१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०८० फाल्गुण २७ आइतबार १७:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कृष्णपुरमा छाडा पशुचौपाया व्यवस्थापनका लागि महायज्ञ सुरु

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० फाल्गुण २७ आइतबार १७:१६:००

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा छाडा पशुचौपाया व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ सुरु गरिएको छ। कृष्णपुर– ४ बिन्द्रावनमा आइतबारदेखि राजमार्ग तथा समुदायमा छाडिएका पशुचौपाया व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको हो।

ग्वाँसी समैजी गौशाला व्यवस्थापन समिति र कृष्णपुर नगरपालिका वडा नं ४ को आयोजनामा महायज्ञ सञ्चालन भएको हो। महायज्ञ उद्घाटनको दिन ११ सय कलशसहित यात्रा निकालिएको थियो।

महायज्ञको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले सामुदायस्तरमा उत्पन्न भएको पशुचौपायाको समस्या समाधानका लागि गरिएको पहल सराहनीय भएको बताए। ग्वाँसी समैजी गौशाला व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर खड्काले छाडिएका पशुचौपायाको व्यवस्थापन गर्दै त्यसबाट बहुमुखी लाभ लिने उद्देश्यका साथ महायज्ञ सञ्चालन गरिएको बताए।

कृष्णपुर नगरपालिका– ४ का वडाध्यक्ष धर्मबहादुर सिंहले छाडिएका पशुचौपायाको दीर्घकालीन व्यवस्थापनका लागि महायज्ञमार्फत सन्देश दिन अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार अहिले करिब सात सय पशुचौपाया व्यवस्थापनको काम भइरहेको छ।

कृष्णपुर नगरका प्रमुख हेमराज ओझाले नगरपालिकाबाट उत्तरी क्षेत्र १ र ४ मा ठूलो परिमाणमा पशुचौपाया व्यवस्थापन कार्यक्रम अघि बढाउन खोजिएको बताए। मेयर ओझाले महायज्ञमार्फत नागरिकलाई गाईप्रतिको महिमा बढाउनेदेखि छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न प्रोत्साहन गर्न खोजिएको बताए।