१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
समाचार डिजिटल संस्करण

बयानपछि सांसद चौधरीको प्रतिक्रिया– मैले चरित्रको प्रमाणपत्र कसैलाई बुझाउनुपर्दैन, खासगरी स्टन्टबाजी गर्नेहरूलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:१३:oo

कांग्रेस सांसद एवं अर्बपति व्यापारी विनोद चौधरीले आफ्नो चरित्रको प्रमाणपत्र कसैलाई बुझाउन नपर्ने प्रतिक्रिया दिएका छन् । 

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा आज बिहान सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरूसँग आफ्नो चरित्रको प्रमाणपत्र कसैलाई बुझाउन नपर्ने प्रतिक्रिया दिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बोलाएपछि उनी सरकारी वकिलको कार्यालयमा बयान दिन पुगेका थिए । 

‘सिआइबीले मलाई यहाँ आउन मौखिक जानकारी गराएको थियो । म एउटा जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको नाताले म यहाँ सहयोग गर्न उपस्थित भएँ,’ उनले भने । सांसद चौधरीले व्यवसायीलाई ‘स्टन्टबाजी गर्नेखालका गतिविधिबाट टाढा राख्नुपर्ने पनि बताए । 

उनले आफूले सबै कुरा राखेर आएको भन्दै व्यवसायीलाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्ने बताए । ‘यो जटिल परिस्थितिमा मजत्तिको मान्छे यहाँ उभिएर यसो भनिरहँदा विश्वकरका व्यवसायीलाई के सन्देश जाला ?,’ उनले भने, ‘मेरो ४५ वर्षको व्यावसायिक यात्राको चारित्रिक सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन । खासगरी स्टन्टबाजी गर्नेहरूलाई ।’

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै हिजो सिआइबीले संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएको थियो । 

त्यसको भोलिपल्ट सिआइबीले जिल्ला सरकारी वकिलको कार्यालयमा चौधरीसँग बयान लिएको हो । अर्बपति उद्योगी चौधरी प्रतिनिधिसभामा कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । 

तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा चौधरी समूहले ०४३ मा हडपेको थियो । उक्त जग्गामा समूहले सिजी चाँदबाग स्कुल चलाइरहेको छ ।

अनुसन्धानका क्रममा सिआइबीले विनोद चौधरीका भाइ अरुण, तत्कालीन बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुरलाई गत १८ माघमै पक्राउ गरेको थियो । ६ दिनको हिरासतपछि उनीहरूलाई हाजिरी जमानीमा छाडिएको छ । 

ad
ad