१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्यवस्थापनका नाममा पशुचौपायामाथि क्रूर व्यवहार गरेको भन्दै सिद्धार्थनगरको आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:३१:oo

सिद्धार्थनगर नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका नाममा पशुमाथि क्रूर व्यवहार गरेको भन्दै आलोचना भएको छ। बुधबार राति नगरपालिकाले व्यवस्थापनको नाममा छाडा पशुचौपायालाई ट्रकमा बाँधेर लतार्दै लगेको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै नगरपालिकाको उक्त कार्यको चौतर्फी आलोचना भइरहेको छ।

सामाजिक सञ्जालमा भेटिएको फोटो र भिडियोमा ‘नगर प्रहरी’ लेखिएको ट्रकको पछाडि साँढे पल्टिएको देखिन्छ। नगरपालिकाले छाडा चौपायालाई त्यसरी घिसारेर क्रूर व्यवहार गरेको भन्दै नगरपालिकाविरुद्ध नगरवासीले आक्रोश पोखेका छन्।

राप्रपा प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले विज्ञप्ति जारी गर्दै नगरपालिकाले गरेको कार्यप्रति ध्यानाकर्षण भएको जनाएका छन्। सामाजिक र धार्मिक आस्थामाथि खेलवाड नगर्नसमेत उनले चेतावनी दिएका छन्।

तर, नगरपालिकाकी उपमेयर उमा अधिकारी भने नियन्त्रणमा लिएको साँढेलाई व्यवस्थापन गर्ने क्रममा लिइएको फोटो र भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको बताउँछिन्। पशुचौपायामाथि कुनै क्रूर व्यवहार नगरेको भन्दै उनले भनिन्, ‘साँढेलाई बाँधेको डोरी गाडीमा बाँधेर साँढेको गतिमा गाडी हिँडाएर लैजाने काम भएको हो। तर, गाडी रोक्दा साँढे उठ्ने र हिँडाउनेबित्तिकै बस्ने गरेको थियो। त्यही क्रममा लिइएको फोटो र भिडियो अहिले भाइरल भएको हो।’

साँढे अहिले पनि नगरपालिकाकै नियन्त्रणमा रहेको उल्लेख गर्दै उनले त्यसको शरीरमा कतै चोटपटक देखाउन चुनौती दिइन्। उनले भनिन्, ‘साँढे अहिले पनि नगपालिकाकै नियन्त्रणमा छ। जो–कोहीले पनि आएर हेर्न सक्नुहुनेछ। साँढेको शरीरमा कहीँ कतै चोटपटक भए नगरपालिका जिम्मेवार हुन्छ।’

ad
ad