१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज

माओवादीका दाहाल र कांग्रेसका शर्मा उम्मेदवार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o८:oo

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका केन्द्रीय सदस्य नारायण दाहाल र कांग्रेस नेता युवराज शर्माले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा मंगलबार हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनबाट माओवादीका दाहालले उम्मेदवारी दिएका हुन् भने प्रमुख प्रतिपक्षी कांग्रेसबाट शर्माले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । 

माओवादीका गोपी सार्की अछामीको प्रस्तावमा उम्मेदवार बनेका दाहाललाई एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिदले समर्थन गरेका छन् । कांग्रेसका आनन्दप्रसाद ढुंगानाले अध्यक्षमा प्रस्ताव गरेका उम्मेदवार शर्माको समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् ।

अध्यक्षमा उम्मेदवारी दिँदै दाहालले आफ्नो योगदानअनुसार पार्टीले जिम्मेवारी दिएको र इमानदारपूर्वक निर्वाह गर्ने बताए । आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भनेकोमा उनले असन्तुष्टि जनाए ।

आफू ०३६ देखि राजनीतिक गतिविधिमा लागेकोमा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी पटक–पटक प्रश्न गर्नु न्यायोचित नभएको जिकिर गरे । ‘त्यसवेला यदि दाजुभाइको नाता लगाउनेले युद्धमा हिँड्दा दाइ हिँडेको छ, परिवारका सबै किन हिँड्नुपर्‍यो भनी किन प्रश्न नगरेको ?’ दाहालले प्रश्न गरे । त्यसवेला युद्धमा नलाग्दा आफ्नो परिवार बचाउन लाग्यो भन्ने नेतृत्वलाई लाञ्छना लाग्ने गरेको उनले सुनाए । ‘मैले आफ्नो योगदानअनुसारको जिम्मेवारी पाउन लागेको छु, सिंगो पार्टीपंक्तिले एकमतका साथ मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसलाई अन्यथा लिन मिल्दैन,’ दाहालले भने ।

अर्का उम्मेदवार शर्माले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल रहेको दाबी गर्दै अध्यक्षमा निर्वाचित भए संसदीय प्रणाली र पदको गरिमा बढाउने ढंगबाट कार्यसम्पादन गर्ने बताए । आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको उनको भनाइ थियो । ‘लोकतन्त्रमा कसैको जित वा हार हुँदैन । सबै जित्छन्, सबै हार्छन् । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो, पार्टीले आफ्नो उम्मेदवारीको निर्णय पहिलोपटक गरेकाले अर्को उम्मेदवार भन्ने प्रश्न हुँदैन,’ उनले भने । अध्यक्षको निर्वाचनका लागि मंगलबार बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बोलाइएको छ । नियमावलीअनुसार बैठकमा मतविभाजनबाट अध्यक्ष चुनिनेछ । 

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा माओवादी १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन, लोसपा एक, राष्ट्रिय जनमोर्चा एक, स्वतन्त्र एक सदस्य छन् । एकजना राष्ट्रपतिबाट मनोनीत हुन बाँकी छ । पाँचदलीय गठबन्धनतर्फ माओवादी १८, एमाले १०, एकीकृत समाजवादी आठ, जसपा तीन गरी ३९ सदस्य छन् । विपक्षी गठबन्धनतर्फ कांग्रेस १६, लोसपा र जनमोर्चा एक–एक गरी १८ सदस्य खुलेका छन् ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, प्रधानमन्त्रीको विश्वासको मत र प्रदेश प्रमुख र सरकारका बारेमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सोमबार दुई नेताबीच छलफल भएको हो । 

यस्तै, एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिन लिखित सहमति हुनुपर्ने सर्त अघि सारेको छ । केन्द्रदेखि प्रदेशसम्म शक्ति बाँडफाँटलगायतका समग्र विषयमा लिखित सहमति हुनुपर्ने उसको माग छ । सिंहदरबारमा सोमबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक मेटमणि चौधरीले भने, ‘प्रधानमन्त्री, मुख्यमन्त्री, मन्त्रीदेखि राजनीतिक नियुक्तिसम्मका सरोकारमा लिखित सहमति हुनुपर्छ । हाम्रो माग सुनुवाइ नहुने अवस्थामा भोट हाल्दिनुपर्ने जरुरी छैन ।’

 राप्रपा सरकारमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने 
राप्रपाले वर्तमान सत्तागठबन्धनमा सहभागी नहुने, संसद्मा सरकारको विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको छ । शनिबारदेखि सोमबारसम्म बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, तर समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने भएको छ । 

 विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबार ३० फागुनमा प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरिएको छ,’ ह्विपमा भनिएको छ ।

ad
ad