१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
चिरञ्जीवी घिमिरे झापा गोल्डकप
२०८० फाल्गुण २६ शनिबार ०८:५३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : चारपटकको विजेता आर्मीलाई स्तब्ध पार्दै एपिएफ फाइनलमा

Read Time : > 1 मिनेट
चिरञ्जीवी घिमिरे, झापा गोल्डकप
२०८० फाल्गुण २६ शनिबार ०८:५३:००

एपिएफ फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार चारपटकको विजेता अर्काे विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो । आत्मघाती गोलमा एपिएफले आर्मीलाई स्तब्ध पारेको हो । एपिएफले पहिलोपटक झापा गोल्डकपको फाइनलमा स्थान बनाएको हो । ‘यसपालि भाग्यमानी रहेजस्तो लाग्छ । हामी दुई फाइनलमा पुगिसकेका छौँ । खेलाडीले राम्रो प्रदर्शन गरे,’ एपिएफका प्रशिक्षक सुमन श्रेष्ठले भने, ‘विदेशी र नेपाली खेलाडीबीच राम्रो तालमेल भयो ।’ 

आर्मीका प्रशिक्षक मेघराज केसीले फाइनल थर्डमा चुकेको बताए । ‘मिडफिल्डमा राम्रो प्रदर्शन भएको हो । तर, 
अट्याकमा चुक्न पुग्यौँ,’ आर्मीका प्रशिक्षक केसीले भने, ‘केही खेलाडी घाइते हुँदा समस्या पनि भयो ।’ घाइते भएपछि दोस्रो सेमिफाइनलमा मिडफिल्डर दिनेश हेम्जन र स्ट्राइकर जिलस्पीजंग कार्की झापा गोल्डकपमा सहभागी नै भएनन् । उपाधिका लागि एपिएफले मंगलबार चर्च ब्वाइज युनाइटेड र आयोजक झापा एघारबीचको विजेतासँग खेल्नेछ । 

आत्मघाती गोल नै निर्णायक
खेलको ७०औँ मिनेटमा भएको आत्मघाती गोल नै निर्णायक बनेपछि एपिएफले पहिलोपटक फाइनलमा स्थान बनाएको हो । एपिएफका विदेशी खेलाडी फोडे फोफोनाको हेडर आर्मीका रक्षक कमल थापाको जिउमा लागेर गोल भएको थियो । यो गोल नै निर्णायक बन्यो । राष्ट्रिय टोलीबाट खेलिसकेका कप्तान भरत खवास र नवयुग श्रेष्ठले बारम्बार एपिएफविरुद्ध आक्रमण गरे पनि गोलरक्षक एन्जल श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेका थिए । पहिलो हाफमा दुवै टोलीले औसत प्रदर्शन गरे । केही समय आक्रामक बन्दा रक्षात्मक खेल पनि खेलेका हुन् । 

२८ फागुनसम्म चल्ने झापा गोल्डकपमा ‘ए’ डिभिजन क्लबसहित १० टोली सहभागी भएका छन् । विजेता टिमले १३ लाख र उपविजेताले सात लाख रुपैयाँ पाउने अध्यक्ष बस्नेतले जानकारी दिए । प्रतियोगिताका मस्ट भ्यालुएबल प्लेयरलाई एकथान मोटरसाइकल प्रदान गरिनेछ । उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र उच्च गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

तालमेल राम्रो रह्यो
सुमन श्रेष्ठ, प्रशिक्षक, एपिएफ

विदेशी खेलाडीलाई झापाको मौसममा खेल्न सहज भयो । त्यसैले जित निकाल्न सफल भएका हौँ । तालमेल मिल्दै गएकाले फाइनलमा योभन्दा सुधारिएको प्रदर्शन गर्नेछौँ । विदेशी खेलाडीले सानदार प्रदर्शन गरेका छन् ।

 मिडफिल्डर चलेनन्
मेघराज केसी, प्रशिक्षक, आर्मी 

मिडफिल्ड चल्न नसक्दा स्कोर ननिस्केको हो । हामीले केही अवसर पनि बनायौँ । तर, खेलाडीले त्यसलाई सफल बनाउन सकेनन् । डिफेन्डर र फरवार्डको प्रदर्शन सन्तोषजनक रह्यो । केही खेलाडी घाइते हुँदा समस्या पनि भयो ।