१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
सोना मुजिकारोभा
२०८० चैत ९ शुक्रबार १०:२३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पूर्वी–युरोपमा आप्रवासनसम्बन्धी नयाँ भाष्यको आवश्यकता

Read Time : > 2 मिनेट
सोना मुजिकारोभा
२०८० चैत ९ शुक्रबार १०:२३:००

मध्य र पूर्वी युरोपेली (सिइई) सरकारले लामो समयदेखि आफ्नो कडा आप्रवासन नीतिमा गर्व गर्दै आएका छन् । यी क्षेत्रका मुलुक तेस्रो देशका नागरिकको आगमनले सामाजिक स्थिरतालाई कमजोर बनाउने, सांस्कृतिक एकतालाई खतरामा पार्ने र सुरक्षा जोखिम पनि खडा गर्ने तर्क गर्छन् ।

सन् २०१५ मा युरोपेली संघको आप्रवासन संकटको उचाइमा चार भिसेग्राड (भी ४) देश (चेक गणतन्त्र, हंगेरी, पोल्यान्ड र स्लोभाकिया) ले बोझ साझा गर्ने उद्देश्य राखेको क्षेत्रको शरणार्थी–कोटा प्रणालीको कडा विरोध गरेका थिए । जनसंख्या, कुल गार्हस्थ उत्पादन र अन्य कारकको आधारमा प्रत्येक युरोपेली संघका देशमा शरणार्थीका निश्चित संख्या तोकिएको छ । हंगेरी र स्लोभाकिया योजनाको सबैभन्दा मुखर आलोचक हुन्, यिनका अनुसार अनिवार्य शरणार्थी कोटा राष्ट्रिय सार्वभौमसत्तामाथिको आक्रमण हो ।

तथापि सिइई मुलुक विशेषतः पोल्यान्ड र चेक गणतन्त्रले सन् २०२२ मा रुसी अतिक्रमणका कारण बेदखल भएका लाखौँ युक्रेनीलाई स्वागत गरेका थिए । तर, यो उदारताका बाबजुद भी ४ नेताले आप्रवासनमा कडा रबैया जारी राखेका छन् । युरोपको इसाई मूल्य–मान्यताको स्वघोषित अगुवा एवं हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान एक सजातीय हंगेरी समाजको दर्शनलाई प्रोत्साहन गर्छन् । स्लोभाकियामा प्रधानमन्त्री रोबर्ट फिकोको वाम–लोकप्रिय स्मेर–सोसल डेमोक्रेसी पार्टीले युक्रेनी शरणार्थीविरुद्धको असन्तुष्टिलाई प्रयोग गरेर गत वर्षको चुनाव जितेको थियो । 

प्रश्न आप्रवासन राम्रो वा नराम्रो भन्ने होइन, गन्तव्य देश र तेस्रो देशका कामदारलाई कसरी फाइदा पु¥याउन सकिन्छ भन्ने हो

आप्रवासीबारे नकारात्मक भाष्यले ओर्बान र फिकोजस्ता नेतालाई मतदातालाई अन्य समुदायबाट डर, आर्थिक चिन्ता र अस्थिर संसारमा स्थिरताको चाहना प्रयोग गर्दै चुनावी समर्थनलाई सुदृढ गरेका थिए । तर, यसबाट यस क्षेत्रले दक्ष कामदारको तीव्र अभाव सामना गरिरहेको तथ्यलाई परिवर्तन गर्दैन । श्रमिकको कमी एक प्रमुख मुद्दा हो, जसमा राजनीतिज्ञ धेरै हदसम्म मौन छन् ।

वास्तवमा सिइई मुलुकले विदेशीको प्रवेश र रोजगारीलाई सक्षम बनाउन आफ्ना अध्यागमन नियम र प्रक्रियालाई उदार बनाइरहेका छन् । जनवरीमा हंगेरीले तेस्रो देशका आवेदकलाई आकर्षित गर्न खोज्दै नयाँ अध्यागमन कानुन निर्माण ग¥यो, जसले नयाँ छोटो अवधिको अतिथि र दक्ष कामदार भिसाको प्रावधान राखेको छ । हंगेरीसँग थोरै विकल्प छन् ।

द्रुत रूपमा बढ्दो वृद्ध जनसंख्याका साथ आगामी वर्षमा गम्भीर श्रम अभावले विद्युतीय सवारीसाधन (इभी) उत्पादन केन्द्र र रक्षा औद्योगिक आधार बन्ने सरकारको महत्वाकांक्षामा बाधा पुर्‍याउनेछ । सन् २०२२ मा चीनको सिएटिएलले हंगेरीमा सात अर्ब ९० करोड डलरमा इभी ब्याट्री प्लान्ट निर्माण गर्ने घोषणा गरेको छ र यो लगानी युरोपमा अहिलेसम्मको सबैभन्दा ठूलो हो । सन् २०२३ मा चीनको बिवाइडीले हंगेरीमा इभी कारखाना खोल्ने आफ्नो योजना साझा गरेको छ । जर्मन रक्षा ठेकेदार राइनमेटलले हालै हंगेरीको जालेगर्सजेगमा नयाँ कारखाना खोलेको छ । यी सबै उद्यमलाई पर्याप्त मानव पुँजी आवश्यक पर्नेछ ।

चेक गणतन्त्रले सेप्टेम्बर २०२२ मा तेस्रो–देशका नागरिकलाई पनि आकर्षित गर्न खोजेको छ । चेकले ‘महत्वपूर्ण रूपमा आवश्यक’ श्रमिकका लागि भर्ती प्रक्रिया सरल बनायो र विदेशीका लागि काम गर्ने अवस्था सुधारिएको निरीक्षण गर्‍यो । गत गर्मीयाममा चेकले इयू ब्लु कार्ड निर्देशनसँग आफ्नो कानुनमा सामञ्जस्य गरेको थियो, जसले तेस्रो देशका योग्य कामदारका लागि प्रवेश र निवास अवस्थाको पालना गर्छ । यसैबीच सन् २०१९ मा पोल्यान्डले अस्थायी बसोवास र कार्य अनुमति प्राप्त गर्नेलाई स्थायी बसोवास दिने पोलिस अर्थतन्त्रका लागि वाञ्छनीय मानिने पेसालाई पछ्याउन सजिलो बनायो ।

त्यसैगरी स्लोभाकियामा विदेशी श्रमिकको संख्या सन् २०१३ र २०२२ बीच सात गुणाले बढेको छ । बेलायती कार निर्माता जगुआर ल्यान्ड रोभरजस्ता केही उत्पादक विदेशबाट आउने श्रमिकमा निर्भर छन् । र, धेरैजसो श्रमिक भारत वा काजकिस्तानबाट आउँदै छन् । स्लोभाकियामा अझै पनि ८० हजारभन्दा बढी मेकानिकल इन्जिनियरिङ, यातायात, स्वास्थ्य–सेवा, र आइटी क्षेत्रका पद रिक्त छन् ।

श्रमको अभाव झन् चर्किने सम्भावना छ । भविष्यका उद्योगमा सीपको माग मात्र बढिरहेको छ । यसैबीच प्रजनन दर घट्दै गएको छ र युवा पूर्वी युरोप छाडेर अन्यत्र राम्रो अवसर खोज्दै छन् । यी योग्यता रिक्तता पूर्ति गर्न सिइई देशले आफ्ना आप्रवासन नीतिमा सुधार गर्नुपर्छ । यसो गर्न असफल भएमा व्यापक आर्थिक पीडा निम्तिन सक्छ, किनभने यी मुलुकले जिडिपी वृद्धि र कर राजस्व बढाउन सक्ने नयाँ लगानी गुमाउन सक्छन् ।

प्रश्न आप्रवासन राम्रो वा नराम्रो हो वा होइन भन्ने होइन, गन्तव्य देश र तेस्रो–देशका कामदारलाई कसरी फाइदा पुर्‍याउन सकिन्छ भन्ने हो । नीति–निर्माताले आवश्यक सीप पहिचान गर्न निजी क्षेत्रसँग परामर्श गरेर आप्रवासन लाभलाई अधिकतम बनाउनमा केन्द्रित हुनुपर्छ । इयू ब्लु कार्ड जस्ता विद्यमान संयन्त्रका लागि प्रक्रियालाई सुव्यवस्थित गर्ने र मेल खाने मापदण्डले श्रम अभावलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न सक्छ । नयाँ विश्वव्यापी सीप योजनाले विशेषतः गैरयुरोपेली संघका देशसँग वर्तमान र भविष्यको श्रम बजारको आवश्यकता पूरा गर्नुका साथै बौद्धिक पलायन रोक्न सक्छ । सिइई सरकारलाई विदेशी कामदार चाहिन्छ । त्यसैले, तिनले आप्रवासीप्रति वैरभाव बन्द गर्नुपर्छ । नेताले मतदातालाई मनाउन आप्रवासनको आर्थिक लाभमा जोड दिनुपर्छ ।

(मुजिकारोभा मध्य र पूर्वी युरोपमा केन्द्रित राजनीतिक अर्थशास्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट