१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
टेकराज थामी काठमाडाैं
२०८० चैत १० शनिबार ०६:२४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाँसबारीकाे जग्गा फिर्ता गरिए पनि प्रहरीको अनुसन्धान नरोकिने 

लिखत किर्ते र ठगी मुद्दाअन्तर्गत अनुसन्धान हुँदै 

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० चैत १० शनिबार ०६:२४:००

सरकारले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको हडपिएको १० रोपनी जग्गा आफ्नो नाममा ल्याए पनि प्रहरीको अनुसन्धान भने नरोकिने भएको छ । लिखत किर्ते तथा ठगी मुद्दाअन्तर्गत नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिनाको अनुसन्धान गरिरहेको छ । उद्योगपति तथा सांसद विनोद चौधरी तथा भाइहरू वसन्त र अरुण जोडिएका छन् । 

सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले हडपिएको जग्गा फिर्ता भए पनि प्रहरीको अनुसन्धान नरोकिने बताए । ‘बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यही वेला जग्गा सरकारको नाममा फिर्ता भएको जानकारीमा आएको छ,’ उनले भने, ‘तर, यसले अनुसन्धानलाई प्रभाव पार्दैन, अनुसन्धान जारी रहन्छ । लिखत किर्ते र ठगी मुद्दाअन्तर्गत घटनाको अनुसन्धान भइरहेको छ ।’

एसपी होविन्द्र बोगटी, प्रवक्ता, सिआइबी
बाँसबारी छालाजुत्ता कारखानाको हडपिएको जग्गा सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यही वेला जग्गा सरकारको नाममा फिर्ता भएको जानकारीमा आएको छ । तर, यसले अनुसन्धानलाई प्रभाव पार्दैन, अनुसन्धान जारी रहन्छ । लिखत किर्ते र ठगी मुद्दाअन्तर्गत घटनाको अनुसन्धान भइरहेको छ ।

अनुसन्धानका क्रममा सिआइबीले विनोद र वसन्तविरुद्ध बयान लिइसकेको छ । अरुणसहितको तीनजनालाई भने ६ दिन हिरासतमा राखेर हाजिर जमानीमा छाडेको छ । विनोदविरुद्ध सिआइबी र सरकारी वकिल कार्यालयको टोलीले बिहीबार भद्रकालीस्थित सरकारी वकिल कार्यालयमा साढे तीन घण्टा बयान लिएको थियो । उनका भाइ वसन्तविरुद्ध भने सिआइबीले बुधबार नै बयान लिएको थियो । उनलाई सिआइबीले लाजिम्पाटस्थित कार्यालयमै बोलाएर बयान लिएको थियो । 

बयानपछि विनोद पूर्वनिर्धारित कार्यक्रममा बिहीबार नै श्रीलंका उडेका छन् । विनोदले बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको जग्गा नियमसम्मत नै लिइएको बयान दिएका छन् । ४२ वर्षअघि बाँसबारी क्षेत्र विकट भएको, सोहीअनुसार जग्गाको मूल्यांकन निर्धारण भएको र सेयरबापत उक्त रकम भुक्तानी गरेरै जग्गा लिइएको विनोदले बयान दिएका छन् । 

कार्यालयमा बयानपछि सञ्चारकर्मीसँग पनि चौधरीले बाँसबारी त्यसवेला अनकन्टार भएको हुँदा उक्त क्षेत्रको जग्गाको मूल्य कम पर्ने बताएका छन् । व्यवस्थित निजी लगानीमा मुलुकै ठूलो औद्योगिक ग्राम सञ्चालन गर्ने समूहले १० रोपनी जग्गामा कुदृष्टि राख्ने भन्ने सोच विकृत मानसिकताको उपज रहेको उनको भनाइ थियो । ‘४२ वर्षअघि बाँसबारी अनकन्टार थियो । त्यसवेला त्यहाँको जग्गा कौडीको भाउमा पनि बिक्दैन थियो । त्यसवेला १० रोपनी जग्गाको मूल्य कति नै पथ्र्याे र । देशैकै सबभन्दा ठूलो निजी औद्योगिक ग्राम स्थापना गर्न सक्ने उद्योगीले १० रोपनी जग्गामा कुनै पनि किसिमको कुदृष्टि राख्छ भन्ने सोच्नु नै एउटा विकृत मानसिकताको उपज हो,’ चौधरीले भनेका छन् । 

बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा च्याम्पियन सु फ्याक्ट्री अर्थात् तत्कालीन ‘च्याम्पियन फुटवेयर लिमिटेड’को नाममा हडपिएको थियो । जसको संस्थापक सेयरहोल्डर विनोद चौधरी, वसन्त चौधरी, अरुण चौधरी, लुनकरणदास चौधरी, महेशकुमार अग्रवाल, बाँसबारी छाला तथा जुत्ता कारखाना र गंगादेवी चौधरी थिए । लिमिटेडको कुल पाँच हजार कित्ता सेयरमध्ये विनोद र वसन्तको दुई–दुई सय कित्ता थियो । 

त्यस्तै, विनोद र वसन्तका भाइ अरुण चौधरीको दुई सय, बुबा लुनकरणदासको दुई हजार एक सय, भिनाजु महेशकुमारको दुई सय, आमा गंगादेवीको एक सय कित्ता सेयर थियो । बाँकी दुई हजार कित्ता सेयर भने बाँसबारी छालाजुत्ता कारखानाको नाममा थियो । सेयरबापत कारखानाले १० रोपनी जग्गा दिएको थियो । जसको मूल्यांकन मात्रै २० लाख रुपैयाँमा गरिएको थियो । जब कि फुटवेयर लिमिटेडको सेयर त्यतिवेलै प्रतिकित्ता एक हजार रुपैयाँ तोकिएको थियो । 

अहिले च्याम्पियन फुटवेयर लिमिटेड बन्द भइसकेको छ । जग्गा भने हाल सिजी चाँदबाग रेसिडेन्सी प्रालि च्याम्पियन फुटवेयर प्रालिको नाममा छ । जसको सम्पूर्ण सेयर अरुण चौधरीको नाममा छ । अरुणले अहिले उक्त जग्गामा चाँदबाग नामको स्कुल चलाइरहेका छन् । जग्गा गैरकानुनी ढंगले हडपेको अभियोगमा प्रहरीले गत १८ माघमा अरुणलाई पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि अरुणसहितको टोली साधारण तारेखमा छुटिसकेको छ ।

०२० सालमा चीन सरकारले स्थापना गरेको छालाजुत्ता कारखानाको १० रोपनी जग्गासँग फुटवेयरले ०४३ मा सेयर साटेको थियो । तर, फुटवेयर तीन वर्ष पनि चलेन । लगातार घाटा देखाएर छालाजुत्ताको सेयर फुटवेयरले पछि आफ्नै नाममा नामसारी गरेको थियो ।

सिआइबीले विनोदका भाइ अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत १८ फागुनमै पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनलाई हाजिर जमानीमा छाडिएको छ ।