१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १४ बुधबार ०८:०४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बिमा रकमका लागि दुर्घटना गराई हत्या

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १४ बुधबार ०८:०४:००

सम्पत्ति शुद्धीकरण कसुरमा चारजनालाई जनही आठ वर्ष कैद, एकजना मतियार ठहर

बिमा रकम पाउन दुर्घटना गराई बिमितको हत्या गरेको घटनामा विशेष अदालतले चारजनालाई जनही आठ वर्ष र एकजनालाई चार वर्ष सजाय सुनाएको छ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले मंगलबार पाँचजनाविरुद्ध सजाय सुनाएको हो । 

गत ४ चैतमा यस घटनामा संलग्नविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको भन्दै कसुर कायम भएको थियो । विशेष अदालतका अनुसार सपना मल्ल, सञ्जीव अर्याल, दीपक केसी र सरदार अहमद खाँलाई आठ वर्ष कैद हुने सजाय सुनाइएको छ । उनीहरूले सम्पत्ति शुद्धीकरण निवारण ऐनको दफा ३ (१) को (क), (ख), (ग) द्वारा निषेधित कार्य गराएको विशेषको ठहर छ । उनीहरू चारैजनालाई बिगो कायम गर्दै विशेषले बिगोको दोब्बर जरिवाना हुने सजाय सुनाएको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । विशेषले मल्ललाई ७२ लाख १८ हजार, अर्याललाई ८० लाख ३६ हजार र केसीलाई ६० लाख रुपैयाँ बिगो निर्धारण गरेको छ । खाँलाई भने २० लाख रुपैयाँ बिगो कायम भएको प्रवक्ता कार्कीले बताए । 

यसैगरी, रूपक राना मतियार ठहर भएका छन् । उनलाई चार वर्ष कैद तथा बिगो ३६ लाख नौ हजार रुपैयाँ कायम भएको छ । उनले पनि बिगोको दोब्बर जरिवाना तिर्नुपर्ने विशेषले जनाएको छ । प्रतिवादीहरू मल्ल, अर्याल र केसीका नाममा रोक्का रहेको बैंक खाताको रकम र खाँको नाममा रहेको जग्गा जफत हुने फैसला विशेषले गरेको छ । साथै, अर्की प्रतिवादी र मल्लकी आमा छविकुमारी खत्रीका नाममा रहेको जग्गा पनि जफतको फैसला भएको छ । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानपछि गत २३ असोजमा मुद्दा दायर गरेको थियो । बाँकेका सर्जन विकको सवारी दुर्घटना मृत्यु भएको थियो । तर, प्रहरी अनुसन्धानबाट उक्त दुर्घटना नभई योजनाबद्ध हत्या भएको खुलेको थियो । हत्याको पछाडिको मूल कारण विकको बिमा रकम लिने रहेको देखिएपछि सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको हो ।