१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o७:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

झापा गोल्डकप : आयोजक झापा सेमिफाइनलमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:१o:oo

आयोजक झापा–११ एफसी छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार झापा–११ ले एन्फा मकवानपुरलाई ५–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, आशिष चापागाईं, विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसन, प्रदीप बुढाथोकी, बबिन बोहराले समान एक–एक गोल गरे । मकवानपुरका लागि ओस्कारले एक गोल फर्काए ।

जितपछि झापाका प्रशिक्षक अन्गुर कुमार खड्गीले तालमेल अभाव सेमिफाइनलमा सुधार्ने बताए । ‘हामीले सानो गल्तीमा गोल खाएका हौं । तालमेल पनि भएन । सेमिफाइनलमा चर्च ब्वाइजविरुद्ध राम्रो खेल्नेछौँ,’ प्रशिक्षक अन्गुरले भने, ‘हामीलाई घरेलु समर्थकको पनि फाइदा हुनेछ । अन्तिम चारमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छौँ । यसपटक पनि उपाधि जित्ने लक्ष्य राखेका छौँ ।’ मकवानपुरका प्रशिक्षक अशोक बरालले तयारी राम्रो नभएको बताए । ‘हामीले योजनाअनुसार खेल्न पनि सकेनौँ । सेट खेलाडीबीच समस्या भयो । अधिकांश खेलाडी खेल्न आउन पाएनन्,’ पूर्वगोलरक्षकसमेत रहेका बरालले भने, ‘यो नतिजा निस्कन्छ भनेर अनुमान गरेका थिएनौँ ।’ 

झापाको जितसँगै सेमिफाइनल समीकरण पूरा भयो । पहिलो सेमिफाइनलमा आर्मी र एपिएफबीच शुक्रबार खेल हुनेछ । दोस्रो सेमिफाइनलमा झापाले चर्च ब्वाइजको सामना शनिबार गर्नेछ । आर्मीले चारपटक उपाधि जितिसकेको छ । मनाङ मस्र्याङ्दी क्लबले एकपटकको विजेता हो ।

मध्यान्तरपछि आक्रामक झापा 
झापाले पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप चार गोल गर्‍यो । खेलको २५औँ मिनेटमा आदित्यले आशिष चापागाईंको थ्रो बलमा १–० को अग्रता दिलाए । खेलको ६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले दीपेश आले मगरले मध्यभागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै २–० का लागि सुन्दर गोल गरे । मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । समिराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गरेका हुन् । खेलको ८३औँ मिनेटमा प्रदीप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । खेलको अन्तिम इन्जुरी समयमा झापाले दुई गोल थप्यो । बबिन बोहराले चौथो र आशिषले थप एक गोल गरे । 

यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुबै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो । खेलको १८औँ मिनेटमा झापाका ह्यारिसनले खाली पोस्टमा प्रहार गरेको बललाई कप्तान सुरज विष्टले गोल लाइनबाट क्लियर गरे । खेलको ४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलरक्षक गोपीले पन्च गरेका हुन् । खेलको ७३औँ मिनेटमा आशिष चापागाईंले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो । 

सेमिफाइनलमा राम्रो प्रदर्शन गर्छाैं
अंगुरकुमार खड्गी, प्रशिक्षक, झापा

सानो गल्तीमै हामीले गोल खाएका हौँ । तालमेल पनि भएन र गल्ती पनि गर्‍यौँ । सेमिफाइनलमा चर्च ब्वाइजविरुद्ध राम्रो खेल्नेछौँ । हामीलाई घरेलु समर्थकको फाइदा हुनेछ । सेमिफाइनलमा सबै खेलाडीले राम्रो प्रदर्शन गर्नेमा विश्वास छ । सबैले हामीमाथि उपाधि आशा गरेका छन् ।  

हाम्रो तयारी नै राम्रो थिएन
अशोक खवास, प्रशिक्षक, मकवानपुर

सेट गरेर अभ्यास गरेका खेलाडी नै प्रतियोगितामा भएनन् । सबै खेलाडी आ–आफ्ना काममा फर्किएका थिए । विदेशी खेलाडी पनि राम्रा भएनन् । दोस्रो गोल गल्तीमा भएपछि दबाबमा आयौँ । गोलरक्षकबाट पनि राम्रो प्रदर्शन भएन । यस्तो नतिजा आउँछ भनेर सोचेका थिएनौँ ।

ad
ad