१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १३ मंगलबार ०९:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

क्षणभरको आवेग नियन्त्रण गर्न नसक्दा दुई युवाको गयो ज्यान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १३ मंगलबार ०९:०१:००

क्षणभरको आवेग नियन्त्रण नहुँदा ललितपुर महानगरपालिका– २६ ढोलाहिटीमा दुई युवकको अनाहकमा ज्यान गएको छ । दुई समूहबीचको झडपमा चक्कु प्रहार हुँदा आइतबार सुनसरीको धरानका २८ वर्षीय रोबस राई र ३० वर्षीय पूजन राईको मृत्यु भएको हो । 

प्रहरीका अनुसार पूजनको समूह आइतबार दिनभर होली खेल्यो । साँझ परेपछि ढोलाहिटीस्थित डिपोपिन नामको रेस्टुरेन्टमा छि¥यो । उनीहरूले मदिरा सेवन गरे । यही क्रममा रेस्टुरेन्टमा रोबसनिकट युवाहरूको पनि प्रवेश भयो । उनीहरूले पनि मदिरा सेवन गरे र होहल्ला गर्न थाले । अर्को टेबलमा रमाइरहेका पूजन समूहका युवाहरूलाई रोबसनिकट युवाहरूको गतिविधि मन परेन र ‘हल खाली गर्न’ भने । 

एसपी नरेश सुवेदी, प्रवक्ता, जिल्ला प्रहरी परिसर ललितपुर
आइतबार ढोलाहिटीमा दुई समूहबीच सामान्य विवाद भएको रहेछ । सोही विवादले झडपको रूप लियो । दुवै समूहले मदिरा सेवन गरेको देखिन्छ । यही क्रममा चक्कु प्रहार भयो । सोही चोटका कारण दुई युवाको ज्यान गयो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

पूजन समूहको निर्देशन रोबसनिकट समूहले मानेन । दुई पक्षबीच विवाद भयो । विवाद चर्किँदै गएपछि रेस्टुरेन्ट सञ्चालक विजय राई अघि बढे । उनले दुवै समूहलाई सम्झाइबुझाइ बाहिर निकाले । यही झोँकमा रोबसनिकट युवाहरूले रोबसलाई फोन गरे । रोबस तुरुन्तै रेस्टुरेन्ट आइपुगे । उनी युवासहित रेस्टुरेन्टभित्र प्रवेश गरे । उनले, ‘मेरा भाइहरूलाई हेप्ने को हो ?’ भन्दै रेस्टुरेन्टका टेबल कुुर्सी बजार्न थाले । 

उनीहरूको हर्कतबाट रेस्टुरेन्ट सञ्चालक विजय उत्तेजित बने । उनले रेस्टुरेन्टको भान्छाबाट चक्कु झिकेर रोबसको छातीमा प्रहार गरे । विजयको चक्कु प्रहारबाट नजिकै रहेका पूजनको तिघ्रामा पनि चोट लाग्यो । छातीको चोटले रोबस  घटनास्थलमै ढले । घाइते उनलाई उनकै युवाहरूले स्कुटरमा चढाएर उपचारका लागि पाटन अस्पताल लगे । तर, त्यसवेलासम्म अत्यधिक रगत बगिसकेको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो । उता पूजनलाई पनि उनकै समूहका युवाहरूले स्कुटरमा चढाए । रगत बगाउँदै सुमेरु अस्पताल लगे । उनको पनि अत्यधिक रक्तश्राव भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भयो । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेश सुवेदीले दुई समूहबीचको झडपले निम्त्याएको विवादले दुई युवाको ज्यान गएको बताए । ‘आइतबार ढोलाहिटीमा दुई समूहबीच सामान्य विवाद भएको रहेछ । सोही विवादले झडपको रूप लियो । दुवै समूहले मदिरा सेवन गरेको देखिन्छ । यही क्रममा चक्कु प्रहार भयो । सोही चोटका कारण दुई युवाको ज्यान गयो । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।’

प्रहरीका अनुसार घटनामा संलग्न १८ युवालाई पक्राउ गरिएको छ । घटनामा उनीहरूको भूमिका र संलग्नताबारे अनुसन्धान भइरहेको ललितपुर परिसर प्रवक्ता एसपी सुवेदीले बताए । उनले भने, ‘यिनीहरूबीच पहिला पनि मनमुटाव रहेछ । सोही मनमुटावले झडपको रूप लियो । यही क्रममा चक्कु प्रहार भयो । घटनामा १८ युवा पक्राउ परेका छन् । घटनाको कारण खोतल्ने काम भइरहेको छ ।’