१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ३ शनिबार ०६:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

‘कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसँग समीकरण र सहकार्य’

माओवादी स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ३ शनिबार ०६:५८:००

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन कमजोर बन्न नदिन एमालेसहित कम्युनिस्टहरूको नेतृत्वमा नयाँ सत्तासमीकरण बनेको दाबी गरेका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पछिल्लो सत्तासमीकरणबारे ब्रिफिङ गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भारतको पश्चिम बंगालबाट पाठ सिक्नुपर्ने बताए ।

काम गर्ने हुटहुटी हुँदाहुँदै कांग्रेसको असहयोगका कारण गठबन्धन टुटेको दाबी गर्दै उनले सरकारसामु जनमुखी बजेट र कार्यक्रम ल्याएर जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने चुनौती रहेको बताए । ‘कांग्रेसबाट सरकार सञ्चालनमा सहयोग भएन । अर्थमन्त्रीले साथ दिनुभएन । परराष्ट्रमन्त्रीले पनि नेपालको हित हुने गरी परराष्ट्र नीति सञ्चालनमा साथ दिनुभएन ।

सरकारलाई नयाँ गतिका साथ अगाडि बढाउन कोसिस गर्दा शेरबहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठनको कुरै सुन्न चाहनुभएन,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै स्थायी समिति सदस्य गणेश शाहले नयाँ पत्रिकासँग भने, ‘यो परिस्थितिमा एमालेसँग मिलेर जानुपर्ने स्थिति बन्यो, नेपालका कम्युनिस्टहरू मिलेर नयाँ ढंगले अगाडि नबढ्ने हो भने भारतमा पश्चिम बंगालजस्तै कम्युनिस्ट आन्दोलन कमजोर हुन सक्छ भन्ने रिअलाइजेसन भयो र यो नयाँ समीकरण बन्यो ।’

प्रधानमन्त्री प्रचण्डले अहिलेको परिवर्तित राजनीतिक परिस्थिति गठबन्धन नभएर नयाँ समीकरणसहित एमालेसँग सहकार्य भएको पनि प्रस्ट्याएका थिए । लामै समयसम्म अगाडि बढ्ने गरी विचारले नजिक एमालेसँग सहकार्य भएको भन्दै उनले त्यसअनुसार बोली र व्यवहारमा परिवर्तन ल्याउन जरुरी भएको आवश्यकता पनि औँल्याएका थिए । 

प्रचण्डले सरकारले तत्काल न्यूनतम साझा कार्यक्रम ल्याउने र जनमुखी बजेट ल्याउने गरी तयारी गरिरहेको बताए । सरकारलाई सहयोग हुने गरी वातावरण बनाउन पनि उनले नेताहरूलाई निर्देशन दिएका थिए । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा धोका दिएको र हिन्दु धर्मको मुद्दा उचाल्न खोजेकाले पनि कम्युनिस्टहरू एक ठाउँमा उभिने परिस्थिति निम्तिएको प्रधानमन्त्रीले बैठकमा विश्लेषण सुनाएका थिए । बैठकले पार्टीको विधान सम्मेलनले सुझावसहित पारित गरेको विधान मस्यौदालाई अन्तिम रूप दिएको छ ।