरासीको रामग्राममा टेलिभिजन कारखाना खोलेको हो । करिव ६० करोड लगानीमा खुलेको कारखानामा ३२ देखि ८५ इन्चसम्मका टिभी उत्पादन हुन्छन् । नेपालमा उत्पादिन सामसङ टेलिभिजनमा ‘एसेम्बल्ड इन नेपाल’ लेख्ने गरिन्छ । कम्पनीले आगामी दिनमा सामसङका वासिङ मेसिनलगायत  उत्पादन गरेर दक्षिण एसियाली बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ ।

नेपालमा बहुराष्ट्रिय कम्पनीले इलेक्ट्रोनिक्स सामान उत्पादन गर्न स्थापना गरेको यो नै पहिलो हो । सामसङसँगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्साउने गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाको भनाइ छ । ‘विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपाली बजारप्रति गहिरो अभिरुचि देखाएको छ, जुन हाम्रा लागि महत्वपूर्ण संकेत हो,’ उनले भने । नयाँ सुविधायुक्त कारखाना नेपालको उत्पादन यात्रामा एक कोसेढुंगा हुनेछ । 

तितो विगत : खुल्दै बन्द हुँदै 
सरकारको अस्थिर नीति र व्यवसायीको महत्वाकांक्षाका कारण विगतमा एसेम्बल युनिट खुल्ने र बन्द हुने प्रक्रिया चल्यो । अस्थिर नीतिकै कारण भक्तपुरमा रहेको हिम इलेक्ट्रोनिक्सको प्लान्ट करिब बन्द हुने अवस्थामै रहेको केही वर्षअघि गोल्छा समूहका अध्यक्ष शेखर गोल्छाले बताएका थिए । तर, पछि उनैले ठूलो लगानीमा सामसङ टिभीको मेगा फ्याक्ट्री नवलपरासीमा सञ्चालनमा ल्याए ।

नेपालमा यसअघि हुलास मोटर्सले विराटनगरस्थित उद्योगबाट मुस्ताङ म्याक्स गाडी उत्पादन गथ्र्यो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा स्वदेशमै बनेको मुस्ताङ म्याक्स चढेपछि यो गाडीको चर्चा चुलिएको थियो । तर, यो उद्योग पनि सरकारको अस्थिर नीतिकै सिकार हुन पुगेको बताइन्छ । अहिले मुस्ताङ म्याक्स उत्पादन हुँदैन ।

नेपालमा दशकअघि अन्ना लिफानको एसेम्बल प्लान्ट सञ्चालनमा थियो । तर, दुई वर्ष पनि नचल्दै अन्ना लिफानको एसेम्बल प्लान्ट बन्द भयो । नेपालमा कुनै समय कस्मिक बाइक उत्पादन हुन्थ्यो । त्यो प्लान्ट पनि बन्द भयो । अन्य चर्चित इलेक्ट्रोनिक्स ब्रान्डका एसेम्बल प्लान्ट पनि नीतिगत अस्थिरतालाई कारण देखाउँदै बन्द भएका छन् । यी उद्योगहरू बन्द हुनुको मुख्य कारण सरकारले उपलब्ध गराउने छुट सहुलियतको अभाव र अस्थिर नीति रहेको बताइन्छ । 

ad
ad