१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
रासस काठमाडौं
२०८० चैत ८ बिहीबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अनधिकृत रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा शाखा अधिकृतविरुद्ध मुद्दा

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
२०८० चैत ८ बिहीबार १४:३२:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रूपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ।

आयोगका अनुसार, कार्की ०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए। आयोगले ०७९ चैत ३० गतेसम्मको सम्पत्तिबारे अनुसन्धान गरेको छ। सो अवधिमा कार्कीको कुल आम्दानी रु. तीन करोड ७७ लाख १३ हजार ६ सय ४६ बराबर छ।

यस्तै, सो अवधिमा शाखा अधिकृत कार्कीले रु. ६ करोड ९८ लाख ४६ हजार ६ सय तीनबराबर खर्च गरेको पाइएको छ । आम्दानीभन्दा खर्चको मात्रा बढी भएको र त्यसको स्रोत खुलाउन नसकेको पाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार आयोगले रु. तीन करोड २१ लाख ३२ हजार नौ सय ५६ बराबरको रकमको स्रोत खुलाउन नसकेको ठहर गरेको छ। 

आयोगले शाखा अधिकृत कार्कीकी श्रीमती देवका अधिकारीको नाममा राखेको सम्पत्तिसमेत जफत गर्ने माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता घिमिरेले जानकारी दिए।