१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ जेठ २ बुधबार ११:४२:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेदकोटमा छाडा पशु चौपाया खाल्टोमा गाडिएको प्रकरण छानबिन गर्न समिति गठन

व्यवस्थापनका नाममा ६ वर्षमा एक करोड २१ लाख खर्च, समस्या उस्तै

Read Time : > 2 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४२:oo

कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा पशु चौपाया मृत्यु प्रकरणबारे छानबिन समिति गठन गरेको छ। नगरपालिका कार्यालयमा छाडा पशु चौपाया हुलेर आन्दोलन चर्किनु तथा चुरेमा चार र फेदमा आठ पशु चौपाया गाडिएको अवस्थामा भेटिएपछि बुधबार नगर प्रमुख भोजराज बोहराको अध्यक्षतामा बसेको बैठकले छानबिन समिति गठन गरेको हो। छाडा पशु चौपाया मृत भेटिएको र उत्पन्न विवादबारे समस्या समाधानका लागि छानबिन समिति गठन गरिएको हो ।

बेदकोट नगरपालिका– २ का वडाध्यक्ष नरेशबहादुर सिंहले सामुदायिक पशु चौपाया व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न छानबिन तथा अध्ययन समिति गठन गरिएको बताए। वडाध्यक्ष सिंहका अनुसार पशु सेवा शाखा प्रमुख तर्कराज भट्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। उक्त छानबिन समितिमा विभिन्न नाै राजनीतिक दल,  स्थानीय प्रहरी, पत्रकार महासंघलाई राखिएको छ। समितिलाई अध्ययन गरेर सात दिनभित्र नगरपालिकालाई प्रतिवेदन बुझाउने समय दिइएको छ।

छानबिन समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, राप्रपा, नेकपा बहुमतलाई राखिएको छ। तर, नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरू छानबिन समितिमा नबस्ने घोषणा गरेका छन्। नेकपा बहुमत कञ्चनपुरका युवा नेता दीपेन्द्रसिंह ऐरीले छानबिन समितिमा स्थानीय किसानको समेत सहभागिता हुनुपर्ने र गौहत्या गर्नेमाथि कारबाही नहुने भएपछि छानबिन समितिमा चार राजनीतिक दल नबसेको बताए।

बेदकोट नगरमा दिगो रपमा पशु चौपाया व्यवस्थापनका लागि कृषि शाखा प्रमुख देवराज बडूको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति बनाइएको छ। उक्त समितिले समेत छाडा पशु चौपायाको दिगो व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे १५ दिनभित्रै प्रतिवेदन बुझाउनेछ। बेदकोट नगरपालिकाले ६ वर्षको अवधिमा एक करोड २१ लाखभन्दा बढी रकम छाडा पशु चौपाया व्यवस्थापनमा खर्चिँदासमेत समस्या समाधान भएको पाइँदैन।

आर्थिक वर्ष ०७४/७५ देखि चालू आर्थिक वर्ष ०७९/८० मंसिर तेस्रो सातासम्ममा नगरपालिकाले विनियोजन गरेको दुई करोड ४३ लाख ४७ हजार पाँच सय पाँच रुपैयाँमध्ये एक करोड २१ लाख एक हजार ६४ रुपैयाँ खर्च गरेको छ। आ.व ०७४/७५ मा ३६ लाख २४ हजार तीन सय ३१ रुपैयाँ, ०७५/७६ मा सात लाख ४५ हजार नाै सय ९३ रुपैयाँ, ०७६/७७ मा २३ लाख ५३ हजार सात सय ६९ रुपैयाँ, ०७७/७८ मा २१ लाख १९ हजार तीन सय २५ रुपैयाँ, ०७८/७९ मा २६ लाख ७९ हजार एक सय ४६ रुपैयाँ र चालू आवको मंसिर तेस्रो सातासम्ममा पाँच लाख ६८ हजार पाँच सय रुपैयाँ खर्चिएको छ।

नगरपालिकाको झन्डै नाै किलोमिटर पूर्व–पश्चिम महेन्द्र राजमार्ग र गाउँघरमा समस्या उस्तै रहेको छ। स्थानीय किसान चन्द्र कलौनीले नगरपालिकाले ६ वर्षको अवधिमा करोडौँ रकम खर्चिँदासमेत समस्या उस्तै रहेको बताए। ‘नगरपालिकाले एकातिर करोडौँ रकम खर्चिएको छ,’ उनले भने, ‘राजमार्ग र किसानका खेतबारीमा अझै पनि समस्या उस्तै छ। यत्रो रकम कहाँ गयो ?’

बेदकोट नगरका प्रमुख भोजराज बोहराले नगरपालिकाले विगतदेखि नै निरन्तर छाडा पशु चौपाया व्यवस्थापन गरिरहेको बताए। ‘विगतदेखि नै बेदकोट नगरपालिकाले सामुदायिक पशुचौपाया व्यवस्थापन गरिरहेको छ,’ उनले भने, ‘अहिले पनि बेदकोट नगरपालिका– ६ चुनेपानीमा व्यवस्थापन भइरहेकै छ।’ चुनेपानीमा समस्या समाधान नभएपछि उपप्रमुख तुलसी जोशीको संयोजकत्वमा बेदकोट–४ बैतडामा बालज्योति माविको १२ बिघा जमिन लिजमा लिएर दिगो व्यवस्थापन र निकट भविष्यमा मल खारखाना बहुमुखी उपयोगसहित व्यवस्थापनमा जुटेको मेयर बोहराले बताए।

मेयर बोहराले चन्दादेखि अनेकन प्रस्ताव ल्याएर नगरपालिकामा माग्न आउने व्यक्ति र समूहबाट छाडा पशुचौपाया व्यवस्थापनमा कठिनाइ रहेको बताए। उनले यो साझा समस्या भएकाले अन्य पालिकासहित आमसरोकारवाला निकायले आन्दोलन, चन्दा माग, प्रपोजल लक्ष्य नभई सामूहिक रूपमा आ–आफ्नो क्षेत्रबाट सहयोगको अपिल गरेका छन्। 

छाडा पशुचौपाया व्यवस्थापनका लागि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले ०७७ माघमा बेदकोटसहित भीमदत्त, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकाको नाममा परमादेश जारी गरेको थियो। तैपनि बेदकोटसहित अन्य पालिकामा समेत समस्या उस्तै रहेको छ।

ad
ad