१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० चैत ११ आइतबार ०८:५८:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाइने

Read Time : > 1 मिनेट
२०८० चैत ११ आइतबार ०८:५८:००

बागलुङका दुई स्थानीय तहलाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ । बडिगाड गाउँपालिका र गलकोट नगरपालिकालाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्यसहित स्वास्थ्य कार्यालय बागलुङ र सम्बन्धित स्थानीय तहले काम अगाडि बढाएका छन् । यस क्षेत्रमा क्षयरोग संक्रमणदर उच्च रहेकाले त्यसको निवारण गर्न अभियान अघि बढाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

कार्यालयका अनुसार क्षयरोगमुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा एकभन्दा कम बिरामीको संख्या भएमा अन्त्य भएको मानिनेछ । क्षयरोगमुक्त बनाउन सरोकारवाला निकाय र स्थानीय सरकारले पालिकाभित्र क्षयरोग खोज पड्तालका कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । 

‘हो हामी क्षयरोग अन्त्य गर्छौँ,’ भन्ने नारासहित बागलुङमा क्षयरोग निवारणको अभियान थालिएको छ । जिल्लाका सबै पालिकामा परीक्षणको दायरा बढाएर क्षयरोग पत्ता लगाउने दर पनि बढ्दै गएको छ । ‘पहिलो चरणमा बडिगाड र गलकोटलाई क्षयरोगमुक्त पालिका बनाउने लक्ष्य लिएका छौँ । हामीले लक्ष्य छिट्टै पूरा गर्नेछौँ । त्यसका लागि ती क्षेत्रमा परीक्षणको दायरा बढाइएको छ,’ घिमिरेले भने ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय र बडिगाड गाउँपालिकाले केही समय पहिले क्षयरोगका बिरामीको खोज–पड्तालका निम्ति शिविर नै आयोजना गरेको थियो । स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा गत वर्ष २ सय ३५ जनामा क्षयरोग संक्रमण भएकोमा चालू वर्षको आठ महिनामै दुई सय २७ पुगेको हो । यही दरले बढ्ने हो भने अघिल्लो वर्षको तुलनामा क्षयरोगीको संख्या झनै वृद्धि हुने अनुमान गरिएको छ । 

क्षयरोगबाट एक वर्षमा चारजनाको मृत्यु
बागलुङमा क्षयरोगकै कारण अघिल्लो वर्ष चारजनाको मृत्यु भएका थियो । यस वर्ष पनि चारजनाको मृत्यु भइसकेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । अघिल्लो वर्ष मृत्यु हुनेमा बडिगाड, बागलुङ, जैमिनी नगरपालिकामा एक–एक र निसीखोला गाउँपालिकामा एकजना थिए । यस वर्ष भने चारैजना बडिगाड गाउँपालिकाका छन् । क्षयरोगका कारण हुने मृत्युदर घटाउन समयमै क्षयरोगको पहिचान आवश्यक रहेको आचार्य बताउँछन् ।

‘बागलुङमा क्षयरोगको नियन्त्रण र अन्त्य गर्न नियमित औषधि सेवन नगर्नु, शंकास्पद देखिएमा खुल्न नसक्नु र ढिलो परीक्षण गराउनुलगायतका चुनौती छन्,’ उनले भने, ‘लुकेर बसेका क्षयरोगी पत्ता लागेमा बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिन्छ । त्यसैले अब परीक्षण र उपचारमा जोड दिने हो ।’

उनले गत वर्षको पुरुष संक्रमितको संख्या बढ्दो रहे पनि यस वर्ष बडिगाडमा सञ्चालन गरिएको शिविरमा महिलाको संख्या बढिरहेको जानकारी दिए । पुरुषभन्दा महिलाको पहुँच कम हुँदा महिलाहरूमा यो संक्रमणदर अझै बढी देखिएको आचार्यले बताए । क्षयरोगमुक्त पालिका घोषणा अभियानका निम्ति जिल्ला समन्वय प्रमुख अमरबहादुर थापाको संयोजकत्वमा क्षयरोगमुक्त पालिका घोषा समिति गठन गरिएको छ ।